गौतम बुद्ध विमानस्थल निर्माणमा तीव्रता

गौतम बुद्ध विमानस्थल निर्माणमा तीव्रता

अच्युत पुरी/नयाँ पत्रिका 
काठमाडौं, १० कात्तिक
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाएको छ । वर्षा कम भएसँगै भौतिक संरचना निर्माणले गति लिएको आयोजनाले जानकारी दिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले सामान्यतया भदौको अन्त्यबाटै सकिनुपर्ने वर्षात् यस वर्ष लम्बिएकाले अपेक्षित काम हुन नसकेको बताए । ‘अहिले भने निर्माण कार्यमा तीव्रता दिइएको छ,’ उनले भने ।
४० प्रतिशत लक्ष्य पूरा गर्ने प्रतिबद्धता
१ माघ २०७१ बाट निर्माण प्रारम्भ भएको आयोजनाअन्तर्गत डिसेम्बर २०१६ सम्म ४० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना कार्यालयका अनुसार अहिलेसम्म २५ प्रतिशत काम सम्पन्न भइसकेको छ । ‘विभिन्न कारणले काममा केही ढिलाइ भएको छ,’ आयोजना प्रमुख शर्माले भने, ‘हामी ४० प्रतिशत नै नभए पनि त्यसको हाराहारी पुग्ने प्रतिबद्धतासहित काममा खटिएका छौँ । आयोजनाले ठेकेदार कम्पनीलाई अघिल्लो आर्थिक वर्ष ०७२÷७३ मा ४५ करोड रुपैया“ भुक्तानी गरेको थियो ।
ठेकेदार कम्पनीलाई झक्झक्याउँदै आयोजना
मुलुकमा निर्माणाधीन अन्य आयोजनाको तुलनामा गौतम बुद्ध विमानस्थल निर्माणको प्रगति सन्तोषजनक रहेको निष्कर्ष आयोजनाका अधिकारीको छ । सोही कारण समयमा लक्ष्य पूरा नहुने अवस्था नआओस् भन्दै चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टलाई नियमित सचेत गराइएको प्रमुख शर्माले जानकारी दिए । ‘गत वर्ष भूकम्प, नाकाबन्दी, इन्धन अभाव, स्थानीय कच्चा पदार्थको अभावका कारण काम प्रभावित भएपछि लक्ष्यभन्दा केही समय लम्बिन सक्छ,’ शर्माले भने, ‘तर, अब अधिकतम प्रयासमा काम सकाउनुपर्छ भन्ने मान्यतासहित ठेकेदारलाई सजग बनाइरहेका छौँ ।’
सल्टिदै छन् मुख्य समस्या
डिसेम्बर २०१७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका लागि ६ लाख घनमिटर गिटी–ढुंगा आवश्यक पर्छ । आयोजनाले केही समयअघि स्थानीयस्तरबाट उपलब्ध हुनुपर्ने नदीजन्य कच्चा पदार्थ (गिटी, रोडा, ढुंगा)को अभाव भोगिरहेको थियो । अहिले भने स्थानीय निकाय र आयोजनाबीचको समन्वयमा समस्या समाधान हुँदै गइरहेको प्रमुख शर्माले जानकारी दिए । आयोजनाले तिनाउ नदीको बेतियाघाट र पौनियाघाटबाट नदीजन्य सामग्री ल्याएर काम सुचारु गर्ने गरी जिल्ला विकास समिति र आयोजनाबीच सम्झौता भएको छ । आयोजनालाई विनाअवरोध अगाडि बढाउने लक्ष्यसहित अहिले हरेक साता सरोकारवालाबीच बैठक हुने गरेको छ ।
अगाडि बढ्यो डेडिकेटेड लाइन प्रक्रिया
नेपाल विद्युत् प्राधिकरणबाट विमानस्थलका लागि आवश्यक डेडिकेटेड लाइन जडानको प्रक्रिया अगाडि बढेको आयोजनाले जानकारी दिएको छ । विमानस्थल निर्माणको चरण र त्यसपछि सञ्चालनको अवस्थामा पनि नियमित विद्युत् आपूर्ति गर्न आयोजनाले निर्माण प्रारम्भ भएस“गै डेडिकेटेड लाइनको माग गर्दै आएको थियो ।
के–के भयो काम ?  
आयोजना प्रमुख शर्माका अनुसार अहिले विमानस्थलको धावनमार्गमा ‘प्रिसवबेस (माटोभन्दा माथिल्लो तह)’ बिच्छ्याउने काम प्रारम्भ भएको छ । वर्षात्भन्दा अगाडि सफ्टवेयर (माटो बिच्छ्याउने) काम सकिएको थियो । यस विमानस्थलमा ३ हजार मिटर लम्बाइ र ३ सय मिटर चौडाइको धावनमार्ग बन्दै छ । यसबाहेक प्रशासनिक भवन र अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको काम जारी रहेको बताइएको छ ।
यस विमानस्थल निर्माणको पहिलो चरणको जिम्मा चीनको नर्थवेस्ट कम्पनीले पाएको छ । कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँमा ठेक्का पाएको हो । ठेक्का सम्झौताअनुसार सन् २०१७ डिसेम्बर ३१ सम्म विमानस्थल निर्माण गरिसक्ने लक्ष्य छ । यस विमानस्थलका लागि दक्षिण एसिया पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी)ले ऋण सहयोग गरेको छ ।
- See more at: http://www.enayapatrika.com/2016/10/100125#sthash.W9bsLbBN.dpuf

Comments