जकार्तामा नेपाली पर्यटनको प्रचार

जकार्तामा नेपाली पर्यटनको प्रचार

अच्युुत पुरी/नयाँ पत्रिका 
जकार्ता (इन्डोनेसिया) २४ भदौ
३९औँ पाटा ट्राभल मार्ट इन्डोनेसियाको राजधानी जकार्तामा बुुधबारबाट सुरु भएको छ । विश्वका ६२ मुलुकका सेवा प्रदायक पर्यटन व्यवसायी सहभागी मार्टको इन्डोनेसियाका उपराष्ट्रपति मोहम्मद जुसुफ कलाले औपचारिक उद्घाटन गरे । आफ्नो सेवा तथा गन्तव्यको प्रवद्र्धनमा विश्वभरका पर्यटन व्यवसायी तथा संघसंस्थाले पाटा ट्राभल मार्टलाई उपयोग गर्दै आएका छन् । विश्वभरका पर्यटन व्यवसायीले उच्च गुणस्तरीय पर्यटकीय सेवाका लागि पाटा ट्राभल मार्ट उपयुक्त माध्यम रहेको इन्डोनेसियाका पर्यटनमन्त्री आरिफ याहाले बताए ।
नेपालबाट १० टोली सहभागी
१९९१ देखि विभिन्न मुलुकमा नियमित रूपमा आयोजना भइरहेको ट्राभल मार्टमा यस वर्ष नेपालबाट १० कम्पनी तथा संस्थाले भाग लिएका छन् । नेपालबाट पाटा नेपाल च्याप्टरको नेतृत्वमा नेपाल पर्यटन बोर्ड तथा नेपाल वायुसेवा निगमले भाग लिएका छन् । यसबाहेक
एक्स्प्लोर हिमालय ट्राभल एन्ड एड्भान्चर, ट्राभल वर्ल्ड एक्सपेरियन्स, नेपाल इजि ट्राभल, हिमालय गाइड नेपाल, होटेल मर्स्याङ्दी लामटाङ ट्रेकिङ, सोल्टी क्राउन प्लाजा, टाइगर ल्यान्ड सफारी रिसोर्ट ले भाग लिएका छन् ।
तीनदिने मार्ट
इन्डोनेसियाको जकार्तास्थित इन्डोनेसिया कन्भेन्सन एक्जिविसन (आइस)मा बुधबार उद्घाटन भएको मार्ट तीन दिनसम्म चल्नेछ । विश्वभरका २ सय ६० क्रेता र २ सय २० विक्रेता सहभागी मार्टमा ६३ मुलुकबाट १ हजार २ सय ८४ प्रतिनिधि सहभागी छन् । यसमध्ये १ सयभन्दा बढी सञ्चारमाध्यमका प्रतिनिधिले भाग लिएको आयोजकले जानकारी दिएको छ । नेपालबाट ६ वटा सञ्चारमाध्यमको प्रतिनिधित्व रहेको छ ।
गन्तव्य प्रवद्र्धनको  उपयुक्त माध्यम
नेपालबाट टाभल मार्टमा प्रतिनिधित्व गरिरहेका नेपाली संघसंस्था तथा कम्पनीका प्रतिनिधिले मार्ट नेपाली पर्यटकीय सेवा तथा गन्तव्यको प्रवद्र्धनका लागि उपयुक्त माध्यम भएको बताएका छन् । यो एउटा बिजनेस टू बिजनेस– बिटुबी मोडलको मेला हो, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले भने– यहाँ उच्चस्तरीय क्रेता र विक्रेताको जमघट छ ।
उत्साहित नेपाली प्रतिनिधि
यसप्रकारको मेलाले नेपालजस्ता मुलुकलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गराउन मद्दत पुग्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए । हामीलाई अन्तर्राष्ट्रिय स्तरको सेवाबारे जानकारी लिन र दिनका लागि मार्ट फलदायी हुनेछ, उनले भने । नेपाल वायुसेवा निगमले आफ्नो सेवासँगै नेपालको पनि प्रवद्र्धन गरिरहेको निगमका प्रवक्ता रामहरि शर्माले बताए । ट्राभल मार्टबाट नेपाली पर्यटन व्यवसायीले आफ्ना सेवालाई अन्तर्राष्टिय स्तरसम्म पु-याउन उपयोग गरिररहेको पाटा नेपाल च्याप्टरका कार्यकारी निर्देशक सुुरेशसिंह बडालले जानकारी दिए ।
पाटाको अवसर
पाटा नेपाल च्याप्टरले नेपाली पर्यटन व्यवसायीलाई आफ्ना उत्पादन तथा  सेवाको प्रवद्र्धनका लागि हरेक वर्ष यसप्रकारको सुविधा उपलब्ल गराइरहेको अध्यक्ष पाण्डेको भनाइ छ । ‘पाटा ट्राभल मार्ट विश्वकै गुुणस्तरीय ट्राभल मार्टहरूमध्ये एक हो,’ उनले भने, ‘आगामी दिनमा नेपालमा पनि यसप्रकारको मार्ट आयोजनाको योजना छ ।’
नेपाली पेभिलियनमा आकर्षण
ट्राभल मार्टमा राखिएका विभिन्न मुलुकका पेभिलियनमध्ये नेपालको पेभिलियनमा दर्शकको आकर्षण देखिन्छ । खासगरी परम्परागत प्यागोडा शैलीमा सजाइएको नेपाली पेभिलियनमा सगरमाथा, पशुपतिनाथ मन्दिरलगायत नेपाली पर्यटनका विविध उत्पादनलाई सजाइएको छ ।
- See more at: http://www.enayapatrika.com/2016/09/88059#sthash.FLQ29LDI.dpuf

Comments