अग्रिम बुकिङ नै नखुलाई सकिए हवाई टिकट

अग्रिम बुकिङ नै नखुलाई सकिए हवाई टिकट

अच्युत पुरी/नयाँ पत्रिका 
काठमाडौं, ६ असोज
दसैँमा हवाई मार्गबाट उपत्यकाबाहिर जाने योजनामा हुनुहुन्छ र अहिलेसम्म टिकट बुक गर्नुभएको छैन भने तपाईंले विकल्प खोज्नुपर्ने हुन्छ । किनकि आन्तरिक उडानतर्फ अधिकांश हवाई टिकट बिक्री भइसकेका छन् । ‘दसैँ अवधिभर सबैजसो क्षेत्रका गन्तव्यको टिकट अग्रिम बुकिङ भइसकेको छ,’ सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स (सोट्टो) नेपालका महासचिव तथा एस ट्राभल प्रालिका प्रबन्ध निर्देशक मधुसूदन उपाध्यायले भने, ‘केही टिकट बाँकी रहेका भए पनि अब आमसर्वसाधारणले पाउने सम्भावना छैन ।’
पाँच महिनाअघिबाटै बुकिङ
हरेक वर्ष दसैँ अवधिमा हुने टिकटअभावबारे अभ्यस्त यात्रुले विगत पाँच महिनाभन्दा अगाडिदेखि नै बुकिङ सुरु गरेका थिए । वायुसेवा कम्पनीको नीतिअनुसार अग्रिम बुकिङको समय फरक–फरक हुने गर्छ । कतिपय यात्रुले बुद्ध एयरमा जेठबाटै दसैँका लागि टिकट बुकिङ गरेका थिए । अन्य वायुसेवा कम्पनीमा पनि अग्रिम बुकिङमार्फत टिकट बिक्री भइसकेका छन् । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतका अनुसार दसैँको सप्तमीदेखि नवमीसम्म प्रायः सबै गन्तव्यमा टिकट बिक्री भइसकेको छ । यति एयरलाइन्सका प्रबन्धक भीमराज राईका अनुसार दुर्गम गन्तव्य र दसैँ अन्तिम केही दिनका टिकट शतप्रतिशत बिक्री भइसकेको छ ।
अतिरिक्त उडानको तयारीमा वायुसेवा कम्पनीहरू
दसैँमा हुने यात्रुको चापलाई ध्यानमा राख्दै वायुसेवा कम्पनीहरूले क्षमताले भ्याएसम्म अतिरिक्त उडानको तयारी गरिरहेका छन् । बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतका अनुसार कम्पनीले दसैँमा यात्रुको चाप बढी भएका गन्तव्यमा अतिरिक्त उडान गर्नेछ । ‘हामी जहाजको क्षमताले भ्याएसम्म उडाएर यात्रुलाई सेवा दिने योजनामा छौँ,’ उनले भने, ‘फालाफाल टिकट छैनन्, यात्रुको योजनाभन्दा एक–दुई दिन ढिला–चाँडो हुने गरी मिलाएर लैजान सकिन्छ ।’ अघिल्ला दसैँमा बुद्ध र यतिबाट विराटनगर, भद्रपुरलगायत गन्तव्यमा जाने यात्रुको बढी चाप हुने गथ्र्यो । अहिले भने भैरहवासहित पश्चिमका गन्तव्यमा पनि चाप बढेको वायुसेवा कम्पनीको भनाइ छ । काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य राजमार्ग नारायणगढ–मुग्लिङ सडक खण्डको दुरावस्थाका कारण धेरै यात्रुले हवाईमार्ग रोजेको अनुमान वायुसेवा कम्पनीको छ । सिम्रिक एयरका बिक्री तथा बजार प्रबन्धक प्रज्वल थापाका अनुसार सप्तमीपछि नियमित उडानका अतिरिक्त थप उडानको तयारीमा वायुसेवा कम्पनी छन् ।
नेपाल वायुसेवा निगमको तयारी के छ ?
नेपाल वायुसेवा निगमले दसैँ अवधिभर आन्तरिकतर्फ दुई ट्विनअटर र दुई चिनियाँ जहाजबाट सेवा दिनेछ । निगमले पनि अहिले धमाधम अग्रिम बुकिङ लिइरहेको छ । निगमका कर्पोरेट विभाग प्रमुख तथा प्रवक्ता रामहरि शर्माका अनुसार दुर्गम गन्तव्यका सबैजसो टिकट बिक्री भइसकेका छन् । भद्रपुर, विराटनगरलगायतका सुगम गन्तव्यमा निगमले ५८ सिट क्षमताको ‘एमए ६०’ जहाज उडाइरहेको छ । ती गन्तव्यमा बाँकी रहेका थप सिटको बुकिङ जारी रहेको शर्माले जानकारी दिए । सप्तमीदेखि टीकाको भोलिपल्टसम्मका टिकट बिक्री अधिक छ ।
अतिरिक्त उडान गरी सेवा दिन्छौँ 
वीरेन्द्रबहादुर बस्नेत 
प्रबन्ध निर्देशक, बुद्ध एयर
दसैँमा यात्रुको चाप बढ्ने भएकाले स्वाभाविक रूपमा टिकटको अभाव हुन्छ । त्यसमाथि पनि दसैँमा कार्यालय बिदा हुने फूलपातीपछि यात्रु धेरै हुन्छन् । यस अवधिमा अतिरिक्त उडान गरी बढीभन्दा बढी यात्रुलाई सेवा दिने पक्षमा छौँ । जहाजको क्षमताले भ्याएसम्म हामी उडाउँछौँ । टिकट फालाफाल छैन, तर, यात्रुको निर्धातिर योजनाभन्दा एक–दुई दिन ढिलो–चाँडो हुने गरी यात्रुलाई निरास नपार्ने हाम्रो लक्ष्य हो ।
दुर्गममा नेवानिका सबै टिकट बुक छन् 
 रामहरि शर्मा 
प्रवक्ता, नेपाल वायुसेवा निगम
दुर्गम क्षेत्रमा नेपाल वायुसेवा निगमले ट्विनअटर विमानमार्फत सेवा दिँदै छ । दुईवटा विमान यी क्षेत्रमा उड्नेछन् । काठमाडौंबाट पहाडी इलाका तथा दुर्गम क्षेत्रमा सबै गन्तव्यको टिकट बिक्री भइसकेको छ । सुगम गन्तव्यमा पनि अहिले अग्रिम बुकिङ जारी छ ।
- See more at: http://www.enayapatrika.com/2016/09/91913#sthash.DqsUldjg.dpuf

Comments