अन्तरक्षेत्रीय उडानलाई यात्रु अभाव

अन्तरक्षेत्रीय उडानलाई यात्रु अभाव

अच्युत पुरी/नयाँ पत्रिका 
काठमाडौं, ६ कात्तिक
यात्रु नपाएपछि नेपालका विभिन्न क्षेत्रीय विमानस्थलबाट अन्तरक्षेत्रीय उडान प्रारम्भ गर्ने सरकारको योजना असफल भएको छ । खासगरी भैरहवा–पोखरा रुटमा क्षेत्रीय उडान गर्न वायुसेवा कम्पनी तयार भए पनि यात्रु नपाएपछि उडान सुरु हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काल सुधारको कार्ययोजना–२०७२ मा नेपालका क्षेत्रीय विमानस्थलहरूबाट अन्तरक्षेत्रीय उडान सुरु गर्ने योजना समेटेको थियो । मन्त्रालयको योजनाअनुसार असार मसान्तभित्र नेपालमा अन्तरक्षेत्रीय हवाई सेवा सञ्चालन भइसकेको हुनुपर्ने थियो ।
uadan
यात्रु पाए चार्टर्ड उडान
नेपालको आन्तरिकतर्फ ट्रंक रुटका विमानस्थल अन्तरक्षेत्रीय उडानका लागि योग्य छन् । तर, राजधानीकेन्द्रित अर्थतन्त्रका कारण क्षेत्रीय सहरहरू हवाई सम्बन्धमार्फत जोडिन सकेका छैनन् । यती एयरलाइन्सका प्रबन्धक भीम राईका अनुसार भैरहवा, भरतपुरजस्ता पर्यटकको बढी चाप हुने सहरबाट पोखराका लागि फाट्टफुट्ट यात्रु पाइन्छन् । यी सहरबाट ठूलो संख्यामा पर्यटक तथा यात्रु पाएमा चार्टर्ड उडान भने हुने गरेको प्रबन्धक राईले जानकारी दिए । ‘स्वाभाविक रूपमा कम्पनीहरूले रित्तो जहाज उडाउँन चाहँदैनन्,’ उनले भने, ‘नियमित यात्रु पाउने हो भने क्षेत्रीय गन्तव्यमा उडान गर्न कुनै समस्या छैन ।’
पर्यटक बढ्दा उडान माग
वायुसेवा कम्पनीहरूका अनुसार पर्यटकको चाप हुने समयमा चितवन र भैरहवाबाट पोखराका लागि उडानको माग हुने गरेको छ । व्यवसायीले माग गरेपछि सिम्रिक एयरले भैरहवा–पोखरा रुटमा दुईपटक उडान गरिसकेको सिम्रिकका बजार प्रमुख प्रज्ज्वल थापाले जानकारी दिए । ‘मागअनुसार उडान थाले पनि त्यसलाई नियमित गर्न सकिएन,’ थापाले भने, ‘क्षेत्रीय रुटहरूमा नियमित गर्न नसक्नुमा यात्रुको अभाव नै प्रमुख कारण हो ।’
कम्पनीहरू उत्साहित भएनन् : मन्त्रालय
नेपालका आन्तरिक विमानस्थलबाट अन्तरक्षेत्रीय उडान प्रारम्भ गर्ने सम्बन्धमा मन्त्रालयबाट कुनै प्रक्रिया अगाडि बढेको छैन । क्षेत्रीय विमानस्थलबाट आन्तरिक उडान गर्न कम्पनीहरू नै उत्साहित नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूको प्रतिक्रिया छ । ‘नाफा नहुने स्थानमा स्वाभाविक रूपमा कम्पनीले जहाज उडाउँदैनन्,’  मन्त्रालयका एक अधिकारीले भने, ‘उनीहरूले नै चासो नदेखाएपछि मन्त्रालय या नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत यस सम्बन्धमा कुनै निर्णय भएको छैन ।
त्रिभुवन विमानस्थलको चाप कम गर्न सहयोगी
सरकारले केही समयअगाडि आन्तरिक वायुसेवा कम्पनीलाई उपत्यकाबाहिरका विमानस्थललाई आधार मानी उडान प्रारम्भ गर्न अनुरोध गरेको थियो । तर, वायुसेवा कम्पनी त्यसतर्फ उत्साहित भएनन् । त्यसपछि अर्को कार्यक्रममार्फत सरकारले अन्तरक्षेत्रीय उडानको अवधारणा ल्याएको हो । यी अवधारणा कार्यान्वयनमा आउने हो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने यात्रु तथा उडान–अवतरणको चापमा थोरै भएपनि कमी आउने अपेक्षा सरकारको छ । अन्तरक्षेत्रीय उडान नहुँदा अहिले बुटवलबाट पोखराबाट जहाजमा जाने योजना बनाएको यात्रु काठमाडौं आएर मात्र जान सक्ने अवस्था छ ।
- See more at: http://www.enayapatrika.com/2016/10/99057#sthash.03DNaEIU.dpuf

Comments