५५ वर्षमा आन्तरिक सेवाका ७८ जहाज दुर्घटना

५५ वर्षमा आन्तरिक सेवाका ७८ जहाज दुर्घटना

काठमाडौं, ४ भदौ
आन्तरिक उडान सेवातर्फ पछिल्लो ५५ वर्षयता बर्सेनि एकभन्दा बढी जहाज दुर्घटनामा पर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । सन् १९६१ मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना भएयता नेपाली आकाशमा कुल ७८ वटा जहाज दुर्घटनामा परेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हालै अपडेट गरेको तथ्यांकअनुसार त्यसमध्ये ३१ वटा हेलिकोप्टर र ४७ वटा हवाईजहाज छन् । आन्तरिकतर्फ भएका ७८ दुर्घटनामा परी ३ सय ७३ जनाले ज्यान गुमाएका छन् । साथै कतिपय कम्पनीका एयरक्राफ्ट दुर्घटनाकै कारण सकिएपछि सेवा नै बन्द गर्नुपरेको अवस्था छ । आन्तरिकतर्फ सानो क्षमताका जहाज चल्ने भएकाले संख्यात्मक रूपमा धेरै दुर्घटना भए पनि तुलनात्मक रूपमा मानवीय भने क्षति कम छ ।
उपत्यकाभित्रै ७ दुर्घटना
सामान्यतया नेपालको आन्तरिक उडानमा भौगौलिक अवस्थितिलाई दुर्घटनाको मुख्य कारण मानिन्छ । तर, दुर्घटनाको इतिहास हेर्दा काठमाडौं उपत्यकाभित्रको अवस्थितिभित्र नै आधा दर्जनभन्दा बढी एयरक्राफ्ट दुर्घटनामा परेका छन् । प्राधिकरणको तथ्यांकअनुसार सन् १९७५ मा काठमाडौंको बौद्धमा भएको चार्टर्ड जहाज दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका थिए । पछिल्लोपटक सन् २०१२ मा सीता एयरको जहाज भक्तपुरको मनोहरामा दुर्घटना हुँदा १९ जना यात्रुको निधन भएको थियो ।
तराई सुरक्षित
तथ्यांकअनुसार हवाई दुर्घटनाका दृष्टिकोणबाट आन्तरिक सेवातर्फ तराईका विमानस्थल सबैभन्दा सुरक्षित रुट हुन् । नेपालको उडान इतिहासमा तराई क्षेत्रभित्र ४ वटा मात्र दुर्घटना भएका छन् । त्यसमध्ये तराईमा एउटा पनि हेलिकोप्टर दुर्घटनामा परेको छैन ।
पहाडमा असुरक्षित हेलिकोप्टर
हेलिकोप्टर दुर्घटनाको तथ्यांक केलाउँदा धेरै दुर्घटना हिमालमा भएका छन् । सन् १९७९ मा भिभिआइपी उडानमा रहेको हेलिकोप्टर लामटाङमा भएको दुर्घटना हेलिकोप्टरतर्फ पहिलो थियो । त्यसयता सगरमाथा र धौलागिरी आधार शिविरमा दुई/दुई दुर्घटना भएका छन् । त्यसबाहेक हिमाली र पहाडी भेगमा हेलिकोप्टर दुर्घटनाको घटना धेरै भएका छन् ।
४० दुर्घटनामा मात्र मानवीय क्षति
आन्तरिक उडानतर्फ भएका कुल ७८ दुर्घटनामध्ये ४० वटा दुर्घटना मात्र मानवीय क्षति भएको छ । ३८ वटा दुर्घटनामा मानवीय क्षति भएको छैन । दुर्घटनापछि पनि बढी यात्रु बचाउने एयरक्राफ्ट भने हेलिकोप्टर हो । कुल ३१ हेलिकोप्टर दुर्घटना भएकोमा १३ दुर्घटनामा मात्र मानवीय क्षति भएको छ । ४७ हवाईजहाज दुर्घटनामध्ये भने २७ दुर्घटनामा यात्रुले ज्यान गुमाउनुपरेको छ ।
एक दुर्घटना १४ वर्षदेखि रहस्यमय
सोलुखुम्बुस्थित मकालु बेस क्याम्पबाट ७ यात्रु र ४ चालक दलका सदस्यसहित हराएको एसिएन एयरलाइन्सको एमआई–१७ हेलिकोप्टर अझै पनि बेपत्ता छ । यो हेलिकोप्टर सन् २००२ मा बेपत्ता भएको थियो । एसिएन एयरलाइन्स अहिले बन्द भइसकेको छ, तर यो दुर्घटनाको रहस्य भने अझै पनि खुल्न सकेको छैन । २० साउनमा हुम्लास्थित कर्णाली नदीमा आकस्मिक अवतरण गरेको मकालु एयरको जहाज नदीमा बेपत्ता छ । उक्त जहाजका पाइलट र को–पाइलट भने पौडेर बााच्न सफल भएका छन् ।
मानवीय कारणले धेरै दुर्घटना
नेपाली भूमिभित्र भएका दुर्घटनापछि जाँच आयोग गठन गर्नुपर्ने प्रावधान छ । ती आयोगले आफ्नो क्षमताले भ्याएसम्म प्रतिवेदन तयार पारी बुझाउने गर्छन् । पछिल्लो एक दशकयता दुर्घटनापछि गठित आयोगका प्रतिवेदनहरूले दुर्घटनामा मानवीय कारणलाई मुख्य मानेका छन् । दुर्घटनामा नेपालको भूगोल र मौसमको पनि उत्तिकै हात देखिन्छ । नेपालमा दुर्घटनापछि ल्ब्याकबक्समा रेडर्क चालक दलका सदस्यको बोली, प्रत्यक्षदर्शीको भनाइलगायतलाई आधार मानेर धेरै दुर्घटनाको जाँच हुने गरेको छ । तर, दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन भने जटिल प्रकारको अध्ययन–अनुसन्धान आवश्यक हुने विज्ञहरू बताउँछन् । जुन आर्थिक तथा प्राविधिक कारणले नेपालमा सहज छैन ।
अधिक दुर्घटनासागै यी कम्पनी बन्द भए
नेपाल एयरवेज, एभरेष्ट एयर, नेकोन एयर, स्काइलाइन एयरवेज, गोर्खा एयरलाइन्स, कस्मिक एयर, सांग्रिला एयर, अग्नि एयर, हिमालयन हेलिकोप्टर, कर्णाली एयर, एसिएन एयरलाइन्स, मनकामना एयरवेज, हेलिहन्सा सर्भिस
नेपालमा कुल हवाई दुर्घटना
४७ (हेलिकोप्टरबाहेक)
मानवीय क्षति भएका दुर्घटना : २७
मानवीय क्षति नभएका दुर्घटना : २०
नेपालमा कुल हेलिकोप्टर
दुर्घटना : ३१
मानवीय क्षति भएका हेलिकोप्टर दुर्घटना : १३
मानवीय क्षति नभएका हेलिकोप्टर दुर्घटना : १८
दुर्घटना घटाउन के गरिरहेको छ प्राधिकरण ?
देभेन्द्र केसी, प्रवक्ता
नेपाल नागरिक उड्ययन प्राधिकरण
हवाई उडानका सन्दर्भमा नेपालका आफ्नै विशेषता छन् । नेपालका विमानस्थल देखेपछि विश्वका कतिपय अनुभवी पाइलटसमेत तर्सिन्छन् । उपत्यकाबाहिर मात्र होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउन पनि डराउने गरेका छन् । यस अवस्थामा नेपालको भूगोल, मौसम र पूर्वाधारले दुर्घटनामा भूमिका खेल्छ । यो सबैबाट बच्दै सुरक्षित सेवा दिनुचाहिँ हाम्रो मानवीय दायित्व हो ।
यसैक्रममा प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का प्रावधानलाई कडाइका साथ लागू गरिरहेको छ । दुर्घटना न्यूनीकरणमा निजी कम्पनीका सञ्चालक, पाइलट, प्राविधिक सबै गम्भीर हुनुपर्छ । कुनै पनि प्रकारको जोखिम लिनु हवाई क्षेत्रमा अपराध मानिन्छ । कानुनलाई कडाईका साथ पालना गराउनेतर्फ प्राधिकरण
सक्रिय छ ।
- See more at: http://www.enayapatrika.com/2016/08/83704#sthash.XqzXkzmy.dpuf

Comments