थप तीन आन्तरिक विमानस्थलमा रेस्क्यु एन्ड फायरफाइटिङ सेवा

थप तीन आन्तरिक विमानस्थलमा रेस्क्यु एन्ड फायरफाइटिङ सेवा

काठमाडौं, ७ मंसिर
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तीन आन्तरिक विमानस्थलमा आपत्कालीन उद्धार र अग्नि नियन्त्रक सेवा (रेक्स्यु एन्ड फायरफाइटिङ सर्भिस–आरएफएफएस) विस्तारको तयारी गरेको छ । चालू आर्थिक वर्ष ०७३-७४ भित्र धनगढी, जनकपुर र सुर्खेतलाई प्राथमिकतामा राखी रेक्स्यु एन्ड फायरफाइटिङ सुविधा थप गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ । अहिले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ६ वटा विमानस्थलमा मात्र यो सेवा उपलब्ध छ ।
सबै विमानस्थलमा हुनुपर्छ यो सेवा
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डअनुसार सबै प्रकारका विमानस्थलमा यो सेवा उपलब्ध हुनुपर्छ । तर, नेपालका अधिकांश आन्तरिक विमानस्थल आपत्कालीन उद्धार र अग्निनियन्त्रण सेवाविना नै सञ्चालन छन् । ‘सुर्खेत, धनगढी र जनकपुरलाई प्राथमिकतामा राखी रेस्क्यु एन्ड फायरफाइटिङ सेवा विस्तारको योजना बन्दै छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने, ‘चालू आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढेको छ ।’ उनका अनुसार उपकरण, दमकलसहित ती सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति पनि आवश्यक पर्ने भएकाले त्यसको जोहो गर्न समय लाग्ने गर्छ ।
भिभिआइपी उडानका वेला समस्या
रेक्स्यु एन्ड फायरफाइटिङ सर्भिस नहुँदा प्राधिकरणलाई भिभिआइपी (अति विशिष्ट) उडानका वेला समस्या पर्ने गरेको छ । रेक्स्यु एन्ड फायरफाइटिङ सर्भिस नभएको विमानस्थलमा भिभिआइपी उडान गर्न नमिल्ने प्रावधान छ । गत महिना नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर उडानका वेला बारास्थित सिमरा विमानस्थलबाट आपत्कालीन उद्धार टोली र दमकल पुर्‍याइएको थियो ।
दुर्गममा उपकरण लैजान समस्या
देशभरका विमानस्थलमा रेक्स्यु एन्ड फायरफाइटिङ सर्भिस विस्तार गर्ने योजना रहे पनि कतिपय विमानस्थलमा भने चाहेर पनि उपकरण लैजान नसकिने उपमहानिर्देशक पोखरेलले बताए । ‘सुरक्षाका दृष्टिले मुलुकभरका सबै विमानस्थल उत्तिकै संवेदनशील हुन्छन्,’ उनले भने, ‘क्रमशः यो सेवा सबै विमानस्थलमा पुर्‍याउने योजना छ ।’ सडक यातायातले नछोएका विमानस्थलमा उपकरण तथा दमकल लैजान नसकिने र लगे पनि भौगोलिक कठिनाइका कारण त्यसको उचित प्रयोग हुन सक्दैन । सोहीकारण दुर्गम भेगका विमानस्थलमा ‘पोर्टबल फायर एक्स्टिंग्युसर’ उपकरण राखिएको प्राधिकरणको भनाइ छ ।
air
- See more at: http://www.enayapatrika.com/2016/11/106627#sthash.r5ulzxnh.dpuf

Comments