विश्वका घुम्नैपर्ने मुलुकमध्ये नेपाल पाँचौँमा

विश्वका घुम्नैपर्ने मुलुकमध्ये नेपाल पाँचौँमा

नयाँ पत्रिका
काठमाडौं, १० कात्तिक
विश्वचर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नैपर्ने उत्कृष्ट १० मुलुकको सूची सार्वजनिक गरेको छ । नेपाल पर्यटन बोर्डका अनुसार मंगलबार सार्वजनिक उक्त सूचीमा नेपाल पाँचौँ स्थानमा परेको छ । यस सूचीमा दक्षिण एसियाबाट नेपालले मात्र प्रतिनिधित्व गरेको छ । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षको अन्त्यतिर आगामी वर्षका लागि गन्तव्य बनाउन लायक मुलुक र स्थानहरूको सूची सार्वजनिक गर्दै आएको छ ।
nepal
कसरी छानिन्छन् सूची ?
सूची सार्वजनिक गर्दा एकपटक भ्रमण गरिसकेका पर्यटकको प्रतिक्रिया, अधिक पर्यटकले भ्रमण गर्न देखाउने चासो तथा जिज्ञासा र विभिन्न तथ्य–तथ्यांकलाई आधार मान्ने गरेको बताइन्छ । यसबाहेक कम्पनीका स्टाफहरूले विश्वका हरेक गन्तव्यका सम्बन्धमा संकलन गर्ने तथ्यलाई पनि छनोटको आधार मान्ने गरेको छ । भौगौलिक अवस्थिति, अलौकिक अनुभूति र घुमघाम गरिसकेपछि पर्यटकबाट प्रशंसा आउनेखालका गन्तव्यका आधारमा उत्कृष्ट सूचीमा पर्ने स्थान र मुलुकको छनोट हुँदै आएको कम्पनीले उल्लेख गरेको छ ।
किन घुम्ने नेपाल ?
सन् २०१५ मा विनाशकारी भूकम्पले क्षति पु-याएको नेपालका धेरै भूभाग अझै पनि घुम्न लायक स्थान रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । एक यात्रुको दृष्टिबाट हेर्दा नेपालले के गुमायोभन्दा के बाँकी छ भन्ने हुनुपर्ने कम्पनीको भनाइ छ । नेपालमा सम्पदाहरू भत्किए पनि विश्वचर्चित पदमार्गहरू सुरक्षित रहेको लोन्ली प्लानेटलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । नेपाल पुनर्निर्माणको चरणमा रहेको उल्लेख गर्दै यस कम्पनीले नेपाल भ्रमण गरी राष्ट्र निर्माणमा योगदान गर्न विश्वभरका पर्यटकलाई प्रेरित गरेको छ ।
बोर्ड र लोन्ली प्लानेटबीच सम्झौताको तयारी
नेपाली पर्यटनको प्रवद्र्धनमा सहकार्य गर्ने गरी नेपाल पर्यटन बोर्ड र लोन्ली प्लानेटबीच सम्झौता गर्न दुई पक्ष सहमत भएका छन् । बोर्डका कार्यकारी प्रमुख (सिइओ) दीपकराज जोशी र लोन्ली प्लानेटको टोलीबीच सोमबार भारतको नयाँदिल्लीमा भएको बैठकले उक्त सहमति गरेको बोर्डले उल्लेख गरेको छ । यी दुई पक्षबीच नेपाली पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने गरी निकट भविष्वमा सम्झौता हुने बताइएको छ । लोन्ली प्लानेटले विगत ४ दशकयता विभिन्न गन्तव्यको प्रवद्र्धनमा योगदान गर्दै आएको छ ।
- See more at: http://www.enayapatrika.com/2016/10/100043#sthash.mCdzFpfc.dpuf

Comments