निगमको जहाजको पांग्रा सातामा दोस्रोपटक पङ्चर

निगमको जहाजको पांग्रा सातामा दोस्रोपटक पङ्चर

अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, २९ भदौ
मंगलबार अपराह्न दिल्लीबाट काठमाडौं आएको नेवानिको जहाजको टायर पड्किए पनि मानवीय तथा भौतिक क्षति भने हुन पाएन । जहाजमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत पनि थिए ।
काठमाडौं अवतरण गरेपछि धावनमार्गमा गुडिरहेको जहाजको टायरमा आगो देखिएपछि ग्राउन्ड स्टाफले विमानस्थल कन्ट्रोल टावर (एटिसी)लाई जानकारी दिएका थिए । एटिसीले जानकारी दिएपछि मात्र पाइलट विजय लामाले थाहा पाएका थिए । निगमका अनुसार त्यसपछि पाइलटले जहाजमा आएको समस्याका सम्बन्धमा यात्रुलाई जानकारी गराएर धैर्य रहन आग्रह गरेका थिए ।
जहाजमा खराबी आएको सूचना पाउनेबित्तिकै विमानस्थल व्यवस्थापनले यात्रुको उद्धारका लागि सवारीसाधनहरूको व्यवस्था गरिसकेको थियो । विमानस्थल सुरक्षा बललाई तयारी अवस्थामा राखिएको थियो । तर, त्यस्तो भवितव्य भएन ।
निगमको जहाजमा एक सातामा दोस्रोपटक खराबी आएको छ । आइतबार मात्रै दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको जहाजको पनि टायरमा खराबी आएपछि आकस्मिक अवतरण गर्नुपरेको थियो । सो जहाजको अहिले मर्मत भइरहेको छ ।
छानबिन समिति गठन
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमका जहाजका टायरमा आएको खराबी सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार सहसचिव सुरेश आचार्यको संयोजकत्वमा गठित ६ सदस्यीय समितिलाई १५ दिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्ने समयसीमा दिइएको छ ।
कसको कमजोरीले टायर बिग्रिए ?
नेपाल एयरलाइन्सका जहाजमा प्रयोग भएका टायर अमेरिकी कम्पनी मिसेलिन एयरका हुन् । नेपाल एयरलाइन्सले यी टायर थाइल्यान्डको बैंककस्थित मिसेलिनले सिफारिस गरेको एक कम्पनीमार्फत रिट्रिट (नियमित मर्मतसम्भार) गर्दै आएको छ । पछिल्लो लटमा एकैपटक राखेका टायर एकैपटक पड्किएपछि रिट्रिट कम्पनीकै कमजोरीले दुर्घटना भएको निष्कर्षमा निगम पुगेको छ । निगमले बोइङ कम्पनीका जहाजको टायर रिट्रिट पनि सोही कम्पनीमार्फत गर्दै आएको छ । मिसेलिन कम्पनीका टायर विश्वका धेरै वायुसेवा कम्पनीका जहाजमा प्रयोग हुने गरेको निगमको भनाइ छ ।
क्षतिपूर्ति माग गर्ने तयारी
घटनापछि मंगलबार निगम महाप्रबन्धकसहित सरोकारवाला विभागका प्रमुख, एयरबसका प्राविधिक र नेपाली प्राविधिकबीच बैठक भएको थियो । बैठकले बैंककस्थित रिट्रिट गर्ने कम्पनीसँग क्षतिपूर्ति दाबी गर्ने र आगामी दिनमा उक्त कम्पनीबाट टायरको रिट्रिट नगर्ने निर्णय गरेको कंसाकारले जानकारी दिए । उनले भने, ‘कम्पनीले यस लटमा राखेका सबै टायरमा खराबी आएकाले उसैको कमजोरी हो भन्ने निष्कर्षमा पुगियो ।’
- See more at: http://www.enayapatrika.com/2016/09/89312#sthash.tyTpjhWL.dpuf

Comments