हवाई यात्रामा ‘सामसुङ ग्यालेक्सी नोट–७’ प्रयोग निषेध

हवाई यात्रामा ‘सामसुङ ग्यालेक्सी नोट–७’ प्रयोग निषेध

नयाँ पत्रिका 
काठमाडौं, १४ असोज
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्राका क्रममा ‘सामसुङ ग्यालेक्सी नोट–७’ मोबाइल सेट प्रयोग गर्न तथा लगेजमा बोक्न प्रतिबन्ध लगाएको छ । सो फोन लगेजमा बोक्न नपाइने तथा हातमा बोक्दा पनि जहाजमा बोर्डिङ गर्नुअघि नै स्विच अफ गर्नुपर्ने, जहाजमा ब्याट्री चार्ज गर्न नपाइने निर्देशन प्राधिकरणले दिएको छ ।
प्राधिकरणको निर्णयसँगै वायुसेवा कम्पनीहरूले आफ्ना जहाजमार्फत यात्रा गर्दा उक्त मोबाइल सेट प्रयोग र बोक्न निषेध गरेका छन् । प्राधिकरणले यात्रु तथा समग्र हवाईलाई कारण देखाउँदै जहाजमा उक्त मोबाइल प्रयोग तथा बोक्न प्रतिबन्ध लगाएको हो । बिहीबारबाट आन्तरिक तथा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमा समेत ग्यालेक्सी नोट–७ प्रयोगमा प्रतिबन्ध लगाइएको छ । सो फोनको ब्याट्रीमा समस्या देखिएको भन्दै अमेरिका, भारतलगायत विश्वका धेरै देशले हवाई यात्रामा त्यसको प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन् ।
कम्पनीहरूले जारी गरे सूचना
प्राधिकरणको निर्णयसँगै वायुसेवा कम्पनीले जहाजमा उक्त मोबाइल सेट प्रयोगमा निषेध गरिएको सूचना जारी गरेका छन् । निजी लगानीका बुद्ध एयर, यती एयरलाइन्स, तारा एयरलगायतले आन्तरिक उडानमा मोबाइल प्रयोग प्रतिबन्धको सूचना जारी गरेका हुन् । नेपाल वायुसेवा निगमले पनि आफ्ना उडानमा यो मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । नेपालबाट हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा सामसुङ ग्यालेक्सी नोट–७ प्रयोग गर्न नपाइने निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।
किन गरिएको हो निषेध ?  
विश्वका अधिकांश मुलुकका वायुसेवा कम्पनीले सामसुङ ग्यालेक्सी नोट–७ मोबाइल निषेध गरिसकेका छन् । ब्याट्री पड्किने समस्या आएको यो मोबाइलमा खराबी रहेको कम्पनीले समेत स्वीकार गरेको छ । सामसुङले यो मोबाइल कमजोरी रहेको स्वीकार गर्दै बजारबाट फिर्ता लैजाने घोषणासमेत गरिसकेको छ ।
कुन–कुन अवस्थामा मोबाइल निषेध ?
कम्पनीहरूले उक्त सेट लगेजका माध्यमबाट जहाजभित्र लैजान प्रतिबन्ध लगाएका छन् । साथै जहाजमा बोर्डिङ गर्नुअघि नै स्विच अफ गर्नुपर्ने भएको छ । जहाजमा रहँदा मोबाइल अन गर्न, प्रयोग गर्न, फ्लाइट मोडमा राख्न र चार्जमा राख्नसमेत प्रतिबन्ध लगाइएको छ । चेक इन भइसकेको कुनै ब्यागमा पनि मोबाइल बोक्न पाइनेछैन ।
- See more at: http://www.enayapatrika.com/2016/09/94316#sthash.F6RMRxUW.dpuf

Comments