आन्तरिक गन्तव्यमा बने घुमफिर प्याकेज

आन्तरिक गन्तव्यमा बने घुमफिर प्याकेज

अच्युत पुरी/नयाँ पत्रिका 
काठमाडौं, १४ कात्तिक
नेपाल पर्यटन बोर्डले घुमफिर वर्ष २०७३ मनाउने क्रममा प्याकेज सार्वजनिक गरेको छ । घुमफिर वर्ष मनाउन थालिएको ७ महिनापछि बोर्डले निजी क्षेत्रका संघसंस्थासँगको समन्वयमा प्याकेज बनाएको हो । यस्ता प्याकेज क्रमशः थप गर्दै जाने योजना रहेको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिए । पहिलो चरणमा बनेका प्याकेज २८ अक्टोबर (१२ कात्तिक)बाट लागू हुने प्याकेज १४ अप्रिल (१ वैशाख ०७४) सम्म लागू हुने सुवेदीको भनाइ छ ।
७ अञ्चलमा छुट्टाछुट्टै प्याकेज
बोर्डले तयार पारेको प्याकेजअन्तर्गत पहिलो चरणमा ७ अञ्चलका गन्तव्य समेटिएका छन् । यसमा पूर्वमेचीदेखि पश्चिममा कर्णाली अञ्चलसम्मका प्याकेज राखिएको छ । यी प्याकेजहरू नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा बनाएको सुवेदीले जानकारी दिएका छन् ।
७ महिनापछि बल्ल प्याकेज
सरकारले भूकम्पपछि खस्किएको पर्यटक आगमन बढाउने उद्देश्यले सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । त्यसअघि आन्तरिक पर्यटन प्रवद्र्धन र गन्तव्य विस्तार गर्ने उद्देश्यले ०७३ साललाई घुमफिर वर्षका रूपमा मनाउने निर्णय गरिएको छ । तर, यसका लागि प्याकेजहरू बनाएर सार्वजनिक गर्ने काम भने ७ महिनापछि मात्र सम्भव भएको छ । निजी क्षेत्रका पर्यटन व्यवसायी तथा होटेल सञ्चालकले घुमफिर वर्षका प्याकेज नआउँदा यो कार्यक्रम प्रभावकारी हुन नसकेको बताउँदै आएका छन् ।
आउँदै छन् थप प्याकेज
बोर्डका वरिष्ठ अधिकृत सुवेदीका अनुसार व्यवसायीहरूको सहकार्यमा थप प्याकेज बनिरहेका छन् । त्यसमा पदयात्रा, र्‍याफ्टिङ, होमस्टेलगायतका प्याकेज रहनेछन् । यसमा छोटो दूरीका प्याकेज बनाएर साप्ताहिक बिदालाई समेत घुमघामका रूपमा उपयोग गराउने योजनामा व्यवसायी छन् । प्याकेजसँगै बोर्डले गन्तव्य प्रवद्र्धन गर्न विविध गतिविधि गरिरहेको वरिष्ठ अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार एप, इन्फ्रोग्राफी, रेडियो सन्देश निर्माण गरी विभिन्न गन्तव्यको प्रचार–प्रसार गर्ने काम जारी छ । घुमफिरबाट फर्किएकाले सार्वजनिक गर्ने, फोटो राख्ने र उनीहरूको अनुभवलाई स्थान दिने गरी वेबसाइट बनिरहेको सुवेदीले जानकारी दिए ।
आन्तरिक पर्यटकको चाप
यस वर्ष नेपालका गन्तव्यमा आन्तरिक पर्यटकको चाप उल्लेख्य बढेको बोर्डको भनाइ छ । ‘मानिसमा घुम्नुपर्छ भन्ने चेतना विकास भएको छ,’ बोर्डका वरिष्ठ अधिकृत सुवेदी भन्छन्, ‘समूह बनाएर घुमफिरमा जानेहरूको संख्यामा चामत्कारिक वृद्धि भएको छ ।’ तयारीविना जाने समूहलाई कतिपय गन्तव्यमा खाने–बस्नेको समस्या हुने भए पनि पूर्ण तयारी, अग्रिम बुकिङ र गाइड लिएर जाने आन्तरिक पर्यटकले कुनै पनि गन्तव्यमा समस्या भोग्नुनपरेको उनले जानकारी दिए ।
- See more at: http://www.enayapatrika.com/2016/10/101194#sthash.O2UyqGJQ.dpuf

Comments