नेपालको लापरबाहीले भारतसँग एयरस्पेस एग्रिमेन्टमा ढिलाइ

नेपालको लापरबाहीले भारतसँग एयरस्पेस एग्रिमेन्टमा ढिलाइ

अच्युत पुरी/नयाँ पत्रिका 
काठमाडौं, ३० कात्तिक
नेपालको हवाई उद्योगलाई नियमन गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूको लापरबाहीका कारण भारतसँग निर्धारित एयरस्पेस एग्रिमेन्ट (एएसए) सम्झौतासम्बन्धी द्विपक्षीय बैठक प्रभावित भएको छ । २० अक्टोबर (४ कात्तिक)मा नेपाल र भारतबीच एएसए सम्झौतासम्बन्धी बैठक तय भएको थियो । तर, नेपालले तयारी नपुगेको भन्दै बैठकको नयाँ समय दिएर मिति सार्न भारतलाई आग्रह गरेको छ ।
भारतले भने नेपालको दिएको समयमा आइकाओ एयर सर्भिसेज निगोसिएसन इभेन्ट (आइक्यान) २०१६ को तयारी गर्नुपर्ने भन्दै भाग लिन नसक्ने जानकारी गराएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । २० अक्टोबरमा तयारी नपुगेको भन्दै नेपालले नोभेम्बर तेस्रो साता बैठकको प्रस्ताव गरेको थियो । तर, उक्त समयमा आइक्यान सहभागिताको तयारी गर्नुपर्ने भन्दै भारतले परराष्ट्र मन्त्रालयमार्फत डिसेम्बर तेस्रो साता बैठक गर्ने प्रस्ताव गरेको पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपालका सरोकारवाला अधिकारीको बेवास्ताले वार्ता प्रभावित भएको स्रोतको भनाइ छ ।
किन पुगेन नेपालको तयारी ?
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ३९औँ महासभामा भाग लिन नेपालको हवाई उद्योगको नियमनकारी निकायका अधिकांश हाकिम क्यानडा गएका थिए । सम्मेलनमा भाग लिन ९ असोजमा क्यानडा गएको नेपाली टोली १३ दिनपछि २१ असोजमा नेपाल फर्किएको थियो । पर्यटनमन्त्री जीवनबहादुर शाही नेतृत्वको टोलीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र मन्त्रालयमातहतको हवाई उद्योग व्यवस्थापन विभाग र हवाई सुरक्षा विभागका नेतृत्वकर्ता सहसचिव सहभागी थिए । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक, नेपाल वायुसेवा निगमका महाप्रबन्धकसमेत टोलीमा थिए ।
टोली क्यानडाबाट फर्किएको भोलिपल्ट २२ असोजबाटै दसैँ बिदा (फूलपाती) सुरु भएको थियो । २९ असोजमा कोजाग्रत पूर्णिमापछि कार्यालय खुल्ने ४ दिनको अवधिमा बैठकका लागि तयारी गर्न नसकिने भन्दै नेपालले भारतलाई बैठक सार्न पत्र पठाएको स्रोतले बतायो । ‘दुई साता लामो विदेश भ्रमणमा रमाउने मन्त्रालयका जिम्मेवार अधिकारी आफ्नो दायित्वबारे गम्भीर छैनन्,’ स्रोतले भन्यो, ‘त्यसवेला हवाई क्षेत्रका जिम्मेवार सबै हाकिम विदेशमा जाँदा नेपालले एक महत्वपूर्ण अवसर गुमाएको छ ।’
किन आवश्यक छ एयरस्पेस ?
नेपाल  र भारतबीच एयरस्पेस एग्रिमेन्ट (एएसए) सम्झौता नभए नेपालमा निर्माणाधीन र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलहरूमा उडान–अवतरण हुन सक्दैन । नेपाल र भारतबीच विगत लामो समयदेखि हुने भनिएको सम्झौता अझै पनि हुन सकेको छैन । नेपाल र भारतबीच एयरस्पेस एग्रिमेन्ट नभए भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थलमा हुने प्रत्येक उडानको भारत सरकारबाट स्वीकृति लिनुपर्ने हुन्छ । नेपाल र भारतको सिमानानजिक रहेको विमानस्थलबाट प्रत्येक अन्तर्राष्ट्रिय उडानमा जहाजले सिमाना पार गर्नुपर्ने हुन्छ ।
एयरस्पेस एग्रिमेन्ट नेपाल प्रवेशका लागि अन्तर्राष्ट्रिय रुट विस्तार गर्न पनि आवश्यक छ । नेपालमा अहिले एक मात्र रुट (सिमरा)बाट जहाज प्रवेश गर्न सक्छन् । नेपाली पक्षले सिमरासहित थप तीन भैरहवा, जनकपुर र नेपालगन्ज प्रवेश रुट प्रदान गर्न भारतसँग आग्रह गरेको छ । यसबाट पोखरा तथा बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उडान–अवतरण पनि सहज हुनेछ ।
‘हामी डिसेम्बरको बैठकमा केन्द्रित छौँ’
अघिल्लो मितिमा निर्धारित बैठक विविध कारणले सार्नुपरेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । ‘यसमा आन्तरिक तथा बाह्य कारणले भूमिका खेलेको छ,’ उनले भने, ‘बैठक अगाडिको समयमा आइकाओको महासभा प-यो भने त्यसलगत्तै दसैँ बिदाका कारण काम गर्न पाइएन ।’ उनका अनुसार डिसेम्बरको बैठकका लागि नेपालले उठाउने एजेन्डाका लागि मन्त्रालयले छलफल प्रारम्भ गरेको छ । नेपालले तीनवटा प्रवेश बिन्दुको मागलाई मुख्य एजेन्डा बनाउन चाहेको सहसचिव लामिछानेले जानकारी दिए ।
- See more at: http://www.enayapatrika.com/2016/11/104663#sthash.ZJq0hDQx.dpuf

Comments