जापानी पर्यटकलाई नेपालमा थप सुविधा

नेपाल–जापान सम्बन्धको ६०औँ वर्षको अवसरमा विभिन्न छुट

नयाँ पत्रिका 
काठमाडौं, १९ असोज
नेपाल पर्यटन बोर्डले जापानी पर्यटकलाई लक्षित गर्दै नेपाल–जापान फ्रेन्डसिप अफर सार्वजनिक गरेको छ । पर्यटन प्रवद्र्धनका विविध गतिविधि गर्दै आएको बोर्डले दुई साताअघि जापानमा सम्पन्न जाटा टुरिजम एक्स्पोका अवसरमा बिक्री गरेको अफर सार्वजनिक गरेको हो ।
नेपाल र जापानबीच मैत्री सम्बन्ध कायम भएको ६० वर्ष पुगेको अवसर पारी बोर्डले जापानमा विशेष अफर बिक्री गरेको थियो । सोही योजनाबमोजिम जापानी नागरिकलाई लक्षित गरी अतिरिक्त सुविधा सार्वजनिक गरिएको बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले जानकारी दिए । ‘यसले जापानबाट बढीभन्दा बढी पर्यटक भित्राउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ,’ उनले भने ।
पर्यटकीय संघसंस्थाको छुट र अफर
नेपाल–जापान मैत्री सम्बन्ध कायम भएको ६० वर्षलाई खास सुविधा उपलब्ध गराएर जापानी पर्यटक आकर्षित गर्ने सम्बन्धमा के गर्न सकिन्छ भनी बोर्डले पर्यटनसँग सरोकार राख्ने संघसंस्थाबाट प्रस्ताव आह्वान गरिएको थियो । सोहीबमोजिम संघसंस्था र कम्पनीले जापानी पर्यटकलाई दिने छुट तथा सुविधा उपलब्ध गराई एक्स्पोबाट बिक्री गरेका थिए ।
पदयात्रामा ३४ प्रतिशतसम्म छुट   
नेपालका पदमार्गमा पदयात्राको प्रयोजनमा आउने जापानी पर्यटकले ३४ प्रतिशतसम्म छुट पाउनेछन् । यो छुट टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मातहतका कम्पनीबाट प्राप्त हुने बोर्डले उल्लेख गरेको छ । पर्यटकले अन्नपूर्ण आधार शिविर पदयात्रा, सगरमाथा आधार शिविर पदयात्रा, लामटाङ पदयात्रालगायतमा जाँदा यो छुट सुविधा पाउने बताइएको छ । होमस्टे एसोसिएसन अफ नेपालअन्तर्गत सदस्य होमस्टेमा पुग्ने जापानी पर्यटकले २० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसबाहेक स्थानीय होमस्टे व्यवसायीले चिनोस्वरूप उपहार दिनेछन् ।
दुईजनालाई नेपाल एयरलाइन्सको निःशुल्क टिकट
जापानी पर्यटकमध्ये दुईजनालाई नेपाल वायुसेवा निगमको निःशुल्क टिकट उपलब्ध हुनेछ । एक्स्पोका अवसरमा आयोजित लक्की ड्रबाट छानिएका दुई पर्यटकले नेपाल वायुसेवा निगममार्फत जुन अन्तर्राष्ट्रिय उडानबाट यात्रा गरे पनि निःशुल्क टिकट पाउने निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । बुद्ध एयरले पनि १० जना पर्यटकलाई माउन्टेन फ्लाइटको टिकट उपलब्ध गराउनेछ । ती पर्यटक पनि लक्की ड्रबाट छानिने बताइएको छ । जापानी पर्यटकलाई दिइएको अफर फेबु्रअरी २०१७ सम्म कायम रहने बोर्डले उल्लेख गरेको छ । नेपाल र जापानबीच सन् १९५६ मा मैत्री सम्बन्ध कायम भएको थियो ।
सकियो फोटो प्रदर्शनी
फोटोग्राफर मणि लामाले खिचेका तस्बिरको प्रदर्शनी सकिएको छ । नेपाल पर्यटन बोर्डमा १४ असोजबाट सुरु प्रदर्शनीको मंगलबार सकिएको हो । प्रदर्शनी फोटो जर्नालिस्ट क्लबको सहयोगमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको हो । बोर्डले प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबारबाट तीन दिन आयोजना गर्ने ‘ह्यास फोटो नेपाल’ प्रदर्शनी दसैँ बिदाका कारण यसपटक एक साताअघि सारिएको फोटो नेपालका संयोजक सुदन सुवेदीले जानकारी दिए ।
- See more at: http://www.enayapatrika.com/2016/10/95543#sthash.CluS5crw.dpuf

Comments