सन्दर्भ : विश्व पर्यटन दिवस, गन्तव्य ब्रान्डिङमा कमजोर नेपाल

सन्दर्भ : विश्व पर्यटन दिवस, गन्तव्य ब्रान्डिङमा कमजोर नेपाल

काठमाडौं, १२ असोज
सरकारले मंगलबार ३७औँ विश्व पर्यटन दिवस अवसर पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडानमार्फत नेपाल प्रवेश गरेका पर्यटकलाई स्वागत गरेको छ । राजधानीमा पर्यटनस“ग सम्बन्धित संघसंस्थाले प्रभातफेरी कार्यक्रम पनि आयोजना गरे । भृकुटीमण्डपमा एक औपचारिक कार्यक्रम आयोजना भएसँगै दिवसलाई केन्द्रित गरी आयोजित मुख्य कार्यक्रम समापन भएको छ । दिवस मनाउने यो शैली पर्यटन मन्त्रालय र पर्यटनसँग सम्बन्धित संघसंस्थाले लामो समयदेखि अपनाउँदै आएका छन् ।
५० भन्दा बढी कार्यक्रम
दिवसलाई केन्द्रित गरी ३२ वटा संघसंस्थाले ५० भन्दा बढी कार्यक्रम आयोजना गरे पनि गन्तव्य प्रवद्र्धन हुने कार्यक्रमको संख्या भने अत्यन्त न्यून छ । दिवसलाई केन्द्रित गरी सेप्टेम्बर १५ देखि अक्टोबर १ सम्म विविध गतिविधि भइरहेका छन् । कार्यक्रमलाई नेपाल पर्यटन बोर्डबाट पनि लगानी भइरहेको छ ।
गन्तव्य ब्रान्डिङका दुई कार्यक्रम
दिवस अवसरमा आयोजित ५० भन्दा बढी कार्यक्रममध्ये गन्तव्य प्रवद्र्धनका केवल दुई कार्यक्रम मात्र समेटिएका छन् । यसमध्ये सोसाइटी ट्राभल एन्ड टुर अपरेटर्सले काठमाडौंदेखि रारासम्मको प्रवद्र्धनात्मक फामट्रिप आयोजना गरेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले काठमाडौं उपत्यकाभित्रका ऐतिहासिक सम्पदामा ‘हेरिटेज वाल्क’ कार्यक्रम आयोजना गरेको छ । रारामा पर्यटकीय प्याकेज पु-याउने र पर्यटक आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको सोट्टो नेपालका अध्यक्ष यम खड्काले बताए ।
दिवसको मुख्य कार्यक्रममा केही गाउँलाई ‘पर्यटकीय गाउँ घोषणा गरिए पनि ती गाउँ प्रवद्र्धनको योजना आयोजकसँग छैन । गाउँ पर्यटन प्रवद्र्धन मञ्चको सिफारिसमा हुम्लाको भादा गाउँ, तनहुँको दुम्जा–दराई गाउँ र गुराँसे गाउँलाई पर्यटकीय गाउँ घोषणा गरिएको छ ।
किन दिन सकिँदैन कार्यक्रममा नयाँपन ?
दिवस अवसरमा आयोजित कार्यक्रमको सूची मन्त्रालयले आइतबार मात्र सार्वजनिक गरेको थियो । सामान्यतया प्रवद्र्धनात्मक कार्यक्रम तथा छुट योजना ल्याउँदा व्यावसायिक संघसंस्थाले प्रचार–प्रसारमा पर्याप्त समय र रकम लगानी गर्छन् । तर, पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले आफू भर्खर मात्र मन्त्रालयमा आएकाले कार्यक्रममा नयाँपन दिन नसकेको र आगामी वर्षबाट कार्यक्रमको तरिका परिवर्तन गर्ने बताए । उनको यस्तो प्रतिक्रियाले कर्मचारीतन्त्रको परम्परागत कार्यशैलीप्रति संकेत गरेको छ ।
गन्तव्य ब्रान्डिङमा विश्व ट्रेन्ड के छ ?
विश्व पर्यटन संगठन–युएनडब्लुटिओका अनुसार चिनियाँ पर्यटकको बढ्दो संख्यालाई ध्यानमा राख्दै दक्षिणपूर्वी एसियाका धेरै मुलुकले गन्तव्य ब्रान्डिङको योजना बनाएका छन् । ती मुलुकले खासगरी प्रचार–प्रसारमा नआएका नयाँ गन्तव्यलाई प्रवद्र्धन गर्ने गरी कार्यक्रम बनाएका छन् । तर, नेपालसँग भने आफ्नै कार्यक्रम ‘घुमफिर वर्ष’लाई सहयोग गर्नेसमेत कार्यक्रम राखिएको छैन ।
- See more at: http://www.enayapatrika.com/2016/09/93702#sthash.UXV983N9.dpuf

Comments