तारा एयर दुर्घटना प्रतिवेदन भन्छ : जहाजमा जडित नयाँ प्रविधिप्रति पाइलटको बेवास्ता

तारा एयर दुर्घटना प्रतिवेदन भन्छ : जहाजमा जडित नयाँ प्रविधिप्रति पाइलटको बेवास्ता

अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, १७ साउन
१२ फागुन २०७२ (२४ फेब्रुअरी) मा भएको तारा एयरको जहाज दुर्घटना छानबिन आयोगले दुर्घटना हुनुमा चालकको त्रुटि औाल्याएको छ । अत्याधुनिक जहाजमा जडित उपकरण र प्रविधिले दिएका निर्देशन तथा चेतावनीलाई बेवास्ता गर्दै जहाज उडाउँदा दुर्घटना भएको प्रतिवेदनको निष्कर्ष छ । ‘पूर्वनिर्धारित उडान मार्गबाट जहाज बिचलन भएपछि जहाजमा जडित उपकरणले जनाउ संकेत दिएको थियो,’ आइतबार प्रतिवेदन सार्वजनिक गर्दै आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने, ‘तर, पाइलटले संकेतलाई पूरै बेवास्ता गरेको देखिन्छ ।’ नयाँ प्रविधियुक्त जहाज भित्र्याएपछि चालक दलका सदस्यलाई कम्पनीले पर्याप्त तालिम उपलब्ध नगराएको पनि देखिएको छ ।
खराब मौसममा उडाउने गलत निर्णय
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको भाइकिङ डिएचसी–६/४०० (९–एचएच) जहाज म्याग्दी जिल्लाको दाना गाविसस्थित सोलीघोप्टे भीरमा दुर्घटना भएको थियो । उक्त दिन बिहानैदेखि मौसम बिग्रिएको र बिग्रादो मौसमलाई बेवास्ता गर्दै जहाज उडाउने चालक दलको निर्णयले अन्तत: दुर्घटना निम्तिएको प्रतिवेदनले उल्लेख गरेको छ । ‘पोखरादेखि जोमसोमका लागि नियमित उडानका क्रममा ‘ल्यान्डस्लाइड’ भन्ने बिन्दुलाई आधार मान्ने गरेका चालकले अर्कै बिन्दुलाई ‘ल्यान्डस्लाइड’ मान्ने भ्रम परेको देखिन्छ,’ आयोगका अध्यक्ष राजेशराज दलीले भने, ‘त्यस क्रममा चालकले जमिनको उपस्थिति जनाउने यन्त्र (इजिपिडब्लुएस) र सचेत गराउने आवाजको संवेदनशीलता बुझेको पाइएन ।’ जाँच आयोगका सदस्यहरूका अनुसार जहाज दुर्घटनामा पर्नुभन्दा १ मिनेटअगाडि नै जहाजमा जडित उपकरणले दिएका संकेत पालन गरेको भए दुर्घटनाबाट बच्न सक्ने सम्भावना थियो ।
जहाजमा कुनै खराबी थिएन
२६ जुन २०१५ मा निर्माण भएको जहाज तारा एयरले १३ अगस्ट २०१५ मा काठमाडौं ल्याएको थियो । दुर्घटनामा पर्नुअघि २ सय ७० घन्टा मात्र उडेको जहाजमा कुनै खराबी नदेखिएको प्रतिवेदनले उल्लेख गरेको छ । २१ फ्रेब्रुअरी (दुर्घटना पर्नुभन्दा २ दिनअगाडि) मा विस्तृत चेकजाँच गरिएको जहाजमा अहिले संसारका जहाजहरूमा उपलब्ध धेरै सुविधा जडान थिए । ‘यसबाट नेपालजस्ता मुलुकमा पुराना जहाजबाट मात्र दुर्घटना हुन्छन् भन्ने भ्रम हटेको छ,’ आयोगका सदस्य श्रवण रिमालले भने, ‘उपलब्ध सुविधाको भरपूर प्रयोग गर्ने क्षमताको विकास पनि सँगसँगै हुनुपर्छ ।’ प्रतिवेदनले मानवीय त्रुटिकै कारण तारा एयर दुर्घटनामा परेको निष्कर्ष निकालेको छ । ‘बिग्रादो मौसमको अवस्थामा मानव–यन्त्र सहकार्यको मूल्यांकन गर्दा मानवीय त्रुटिका कारण यो हवाई दुर्घटना भएको ठम्याइ छ,’ रिमालले भने । जहाजको ककपिटसमेत अत्याधुनिक सुविधासम्पन्न रहेको प्रतिवेदनमा उल्लेख छ ।
व्यवस्थापनले पाइलटलाई तालिम दिएन
दुर्घटनाका सहायक कारण 
प्रतिवेदनले दुर्घटनामा मुख्य कारण चालक दलले अप्ठ्यारो परिस्थितिमा उपलब्ध स्रोतसाधनको उपयोग गर्न नसकेको कारणलाई मानेको छ भने आफूले भित्र्याएका जहाजमा उपलब्ध सेवासुविधाबारे पाइलट र चालक दलका सदस्यलाई दक्ष बनाउन नसक्नुमा कम्पनीको कमजोरी औाल्याएको छ । पोखरा र जोमसोमको मौसमलाई आधार मानेर उडान अनुमति दिने नियामक निकायको समेत दुर्घटनामा कमजोरी देखिएको छ । ‘पोखरा–जोमसोम रुटमा मौसम र सूचना आदानप्रदान गर्न पर्याप्त उपकरण नहुँदा धेरै जहाज दुर्घटनामा पर्ने गरेको देखिन्छ,’ आयोगका सदस्य दीपक बास्तोलाले भने । दुर्घटनामा चालक दलका तीन सदस्यसहित २३ जनाको निधन भएको थियो ।
दुर्घटनाका कारण
  • चालकलाई तत्कालीन वस्तुस्थितिको जानकारी कम हुनु
  • खराब मौसम
  • चुनौतीपूर्ण अवस्थामा प्रयोग हुने दक्षता देखाउन नसक्नु
  • आकस्मिक उडानका वेला जहाजमा उपलब्ध स्रोतको भरपूर प्रयोग गर्ने क्षमताको कमी
  • दृष्टियोग्य उडान नियम (भिएफआर)को बेवास्ता
तारा एयरलाई सुझाब
  • उपत्यकाबाहिरका गन्तव्यमा जहाज मर्मत सुविधा विस्तार गर्ने
  • नयाँ प्रविधियुक्त जहाज भित्र्याएपछि चालक दलका सदस्यलाई पर्याप्त तालिम उपलब्ध गराउने
  • भिएफआर नियम कडाइका साथ लागू गर्ने
  • मौसमको चुनौतीलाई बेवास्ता गर्न नहुने
नागरिक उड्डयन प्राधिकरणलाई सुझाब
  • हवाई सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्ने
  • रुटहरूमा सूचना र मौसमी जानकारी दिने उपकरण जडान गर्न सहयोग गर्ने
  • दक्षता अभिवृद्धिका लागि तालिमको व्यवस्था
मन्त्रालयलाई सुझाब
  • स्थायी दुर्घटना छानबिन आयोगको व्यवस्था गर्ने
  • यस्ता आयोगलाई पर्याप्त स्रोत (आर्थिक, प्राविधिक र अन्य जनशक्ति) उपलब्ध गराउने
  • मन्त्रालयले हवाई सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन भए–नभएको सम्बन्धमा प्राधिकरण तथा सेवा प्रदायक कम्पनीहरूको नियमित नियमन गर्नुपर्छ
  • मौसमी जानकारी भरपर्दाे बनाउन सरोकारवालासँग सहकार्य गर्ने
- See more at: http://www.enayapatrika.com/2016/08/79456#sthash.Of9S0QtJ.dpuf

Comments