भिभिआइपी उडानले शुक्रबार आन्तरिक उडान प्रभावित हुने

भिभिआइपी उडानले शुक्रबार आन्तरिक उडान प्रभावित हुने

अच्युत पुरी/नयाँ पत्रिका 
काठमार्डौं, १९ कात्तिक
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने नेपाल भ्रमणको अन्तिम दिन शुक्रबार आन्तरिकतर्फका गन्तव्य बढी प्रभावित हुँदै छन् । शुक्रबार राष्ट्रपति मुखर्जी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जनकपुर जाने कार्यक्रम छ । राष्ट्रपतिसहितको टोली जनकपुरबाट पोखरा जाने कार्यक्रम छ । पोखराबाट फर्किएपछि राष्ट्रपति मुखर्जी विमानस्थलबाटै दिल्ली प्रस्थान गर्नेछन् ।
पोखरा उडानमा व्यापक कटौती
वायुसेवा कम्पनीहरूले आन्तरिकतर्फ व्यस्त गन्तव्यमध्ये एक पोखरामा गर्दै आएको नियमित व्यावसायिक उडानमा शुक्रबार भारी कटौती गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा विमानस्थल कार्यालयका अनुसार शुक्रबार बिहान ११ बजेपछि पोखरा विमानस्थलबाट व्यावसायिक उडान रोकिनेछ । सोही कारण बुद्ध एयर, यती एयर र सिम्रिक एयरलाइन्सले शुक्रबार सबै उडान बिहानका लागि सारेका छन् । शुक्रबार बुद्ध एयरले साना जहाजबाट दुईवटा मात्र उडान गर्न लागेको कम्पनीका वरिष्ठ बजार निर्देशक रूपेश जोशीले जानकारी दिए । यती एयरले बिहान १० बजेसम्म सकाउने गरी पा“चवटा उडान गर्ने तालिका बनाएको छ । सिम्रिकले पनि एक या दुईवटा मात्र उडान गर्न सक्ने बताएको छ । पोखरामा बुद्धले दैनिक ७ देखि ८, यतीले दैनिक ९ देखि १० र सिम्रिकले ३ वटा उडान गर्दै आएका छन् ।
पोखरा–जोमसोम एक–एक उडान कटौती
शुक्रबारका लागि निर्धारित पोखरा–जोमसोम रुटमा भने एक–एक उडान मात्र कटौती हुने नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख भोला गुरागाईंले जानकारी दिए । उनका अनुसार पोखराबाट सिम्रिक र तारा एयरले जोमसोममा दैनिक ५–५ उडान गर्दै आएका छन् । राष्ट्रपति मुखर्जी शुक्रबार साढे १० बजे जनकपुर जाने कार्यक्रम छ । त्यहाँबाट फर्कने समयको यकिन नभएकाले पोखरा विमानस्थल बढी प्रभावित हुने गुरागार्इंले बताए । पोखरा विमानस्थल कार्यालयले अपराह्न १२ बजेदेखि १२ः४५ सम्म र साँझ ४ बजेदेखि ४ः४५ बजेसम्मको समयलाई नोटाम (भिभिआइपी उडान हुने समय) घोषित गरी विमानस्थल बन्द गर्दै छ ।
जनकपुरमा एक–एक उडान
शुक्रबार जनकपुरका लागि यती र बुद्धले एक–एक उडान राखेका छन् । यहाँ बुद्धले दैनिक दुई र यतीले एक उडान गर्दै आएका छन् ।
बुद्धको चार्टर्ड जहाजमा मुखर्जीको यात्रा
आन्तरिक गन्तब्यमा सबैभन्दा ठुलो बजार हिस्सा ओगट्ने बुद्ध एयरका दुई ठूला जहाज राष्ट्रपतिको भ्रमण टोलीले चार्टर्ड गरेको छ । बुद्धका एटीआर ४२ मोडलका दुई जहाज भारतीय राष्ट्रपतिको उडानमा प्रयोग हुनेछन् । यी जहाज ४२ सिट क्षमताका हुन् । बु्द्धले थप एक जहाज भैपरी आउने समस्यालाई दृष्टिगत गर्दै जगेडामा राख्नेछ । यसले बुद्धका तीन जहाज शुक्रबार व्यवसायिक उडानमा प्रयोग हुने छैनन् । यसले पनि आन्तरिक उडानमा असर गर्नेछ । बुद्धले ठुला जहाजबाट उडान गरिरहेका गन्तब्यमा साना जहाज प्रयोग गरी उडान व्यवस्थापन मिलाइएको बुद्धका वरिष्ठ बजार निर्देशक जोशीले जानकारी दिए । बुद्धसँग अहिले ७२ सिट क्षमताका तीन, ४२ सिट क्षमताका तीन र १९ सिट क्षमताका दुई वटा एयरक्राफ्ट छन् ।
शुक्रबार त्रिभुवन विमानस्थल दुई पटक बन्द
राष्ट्रपति जनकपुर जाने समय शुक्रबार बिहान १० बजेर २० मिनेटदेखि करिव ४५ मिनेट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द हुनेछ । राष्ट्रपति पोखरा भ्रमण सकेपछि करिव ४ः३० मा काठमाडौं फर्कने कार्यक्रम छ । उनी पोखराबाट काठमाडौं फर्किएपछि विमानस्थलबाटै भारतको नया“ दिल्ली फर्कनेछन् । उक्त बेला साढे चार बजेदेखि करिव १ घण्टा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने राष्ट्रिय–अन्तरराष्ट्रिय उडान–अवतरण बन्द हुने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
राडार बिग्रिएपछि टिआइएमा दिनभर समस्या
बुधबार रातिबाट त्रिभुवन विमानस्थलको राडार बिग्रिएपछि बिहीबार दिनभर त्रिभुवन विमानस्थलमा उडान–अवतरणमा समस्या भयो । राडार बिग्रिएपछि एयर ट्राफिक कन्ट्रोलर (एटिसी)ले प्रोसिडुरल कन्ट्रोलबाट निकै दबाबमा काम गर्नुपरेको र सोही कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान–अवतरण प्रभावित भएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार राडारले काम गर्न छाडेपछि एटिसी आफैँले जहाज रिपोर्टिङ गर्ने, जहाजको मनिटर गर्ने र उनीहरूले पठाएका सूचना हेरेर व्यवस्थापन गर्नुपरेको थियो ।
सोहीकारण बिहीबार साझ ५ बजे अगाडिसम्म सम्पूर्ण उडान डिले भए भने नेपाल आएका सबैजसो विमान आकाशमा होल्ड गर्नुपरेको थियो । लामो समय होल्ड गरेपछि इत्तिहाद एयरको जहाज लखनउ डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । राडार स्वदेशी प्राविधिकबाटै सफलतापूर्वक मर्मत भएपछि साँझ ५ बजेपछि विमानस्थलमा उडान–अवतरण सामान्य अवस्थामा फर्किएको छ । नेपाली प्राविधिकबाट मर्मत सम्भव नभएको भए विदेशबाट प्राविधिक मगाउनुपर्ने थियो । सो अवस्था आएको भए त्रिभुवन विमानस्थल व्यवस्थापन निकै चुनौतीपूर्ण हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
के काम गर्छ राडारले ?
राडार कन्ट्रोलर जहाजको दूरी, उचाइ र स्थितिबारे जानकारी दिने उपकरण हो । यस उपकरणको सहायताबाट विमान अवतरण र उडान व्यवस्थित गरिन्छ । राडार नभएको अवस्थामा माइक्रोफोनबाट ध्वनिको सहायतामा विमानको अवस्थाबारे जानकारी लिएर व्यवस्थापन गरिन्छ । यसलाई प्रोसिडुरल कन्ट्रोल भनिन्छ ।
- See more at: http://www.enayapatrika.com/2016/11/101876#sthash.ZVn4xymR.dpuf

Comments