सडकमार्ग हुँदै काठमाडौंबाट बाहिरिने पर्यटकलाई सास्ती

सडकमार्ग हुँदै काठमाडौंबाट बाहिरिने पर्यटकलाई सास्ती

अच्युत पुरी/नयाँ पत्रिका 
काठमाडौं, १८ कात्तिक
अस्तव्यस्त यातायात व्यवस्थापन र खराब सडक संरचनाका कारण काठमाडौंबाट सडकमार्ग प्रयोग गरी बाहिरिने पर्यटकमा सास्ती बढेको छ । खासगरी उपत्यकाबाट यात्रा प्रारम्भ भएसँगै सुरु हुने ट्राफिक जाम र बिग्रे–भत्किएको सडकका कारण अधिकांश पर्यटकले यात्रा अवधिभर दिक्क मान्ने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
उपत्यका नकट्दै सुरु हुने ट्राफिक जाममा फसेका पर्यटकले सुविधाभन्दा बढी सजाय पाएको गुनासो गर्ने गरेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष मधुसूदन आचार्यले जानकारी दिए । काठमाडौंबाट मुख्य पर्यटकीय गन्तव्य पोखरा, चितवन र लुम्बिनीका लागि पर्यटक बस छुट्ने गर्छन् ।
३ घन्टाको दूरी पार गर्न ६ देखि १० घन्टा
अन्तर्राष्ट्रिय मापदण्डअनुसार सडकमार्ग प्रयोग गरी काठमाडौंबाट पोखरा (२ सय २० किलोमिटर दूरी) पुग्न ३ घन्टा समय लाग्छ । तर, नेपाली पर्यटन व्यवसायीहरूले प्याकेज बिक्री गर्ने क्रममा उक्त दूरीका लागि ६ देखि ७ घन्टासम्म लाग्ने उल्लेख गरेका हुन्छन् । तर, अहिले भने सामान्यतया काठमाडौंबाट पोखरा पुग्न अधिकतम १० घन्टाभन्दा बढी समय लाग्ने गरेको छ । ‘एकपटक उक्त रुटमा यात्रा गरेको पर्यटकले अर्कोपटक आफू त आउँदैनन्,’ नाट्टाका अध्यक्ष आचार्य भन्छन्, ‘आफूले चिनेका अरू साथीलाई पनि नआउने सल्लाह दिन्छन् ।’
नेपालीले बाटोभर जति सास्ती पाए पनि दोहो-याएर सोही बाटोमा यात्रा नगरी विकल्प छैन । तर, पर्यटकले भने तत्काल अन्य गन्तव्य रोज्ने भएकाले सडक यात्रा सहज बनाउन तत्काल पहल गर्नुपर्ने सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष यम खड्काको भनाइ छ । मुग्लिन–नारायणगढ सडकखण्ड अहिले विस्तारका क्रममा छ । उक्त सडकखण्ड भएर यात्रा गर्नुपर्ने पर्यटकले यात्राभर असुरक्षित महसुस गर्ने व्यवसायीहरूको अनुभव छ ।
राजमार्गमा आधारभूत पूर्वाधारको अभाव
सामान्यतया अन्तर्राष्ट्रिय पर्यटक बढी आवत–जावत गर्ने राजमार्गमा निश्चित दूरीपछि रिफ्रेसमेन्ट सेन्टरहरूको व्यवस्था हुनुपर्छ । सार्वजनिक शौचालय, पानी, बगैँचा, इन्टरनेटजस्ता सुविधा उपलब्ध यस्ता संरचनामा उक्त मुलुक र सो स्थानको पहिचान झल्कने वस्तुहरू अवलोकनका लागि राख्न सकिन्छ । तर, नेपालका राजमार्गमा भने निजी क्षेत्रले खोलेका रेस्टुराँ र होटेलबाहेक पर्यटकको सुविधाका लागि कुनै संरचना बनाइएको छैन ।
मन्त्रालयको योजना
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार पूर्व–पश्चिम राजमार्ग र मुख्य तीनवटा पर्यटनस्थल जान प्रयोग हुने राजमार्गमा यात्रु र पर्यटकलाई लक्षित गरी एकीकृत रूपमा शौचालय, पार्क, भोजनालय, विश्रामस्थल निर्माण सुरु गर्ने योजना बनाएको छ । तर, यससम्बन्धी काम भने अगाडि बढेको छैन ।
दैनिक २५ सय पर्यटक उपत्यकाबाट बाहिरिन्छन्
अनौपचारिक तथ्यांकअनुसार मुख्य पर्यटकीय सिजनमा दैनिक २ हजारदेखि २५ सय पर्यटक उपत्यकाबाट बाहिरिने गरेका छन् । जसमध्ये करिब ५० प्रतिशत पर्यटकले बस प्रयोग गर्ने नाट्टाका अध्यक्ष आचार्यले जानकारी दिए । बाँकी पर्यटक भने हवाई, कार, भ्यान तथा माइक्रोबस लगायतमार्फत बाहिरिन्छन् । अहिले काठमाडौंबाट २६ वटा बस पोखरा, चितवन र लुम्बिनीका लागि छुट्छन् ।

Comments