वन्डरफुल इन्डोनेसिया

वन्डरफुल इन्डोनेसिया‘के तपाईं भारतीय हो ?’ नेपालीले अर्को मुलुकमा पुग्दा सामान्यतया यही प्रश्नको सामना गर्नुपर्छ, ‘आर यु फ्रम इन्डिया ?’ इन्डोनेसिया पनि अपवाद रहेन । एक साताअघि नेपाली सञ्चारकर्मीको टोलीसहित राजधानी जाकर्ता पुग्दा मैले पनि पहिलोपटक यही प्रश्न सुनेँ । अत्यधिक भारतीय पर्यटक पुग्ने भएकाले पनि हुन सक्छ, उनीहरू यो प्रश्न सहजै सोध्छन् । तर, जाकर्ताको सेर्पोङ कोटास्थित होटेल सान्टिका बिएसडी सिटीको रेस्टुराँमा हाँस्दै हामीले भन्यौँ, ‘वी आर फ्रम नेपाल ।’

‘ओ, फ्रम माउन्ट एभरेस्ट,’ होटेलका कर्मचारीले हाँस्दै हाम्रो जवाफको प्रतिक्रिया दिए । तर, जाकर्तामा उनी मात्र रहेनछन्, जसलाई नेपाल सगरमाथाको देश हो भन्ने थाहा थियो ।
जाकर्ताका सामान्य पसलेदेखि लिएर ट्याक्सी ड्राइभरले पनि हामी नेपालको भनेपछि यस्तै प्रतिक्रिया दिए । पहिचानका लागि यो पर्याप्त थियो । तर, हामी हाम्रा अन्य पर्यटनस्थलको प्रचारमा कति कमजोर रहेछौँ भन्ने प्रश्न पनि मनमा उब्जियो ।
in
त्यसो त नेपालबाट जाकर्ता पुग्ने जोकोहीलाई पनि लाग्न सक्छ, यो मुलुक पर्यटनकै लागि बनेको हो । साना–ठूला १३ हजार चार सय ६६ टापु मिलेर बनेको जाकर्ताले आफूलाई पर्यटकको ‘हब’का रूपमा विकास गर्न पनि भरपुर लगानी गरिरहेको छ । पर्यटकीय संस्कृतिको विकास गरिरहेको छ ।
‘पर्यटन एक प्रकारको अनुभव हो । फरक संस्कृति, वेशभूषा र प्राकृतिक बनोटलाई हेर्ने, महसुस गर्ने र अनुभव गर्ने माध्यमका रूपमा पर्यटनको विकास भएको हो,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीको यो अभिव्यक्ति नेपालका लागि मात्र होइन, इन्डोनेसियाका लागि पनि सही साबित हुन्छ ।
तर, इन्डोनेसियाले आफ्नो प्राकृतिक बनावटलाई मात्र ब्रान्डिङ गरेको छैन, संस्कारलाई पर्यटनमैत्री बनाएर उदाहरण पेस गर्न सफल भएको छ । यही संस्कारको उपज हुन सक्छ, जाकर्ताका सडकमा पुग्ने विदेशी तथा आन्तरिक पर्यटकलाई त्यहा“का स्थानीयले सम्मान गर्छन्, आधा शरीर झुकाएर स्वागत गर्छन् ।
त्यसो त त्यहाँ पुग्ने नेपालीका लागि इन्डोनेसिया कुनै नयाँ मुलुकजस्तो लाग्दैन । यसको कारण हो– अधिकांश इन्डोनेसियाली र हाम्रो शारीरिक बनोट मिल्नु । चिरपरिचित मुलुकमा पुगेकोजस्तो आभास गर्ने नेपालीले पनि फरकचाहिँ के कुरामा महसुस गर्छ भने उनीहरू पर्यटनलाई व्यवसायका रूपमा अगाडि बढाउन मनैदेखि लागेका छन् ।
२१ करोड ५० लाखभन्दा बढी जनसंख्या रहेको इन्डोनेसियामा विश्वका करिब १२ प्रतिशत मुस्लिम धर्मावलम्बी बसोवास गर्छन् । तर, पर्यटकीय ‘स्कोप’ पूरा गर्न उसले कुनै ‘कम्प्रोमाइज’ गरेको छैन ।
नाइट मार्केटको विकास होस् या आधुनिक सहरको संरचना, इन्डोनेसियाले आफ्नो मौलिकता पनि बिर्सेको छैन । जाकर्ताका सडकमा घुम्दा मैले यही कुरा ‘फिल’ गरेँ । यस्तो किन पनि रहेछ भने उनीहरू पर्यटकको धर्मलाई विश्वास गर्दैनन्, पर्यटकलाई समस्या नपरोस् भन्नेमा सचेत छन् ।
इन्डोनेसियाका पर्यटनमन्त्री यारिफ याह्या भन्छन्, ‘पर्यटनको कुनै धर्म हुँदैन, इन्डोनेसिया सबै धर्म र समुदायका लागि आकर्षक गन्तव्य हो । खासगरी हलाल फुड र मुस्लिम धर्मावलम्बीका लागि विभिन्न स्थानमा रहेका धार्मिकस्थलका कारण विनासंकोच इन्डोनेसिया ‘मुस्लिमफ्रेन्ड्ली’ गन्तव्य हो ।’
जाकर्ताको मुख्य सहरबाट गाडी लिएर बाहिर निस्किएपछि विभिन्न गन्तव्यका लागि सवारी कर तिर्नुपर्छ । सामान्यतया नेपालका सडकमा कर उठाउने स्थानमा चुल्ठे–मुन्द्रे बसेको देखेका नेपाली त्यतिवेला अचम्म पर्छन्, जब कर उठाउने अधिकांश बुथमा सुन्दर महिला कर्मचारी बसेका हुन्छन् । चालकले इमानदारीसाथ पैसा दिन्छन्, उनले मुस्कानसहित बिल फिर्ता गर्छिन् । सडक सञ्जाललाई प्रविधीकरण गरेको इन्डोनेसियाका सडकमा अनुशासनहीन चालक देख्न पाइएन ।
सडक अनुशासन इन्डोनेसियामा कतिसम्म छ भने एक साताको बसाइमा सडकमा हर्न बजेको सुनिएन भने सवारी चालकले पैदल यात्रुलाई ‘मर्लास्’ भन्दै हप्काएको पनि सुनिएन । व्यवस्थित सहरीकरण गरेको इन्डोनेसियाले जाकर्तालाई हरियाली सहरको अवधारणाका रूपमा अघि बढाएको पर्यटनमन्त्री याह्या बताउँछन् । त्यसैले लाग्छ, जाकर्ता एउटा जंगलभित्र विकसित भएको सहर हो । तर, त्यो हरियाली कृत्रिम हो ।
इन्डोनेसियालाई विश्वचर्चित टापु बाली र सुमात्राले संसारभर परिचित गराएका छन् । त्यसलाई राजधानी जाकर्ताले मलजल गरेको छ । सामुद्रिक गतिविधिका लागि विश्वचर्चित बाली, सुमात्रा र जाकर्तालाई मात्र केन्द्रित गरी ९० प्रतिशत पर्यटक आउने गरेको इन्डोनेसियाली पर्यटन मन्त्रालयको तथ्यांक छ । यीमध्ये ३० प्रतिशत जाकर्ताबाटै फर्किन्छन् ।
जाकर्ता ‘माइस टुरिजम’का लागि ठूलो सम्भावना बोकेको राजधानी हो । ठुल्ठूला सम्मेलन केन्द्र, स्तरीय होटेल, आधुनिक सहरीकरण तथा मौलिक संस्कृतिको संगम भएकाले पनि जाकर्ता छुट्टै गन्तव्य बनेको हो ।
इन्डोनेसियाले वार्षिक १ करोड विदेशी पर्यटक भित्राउँछ । त्यसमध्ये धेरैजसो छिमेकी मुलक सिंगापुर, मलेसिया र अस्ट्रेलियाबाट पुग्छन् । पछिल्लो समय इन्डोनेसियामा चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेको छ ।
इन्डोनेसियाली पर्यटन मन्त्रालयको प्रक्षेपणअनुसार सन् २०१६ मा चिनियाँ नागरिक इन्डोनेसिया पुग्ने सबैभन्दा धेरै विदेशी हुनेछन् । यसमा इन्डोनेसियाले तयार पारेको बलियो हवाई सञ्जालको हात देखिन्छ । जाकर्ता, बालीसहित नौवटा सहरमा सीधा अन्तर्राष्ट्रिय उडानको व्यवस्था छ ।
यी विमानस्थलबाट स्थानीय तथा अन्तर्राष्ट्रिय वायुसेवाले दैनिक अत्यन्त व्यस्त तालिकाअनुसार उडान गर्छन् । इन्डोनेसियाले केही समयभित्रै पर्यटनमा २० अर्ब डलर लगानीको योजना बनाएको छ ।
पर्यटनमन्त्री याह्याका अनुसार त्यसको ५० प्रतिशत हिस्सा निजी क्षेत्रको हुनेछ । सरकारले नयाँ–नयाँ पर्यटकीय गन्तव्य विस्तार गर्ने र त्यसमा पूर्वाधार विकासका लागि लगानी गर्नेछ । नेपालले पनि इन्डोनेसियाबाट सिक्ने यस्ता धेरै ठाउँ छन् ।
- See more at: http://www.enayapatrika.com/2016/09/89725#sthash.Deh3pQqB.dpuf

Comments