नागरिक उड्डयन सुरक्षाको जिम्मेवारी ९ निकायलाई

नागरिक उड्डयन सुरक्षाको जिम्मेवारी ९ निकायलाई

अच्युत पुरी/नयाँ पत्रिका 
काठमाडौं, २२ कात्तिक  
राष्ट्रिय नागरिक उड्डयन सुरक्षा कार्यक्रमका लागि सरोकारवाला निकायको जिम्मेवारी तोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत कार्यान्वयनमा आएको नागरिक उड्डयन सुरक्षा नियमावली, २०७३ ले नागरिक उड्डयन सुरक्षा कायम गर्ने जिम्मेवार निकाय तोकेको छ । मन्त्रालयले गैरसैनिक  हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ बमोजिम नियमावली बनाएको हो । एक महिनाअगाडि मन्त्रिपरिषद्बाट पारित भएस“गै नियमावली कार्यान्वयनमा आएको छ ।
नेतृत्व महानिर्देशकमा
नियमावलीअनुसार विमानस्थल तथा जहाजको सम्पूर्ण सुरक्षासम्बन्धी जिम्मेवारी र नेतृत्व नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकमा रहनेछ । यसअघि नागरिक उड्डयन सुरक्षासम्बन्धी स्पष्ट व्याख्याको अभावमा विमानस्थल तथा जहाजको सुरक्षाको नेतृत्व कसले लिने भन्नेमा विवाद थियो । यसअघि कर्यान्वयनमा रहेको हवाई सुरक्षा (व्यवस्था) नियमावली, २०४६ ले यस सम्बन्धमा कुनै व्याख्या गरेको थिएन । नयाँ नियमावली जारी भएसँगै हवाई सुरक्षा (व्यवस्था) नियमावली, २०४६ खारेज भएको छ । नयाँ नियमावलीअनुसार प्राधिकरणका महानिर्देशकले नागरिक उड्डयन सुरक्षा अधिकारीका रूपमा काम गर्नेछन् ।

कसलाई के जिम्मेवारी ?
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र करिब तीन दर्जनभन्दा बढी निकाय तथा संयन्त्र क्रियाशील छन् । यी निकायबीच तालमेल मिल्न नसक्दा नागरिक उड्डयन सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको मन्त्रालयका अधिकारीहरूले नै स्वीकार गर्दै आएका छन् । सोही समस्या हल गर्ने उद्देश्यले नियमावलीले विमानस्थलभित्र क्रियाशील निकायको जिम्मेवारी तोकेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलभित्रका सबै सुरक्षा निकायबीच समन्वय गर्नेछ । निषेधित क्षेत्रको पास जारी गर्ने र फिर्ता लिने जिम्मेवारी पनि उसको हो । विमानस्थल सुरक्षाका लागि आवश्यक उपकरणको पहिचान, खरिद, जडान, सञ्चालन र मर्मतसमेत प्राधिकरणले गर्नुपर्नेछ ।

राष्ट्रिय अनुसन्धान विभाग, निगरानी शाखा
यस शाखाले विमानस्थलमा सुरक्षा संवेदनशील तथा निषेधित क्षेत्रमा हुन सक्ने शंकास्पद गतिविधिबारे निगरानी राख्नेछ । नागरिक उड्डयन सुरक्षामा प्रतिकूल असर पु¥याउन सक्ने गतिविधिसम्बन्धी जानकारी नागरिक उड्डयन कार्यालयलाई दिने जिम्मेवारी यसको हो ।

विमानस्थल सुरक्षा प्रहरी
निषेधित क्षेत्रमा पासबाहक बाहेक अन्य व्यक्तिको प्रवेश रोक्ने, व्यक्ति, सामान र सवारीसाधनको सुरक्षा जाँच लिने काम विमानस्थल प्रहरीले गर्नेछ । निषेधित सामान वायुयान तथा विमानस्थलको निषेधित क्षेत्रमा जान नदिने जिम्मेवारी पनि प्रहरीलाई तोकिएको छ । विमानस्थल क्षेत्रको सुरक्षा गस्ती, सुरक्षा स्कर्टिङ, सुरक्षा निगरानी गर्नुका साथै निषेधित सामान ओसार–पसार गर्ने व्यक्ति फेला परेमा नियन्त्रणमा लिई कारबाहीका लागि पठाउने जिम्मेवारी पनि प्रहरीले पाएको छ ।

नेपाली सेना
नागरिक उड्डयन सुरक्षाविरुद्ध खतरा वृद्धि भएमा खतराको प्रकृतिअनुसार अतिरिक्त सुरक्षाको व्यवस्था गर्ने जिम्मेवारी सेनालाई दिइएको छ । सुरक्षाको प्रतिकूल हुने गतिविधि र अनाधिकृत प्रवेशमा नियन्त्रण गर्ने, विमानस्थलभित्र चौबिसै घन्टा पालो पहराको व्यवस्था, सञ्चार तथा उड्डयन सहायक उपकरण, राडार, हवाई इन्धन डिपो, कन्ट्रोल टावरजस्ता संवेदनशील क्षेत्रको सुरक्षा सेनाले गर्नेछ । विस्फोटक वा शंकास्पद वस्तु निष्क्रिय गर्ने, हराएको वायुयान खोजी र उद्धारमा पनि सेना खटिनेछ । विमान अपहरणमा परेमा वायुयान र व्यक्तिको सुरक्षित रिहाइका लागि आवश्यक सुरक्षाको बन्दोबस्त सेनाले मिलाउनेछ ।

सशस्त्र प्रहरी बल
सशस्त्र प्रहरीले विमानस्थल सुरक्षा समिति तथा अन्य सुरक्षा निकायस“गको समन्वयमा काम गर्नेछ । खासगरी नेपाली सेनाको जिम्मेवारीलाई थप सहयोग आवश्यक परेमा सशस्त्र प्रहरीले सहयोग पु¥याउने नियमावलीले उल्लेख गरेको छ ।

विमानस्थल भन्सार कार्यालय
यात्रुको आवागमन तथा सामानको भण्डारण र भन्सार जाँचपासको क्रममा हवाई सुरक्षामा कुनै किसिमको प्रतिकूल प्रभाव पर्न सक्ने शंका लागेमा विमानस्थल प्रहरी तथा नागरिक उड्डयन कार्यालयलाई जानकारी गराउनुपर्ने जिम्मेवारी भन्सार कार्यालयलाई तोकिएको छ ।

विमानस्थल अध्यागमन कार्यालय
अध्यागमन प्रक्रियाका क्रममा हवाई सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने देखिएमा विमानस्थल प्रहरी र सम्बन्धित नागरिक उड्डयन कार्यालयलाई जानकारी गराउने जिम्मेवारी यस निकायको हुनेछ ।

वायुसेवा सञ्चालन संस्था
वायुयानको सुरक्षाका लागि वायुयानभित्र प्रवेश नियन्त्रण र अवैध हातहतियार, विस्फोटक वा अन्य निषेधित सामान नभएको सुनिश्चित गर्ने काम वायुसेवा कम्पनीको हुनेछ । सुरु उडान गर्ने वायुयान, ट्रान्जिट वायुयान र गन्तव्यमा पुगी फर्कने वायुयानका लागि छुट्टाछुट्टै सुरक्षा जाँच सूची (चेक लिस्ट) बनाएर निरीक्षण गर्ने र यात्रु तथा वायुयानमा लोड हुने सामानको सुरक्षा जाँच वा खानतलासी भए–नभएको निश्चित गर्ने जिम्मेवारी पनि वायुसेवा कम्पनीलाई तोकिएको छ ।

विमानस्थलभित्र सेवा प्रदान गर्ने संस्था
आफ्नो कार्यालय वा कार्यक्षेत्रमा अनाधिकृत प्रवेश रोक्ने र रोक्न नसक्ने अवस्थामा सुरक्षाकर्मीलाई जानकारी गराउने जिम्मेवारी यस्ता संस्थाको हुनेछ । विमानस्थल सुरक्षाको प्रतिकूल शंकास्पद गतिविधि देखिएमा सुरक्षाकर्मीलाई जानकारी गराउने र विमानस्थल सुरक्षा तथा विमानस्थल आपत्कालीन अवस्थामा सम्बन्धित नागरिक उड्डयन कार्यालयका प्रमुखले मागेको सहयोग उपलब्ध गराउनुपर्ने जिम्मेवारी यस्ता संस्थाको हुनेछ ।
- See more at: http://www.enayapatrika.com/2016/11/102733#sthash.BWXlpGVw.dpuf

Comments