नौ विमानस्थलमा अब हवाई इन्धन भर्ने सुविधा

१ वर्षभित्र थप ५ आन्तरिक विमानस्थलमा यो सुविधा विस्तारको योजना बनाइएको छ

अच्युत पुरी/नयाँ पत्रिका 
काठमाडौं, १० भदौ
नेपालभित्र हवाई इन्धन (एटिएफ) भर्न सकिने विमानस्थलको संख्या नौ पुगेको छ । नेपाल आयल निगमले १ भदौदेखि झापास्थित भद्रपुर विमानस्थलमा सुविधा विस्तार गरेसँगै इन्धन भर्न सकिने विमानस्थलको संख्या बढेको हो ।
नौ विमानस्थलमा अब हवाई इन्धन भर्ने सुविधा
नेपालमा आन्तरिक उडान गरिरहेका वायुसेवा कम्पनीले बढीभन्दा बढी विमानस्थलमा इन्धन भर्न सकिने सुविधा विस्तारको माग गरिरहेका छन् । सोहीबमोजिम आयल निगमले क्रमशः अन्य विमानस्थलमा पनि हवाई इन्धन भर्न सकिने सुविधा थप्दै जाने योजना बनाएको त्रिभुवन विमानस्थलस्थित निगमको हवाई इन्धन डिपो प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए ।
अहिले त्रिभुवन विमानस्थलसहित भद्रपुर, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी, सुर्खेत र रामेछापको मन्थली विमानस्थलमा इन्धन भर्न सक्ने सुविधा छ । यीमध्ये कतिपय विमानस्थलमा इन्धन भण्डारण गर्न सकिने सुविधा छ भने कतिपयमा दैनिक माग परिपूर्ति हुने गरी इन्धन आपूर्ति गरिन्छ ।
यादवका अनुसार आयल निगमले एक वर्षभित्र थप ५ वटा विमानस्थलमा इन्धन भर्न सकिने सुविधा विस्तार गर्दै छ । सिमरा, जनकपुर, फाप्लु, जुम्ला र भरतपुरमा क्षमता विस्तारको योजना बनाइएको छ ।
हवाई सुरक्षा अभिवृद्धिमा सहयोग
वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का अनुसार सञ्चालनमा रहेका सबै विमानस्थलमा इन्धन भर्न सक्ने सुविधा थप्दा हवाई सुरक्षा अभिवृद्धिमा सहयोग पुग्छ । ‘इन्धन भर्ने सुविधा नभएको विमानस्थलमा उड्दा फर्कने अवधिसम्म पुग्ने इन्धन बोक्नुपर्ने बाध्यता हुन्छ,’ आयोनका कार्यकारी प्रमुख कमलेश वर्माले भने, ‘त्यस अवस्थामा जोखिम बढी रहन्छ ।’
पूर्ण क्षमतामा उड्छन् जहाज
कम्पनीहरूका अनुसार इन्धन भर्ने सुविधा राखिएको विमानस्थलमा उड्दा पूर्ण क्षमतामा जहाज उडाउन सकिन्छ । तर, दोहोरो परिणाममा इन्धन बोक्नुपर्ने गन्तव्यमा उड्दा भने ५ देखि ७ वटासम्म सिट खाली राखेर उडाउनुपर्छ । नेपालमा खासगरी दुर्गमका गन्तव्यमा उड्ने जहाजले एकातर्फ दोहोरो भारमा इन्धन बोक्नुपर्ने र अर्कातर्फ पूर्ण क्षमतामा उड्न नसक्ने समस्या भोग्ने गरेका छन् ।
आन्तरिकतर्फ नेपाल वायुसेवा निगमका चिनियाँ जहाज (एमए६०, वाई १२)मा बढी भारको समस्या छ । इन्धनका रूपमा दोहोरो भार बोक्नुनपर्दा निगमको उडान सहज हुने बताइएको छ ।
के फाइदा हुन्छ ?
  • अहिले जहाजले काठमाडौंबाट इन्धन भर्दा पुनः काठमाडौं फर्कंदासम्म पुग्ने गरी भर्नुपर्छ, जसले गर्दा जहाजमा अतिरिक्त भार पर्छ।
  • दोहोरो इन्धन बोक्नुपर्ने रुटमा उड्ने विमानमा यात्रुक्षमताको ५ देखि ७ वटासम्म सिट रित्तै उडाएर तौल नियन्त्रण गर्नुपर्ने बाध्यता छ ।
  •  इन्धन सुविधा उपलब्ध भएका विमानस्थलमा उड्दा पूर्ण क्षमतामा जहाज उडान सकिन्छ ।
  • कुनै एक विमानस्थलबाट उडेको जहाज इन्धन सकिएपछि आकस्मिक अवतरण गर्नुपरे काठमाडौं नै आइरहनुपर्ने बाध्यता हट्छ । त्यसवेला नजिकको जुनसुकै विमानस्थलमा पनि आकस्मिक अवतरण गर्न सकिन्छ ।
  •  हवाई सुरक्षा अभिवृद्धिमा सहयोग पुग्छ ।
एटिएफ भर्ने सुविधा भएका विमानस्थल 
काठमाडौं, भद्रपुर, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी, सुर्खेत, रामेछाप (मन्थली)
१ वर्षभित्र थप्ने योजना बनाइएका विमानस्थल 
सिमरा, जनकपुर, फाप्लु, जुम्ला, भरतपुर
- See more at: http://www.enayapatrika.com/2016/08/84628#sthash.jGtfR7ST.dpuf

Comments