६० हजार नेपाली विदेश घुमघाममा

अच्युत पुरी/नयाँ पत्रिका 

काठमाडौं, २२ असोज 
दसैँ तिहारजस्ता चाडबाडको बिदा सदुपयोग गर्दै विदेशमा पर्यटक बनेर घुमघाम (आउटबाउन्ड टुर)मा निस्कने नेपालीको संख्या वार्षिक करिब ६० हजार पुग्ने पर्यटन व्यवसायीले जनाएका छन् । तर, यसको यकिन तथ्यांक भने छैन । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले पर्यटन व्यवसायीले ६० हजार नेपाली चाडपर्वमा घुम्न निस्कने अनुमान गरेको बताए ।
‘हाम्रो अनुमानमा वार्षिक करिब ६० हजार नेपाली केवल घुमघामकै उद्देश्यले विदेश जाने गरेका छन्,’ उनले भने, ‘तर, यसको यकिन तथ्यांक अद्यावधिक भएको छैन ।’ अन्य प्रयोजन (सभा, सम्मेलन, व्यापार, व्यवसाय र फामटुरलगायत)मा गएर घुमघाम गर्ने नेपालीको संख्या जोड्दा भने विदेशमा पर्यटक बनेर घुम्ने नेपालको संख्या निकै धेरै हुने अनुमान व्यवसायीको छ । खासगरी माइस टुरिजमका लागि गएर सोही मौकामा विदेशका विभिन्न गन्तव्यमा घुम्ने नेपालीको संख्या धेरै हुने गरेको छ ।
चाडबाडमा धेरै बाहिरिन्छन् 
पर्यटन व्यवसायीका अनुसार चाडबाडको मुख पारी धेरै नेपाली परिवारसहित घुमघाममा निस्कने गर्छन् । ‘आउटबाउन्डको मुख्य सिजन नै नेपालमा पर्ने चाडबाडको बिदा हो,’ सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष यम खड्काले भने, ‘आयस्रोत बढेपछि बिदाको समय विदेशमा बिताउने नेपालीको संख्या पनि बढ्दै छ ।’ आफन्त विदेशमा हुने परिवारले नेपालका आन्तरिक गन्तव्यभन्दा विदेशमै घुम्न रुचाउने गरेको व्यवसायीको भनाइ छ ।
बजेट एयरलाइन्सको प्रभाव आउटबाउन्डमा पनि
नेपालमा बजेट एयरलाइन्स (सस्तो भाडा)ले उडान सेवा प्रारम्भ गरेस“गै आउटबाउन्ड टुरिजममा जाने नेपालीको संख्या बढ्न थालेको हो । नेपालीलाई विभिन्न टुर कम्पनीले प्याकेजमा विदेश घुमाउने गरेका छन् । त्यसमध्ये सबैभन्दा धेरै खर्च हवाईभाडाबापत हुने गर्छ । नेपाल वायुसेवा निगमको उडान नभएका स्थानमा पनि अन्य विदेशी बजेट एयरलाइन्सले उडान थालेपछि विदेश भ्रमण नेपालीले पनि सजिलै अपनाउन सक्ने भएको हो । अहिले आउटबाउन्ड टुरिजमका छोटो प्याकेज ५० हजार रुपैयाँको हाराहारीमा बन्ने गरेका छन् । लामो समयको टुर प्याकेज भने २ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मका बन्ने गरेका छन् । नेपालीका लागि थाइल्यान्ड, मलेसिया, सिंगापुर, इन्डोनेसियालगायत मुलुकमा बढी प्याकेज बिक्री हुने गरेका छन् ।
नयाँ आन्तरिक गन्तव्य हेलामा 
विदेश भ्रमणको योजना नबनाएका नेपालीले आन्तरिकतर्फ पनि चर्चित गन्तव्य रोज्ने गर्छन् । त्यसमध्ये पोखरा, चितवन र अन्नपूर्ण आधारशिविर बिदा मनाउन जाने नेपाली पुग्ने प्रमुख तीन गन्तव्य हुन् । पछिल्लो समय व्यवसायीको पहलमा प्रचार–प्रसार गरिएका आन्तरिक पर्यटनका आकर्षक गन्तव्य रित्तै भए पनि नेपालीले विदेश या चर्चित गन्तव्य रोज्ने गरेको खड्काले बताए । ‘पहिला देश घुमाैँ, अनि मात्र विदेश भन्ने हाम्रो आग्रह हो,’ उनले भने, ‘देश सक्षम नभएसम्म नेपाली पु“जीको बहिर्गमनले अन्ततः मुलुकलाई फाइदा छैन ।’
- See more at: http://www.enayapatrika.com/2016/10/96177#sthash.3WTZXfUz.dpuf

Comments