हवाई दुर्घटना जाँच आयोगका सुझाब ७१ प्रतिशत कार्यान्वयन

हवाई दुर्घटना जाँच आयोगका सुझाब ७१ प्रतिशत कार्यान्वयन

अच्युत पुरी/नयाँ पत्रिका 
काठमाडौं, १३ कात्तिक
हवाई दुर्घटना जाँच आयोगले दिने सुझाबमध्ये हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा ७० दशमलव ८० प्रतिशत सुझाब कार्यान्वयन भएको प्रतिवेदन सार्वजनिक भएको छ । प्राधिकरणले शुक्रबार एभिएसन सेफ्टी रिपोर्ट सार्वजनिक गरेको छ।
उक्त रिपोर्टअनुसार दुर्घटना जाँच आयोगले दिएका सुझाबमध्ये प्राधिकरणले पूरा गर्नुपर्ने ७० प्रतिशत सुझाब कार्यान्वयनमा आइसकेको दाबी गरेको छ । बाँकी ३० प्रतिशतमध्ये पनि धेरैजसो सुझाब नियमित कार्यान्वयनको चरणमा रहेको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए । प्राधिकरणले सन् २००६ देखि १० वर्षसम्मका विविध तथ्य–तथ्यांकलाई समेटेर सेफ्टी रिपोर्ट सार्वजनिक गरेको छ ।
हरेक दुर्घटना र सुझाब एकै प्रकृतिका
प्राधिकरणका अनुसार पछिल्लो समय नेपालमा हुने दुर्घटनाको कारण छानबिन आयोगले दिन सुझाब एकै प्रकृतिका हुन्छन् । जसले गर्दा सुझाब कार्यान्वयनको दर बढेको प्राधिकरणको भनाइ छ । तर, हरेक दुर्घटनापछि गठन हुने जाँच आयोगका सुझाबमा भने नेपालमा सरोकारवालालाई दिने सुझाब कार्यान्वयनको स्तर कमजोर रहेको उल्लेख हुने गरेको छ ।
हवाई सुरक्षा योजना ल्याउने तयारी
प्राधिकरणले चालू आर्थिक वर्ष ०७३-७४ भित्र एभिएसन सेफ्टी प्लान (हवाई सुरक्षा योजना) ल्याउने तयारी गरेको छ । मुलुकको हवाई सुरक्षा अभिवृद्धि गर्ने विविध कार्यक्रमलाई यस योजनाले समेट्ने प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । प्राधिकरणले पछिल्लो समय नियमनसँगै पूर्वाधार निर्माण र विमानस्थलको स्तरोन्तिलाई पनि प्राथमिकता दिएको गौतमको भनाइ छ ।
वातावरण नबिगार्नुहोस् : व्यवसायी
निजी क्षेत्रका वायुसेवा सञ्चालकले नियमनको नाममा अधिक कडाइ गरेर व्यावसायिक वातावरण नबिगार्न आग्रह गरेका छन् । सिम्रिक एयरलाइन्सका अध्यक्ष रामेश्वर थापाले सेवा प्रदायक कम्पनीले सुरक्षाका विषयमा कुनै सम्झौता नगर्ने भन्दै नियामक निकायले व्यावसायिक वातावरण पनि बिगार्न नहुने उल्लेख गरे । नियामक निकायबाट पूर्वाधार विकासमा पर्याप्त ध्यान पु¥याउन नसकेको उनको
आरोप छ ।
सकारात्मक पक्षमा जोड दिऊँ : मन्त्री शाही
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति अध्यक्ष जीवनबहादुर शाहीले एभिएसनबाटै मुलुकको छवि स्थापित हुने भएकाले सकारात्मक पक्षमा जोड दिन सरोकारवालासँग आग्रह गरे । प्राधिकरणको इतिहासमा पहिलोपटक सेफ्टी रिपोर्ट सार्वजनिक भएको भन्दै उनले यस प्रकारका गतिविधिलाई निरन्तरता दिन आग्रह गरे ।
हवाई दुर्घटना जाँच आयोगका सुझाब कार्यान्वयनको अवस्था 
कार्यान्वयन    : ७०.८० प्रतिशत
कार्यान्वयन नभएको    : ७.६९ प्रतिशत
आंशिक कार्यान्वयन    : १.५३ प्रतिशत
कार्यान्वयन हुनै नसक्ने    : १९.९८ प्रतिशत
- See more at: http://www.enayapatrika.com/2016/10/100934#sthash.PqKpxCZS.dpuf

Comments