पर्यटन सद्भावना दूतसम्बन्धी मापदण्ड लागू गर्ने तयारी

पर्यटन सद्भावना दूतसम्बन्धी मापदण्ड लागू गर्ने तयारी

अच्युत पुरी/नयाँ पत्रिका 
काठमाडौं, २१ असोज
नेपाल पर्यटन बोर्डले विभिन्न मुलुकमा नियुक्त गर्दै आएको पर्यटन सद्भावना दूतका सम्बन्धमा विवाद उत्पन्न भएपछि मापदण्ड लागू गर्ने तयारी गरेको छ । बोर्ड व्यवस्थापनले मापदण्डको खाका तयार पारिरहेको र सञ्चालक समितिले पास गरेपछि कार्यान्वयनमा आउने बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले जानकारी दिए ।
बोर्डले विदेशमा असल छवि कायम गरेका गैरआवासीय नेपालीलाई पर्यटन सद्भावना दूतका रूपमा नियुक्त गर्दै आएको छ । तर, पछिल्लो समय सद्भावना दूतसम्बन्धी विवाद बढेपछि मापदण्ड लागू गर्ने तयारी भएको छ । गैरआवासीय नेपाली संघको शाखा विस्तार भएका सबै मुलुकमा सद्भावना दूत तोकेर नेपाल प्रवद्र्धन अभियानलाई तीव्र बनाउने बोर्डको योजना छ ।
विदेशमा बसेर स्वदेशको राजनीति नगरिदिनुहोस्
बोर्डका सिइओ जोशीले विदेशमा बसेर नेपालको राजनीति नगर्न गैरआवासीय नेपालीहरूलाई आग्रह गरे । ‘जुन मुलुकमा बस्नुहुन्छ, त्यही मुलुकका राजनीतिक दलका नाममा राजनीति गर्नुहोस्,’ बोर्ड र गैरआवासीय नेपाली संघको संयुक्त अभियान अतिथि देवो भवःको समीक्षा गर्न बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘जब एमाले, कांग्रेस या माओवादीका नाममा राजनीति गर्न थाल्नुहुन्छ, तब सद्भावना दूतका रूपमा नियुक्त हरेक व्यक्तिमाथि विवाद हुन थाल्छ ।’ नेपालमा भन्दा कडा राजनीति गैरआवासीय नेपालीहरूमा हुने गरेको अनुभव जोशीको छ ।

संस्थागत निर्णय हुनुपर्‍योः घले
बोर्डले विभिन्न मुलुकमा तोकेका पर्यटन सद्भावना दूतका सम्बन्धमा संघलाई आधिकारिक जानकारी नै नआएको भन्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले गुनासो पोखे । ‘जुनसुकै निर्णय गर्दा पनि संस्थागत सिफारिसका आधारमा हुने गरी सिस्टम बसाऔँ,’ उनले भने, ‘विदेशमा नियुक्त भएको पर्यटन दूतको नाम नेपाल पर्यटन बोर्डमा आएपछि मात्र थाहा पाउनु अस्वाभाविक हो ।’ पर्यटन आगमन वृद्धि हुनुमा गतिलो तथ्यांकले पनि ठूलो प्रभाव पार्ने भन्दै उनले हरेक वर्ष नेपाल आउने एनआरएनको समेत यकिन तथ्यांक राख्न नेपाल सरकारसँग आग्रह गरे ।

सन् २०१७ सम्म १६ लाख पर्यटक पुर्‍याउने लक्ष्य
गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा पर्यटन विभाग प्रमुख भवन भट्टले अतिथि देवो भवः अभियानले पर्यटन आगमनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको बताए । ‘यो अभियानले नेपालमा पर्यटकीय आतिथ्यको ब्रान्डिङ गर्नेछ,’ उनले भने, ‘एकजना एनआरएनले तीनजना आफ्ना साथीलाई नेपाल भ्रमणमा पठाउने हो भने सन् २०१७ सम्म १६ लाख पर्यटक पु¥याउन असम्भव छैन । बोर्डका सिइओ जोशीले नेपाल गरिब छ भन्दै नकारात्मक छवि स्थापित नगर्न र सकारात्मक ब्रान्डिङ गर्न एनआरएन अभियन्तासमक्ष आग्रह गरे । अतिथि देवो भवः अभियानका संयोजक पुष्प अधिकारीले पूर्वाधार अभावले नेपालमा पर्यटन विकासमा बाधा पुर्‍याइरहेको उल्लेख गरे ।

हवाई सञ्जालको अभाव नै मुख्य समस्याः सचिव भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद भट्टराईले पर्यटक आगमन नबढ्नुमा कमजोर हवाई नेटवर्क प्रमुख कारण रहेको बताए । नेपालको राष्ट्रिय ध्वजावाहक वायुसेवाको सुदृढीकरणविना हवाई सञ्जाल बलियो हुन नसक्ने भन्दै उनले त्यसका लागि नेपाल वायुसेवा निगमको व्यवस्थापकीय सुधारमा जोड दिइएको उल्लेख गरे । संविधान कार्यान्वयनको चरणमा रहेको नेपाल विश्वका अन्य मुलुकको तुलनामा शान्तिपूर्ण रहेको भन्दै लगानी ल्याउन उनले गैरआवासीय नेपालीसँग आग्रह गरे ।
- See more at: http://www.enayapatrika.com/2016/10/95978#sthash.YodV7uXj.dpuf

Comments