गौतमबुद्ध विमानस्थल आयोजनालाई निर्माण सामग्री अभाव

अच्युत पुरी/नयाँ पत्रिका 
काठमाडौं, २७ जेठ । 
नदीजन्य पदार्थ (गिट्टी, ढुंगा, बालुवा)को अभावले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा असर परेको छ । सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका लागि ६ लाख घनमिटर गिट्टी–ढुंगा आवश्यक पर्छ । तर, अहिलेसम्म ३० हजार घनमिटरको मात्र जोहो भएको विमानस्थल आयोजना प्रमुख ओम शर्माले जानकारी दिए । ‘कुल आवश्यकताको १० प्रतिशतमात्र नदीजन्य पदार्थको जोहो भएको छ,’ उनले भने, ‘गिट्टी बालुवाको अभावमा निर्माण कम्पनीले आयोजनास्थलमा जडान गरेका निर्माण उपकरण पूर्ण क्षमतामा चल्न सकेका छैनन् ।’ निर्माण कम्पनीले सम्झौता गर्दा प्रतिबद्धता गरेभन्दा दोब्बर क्षमतामा निर्माण उपकरण राखेर काम गरिरहेको शर्माले जानकारी दिए । 
वेलैमा काम सक्न दैनिक २ सय ट्रकले ओसार्नुपर्छ 
आयोजनाअन्तर्गत भौतिक संरचना बनाउने काम निर्धारित समयमा सक्न दैनिक २ सय ट्रकले निर्माण सामग्री ओसार्नुपर्छ । तर, कच्चा पदार्थको जोहो नै नभएपछि तत्काल उक्त क्षमतामा निर्माण सामग्री ल्याउन सम्भव नभएको आयोजनाको भनाइ छ । भूकम्प र नाकाबन्दीका कारण यसै पनि करिब ६ महिना पर सकिसकेको काम निर्माण सामग्री अभावले अझ प्रभावित बनाउन सक्ने चिन्ता आयोजनाको छ । भदौसम्म समस्या समाधान नभए निर्माण प्रभावित गिट्टी–बालुवाको अभाव भैरहवामा सञ्चालित अन्य अयोजनाको समेत साझा समस्या हो । आयोजना प्रमुख शर्माका अनुसार भैरहवामा सञ्चालित सडक आयोजना, बृहत्तर लुम्बिनी आयोजना र विमानस्थल आयोजना निर्माण सामग्रीको अभाव भोग्न बाध्य छन् । अहिले जोहो भएको गिट्टी–बालुवाले भदौसम्म काम गर्न सकिने र त्यसपछि पनि समस्या यथावत रहे निर्माण प्रभावित हुने आयोजनाको निष्कर्ष छ । 
अन्तरनिकाय समन्वयको अभाव 
रुपन्देही जिल्लामा सञ्चालित ठूला आयोजनाका लागि देवदहस्थित घोडाहा खोलाबाट निर्माण सामग्री ल्याउन जिल्ला विकास समितिले स्वीकृति दिएको छ । आयोजनाहरूले जिविससँगै वातावरण मन्त्रालय, वन मन्त्रालय, राष्ट्रपति चुरे संरक्षण आयोजनाजस्ता निकायसँग पनि समन्वय गर्नुपर्छ । आयोजना प्रमुख शर्माका अनुसार एक निकायबाट स्वीकृति पाउँदा अर्को निकायबाट अवरोध सिर्जना हुने परिपाटीले समस्या सिर्जना गरिरहेको छ । नदीबाट निर्माण सामग्री निकाल्दा कामदारले हाते औजार प्रयोग गर्नुपर्ने कानुनी प्रावधानले पनि आयोजनाको कामलाई प्रभावित बनाएको छ । ‘एक त घरेलु औजार प्रयोग गरी एकसाथ ठूलो परिमाणमा सामग्री निकाल्न सकिँदैन,’ शर्माले भने, ‘अर्कोतर्फ कामदार अभावको समस्या विकराल छ ।’ आयोजनामा अहिले ३ सयहाराहारी कामदार खटिएका छन् । मन्त्रिपरिषद्बाट गत माघमा आयोजनाका लागि आवश्यक निर्माण सामग्रीको अभाव हुन नदिने निर्णय भएको भए पनि ऐन–नियममा परिमार्जन नभएपछि समस्या आएको शर्माको भनाइ छ । आयोजनाले स्थानीयस्तरमा सरोकारवालाबीच समन्वय गर्ने एक समिति बनाएर रोयल्टीदेखि निर्माण सामग्री उपलब्ध गराउने सम्बन्धमा देखिएका समस्या सल्टाउनुपर्ने प्रस्ताव गरेको छ । 
गौतमबुद्ध विमानस्थल आयोजनालाई निर्माण सामग्री अभाव
२० प्रतिशत काम सकियो 
आयोजनाअन्तर्गत ३ हजार मिटर लम्बाइ र ३ सय मिटर चौडाइको धावनमार्ग सफ्टवेयर (माटो बिच्छ्याउने)को काम सकिएको छ । आयोजना प्रमुख शर्माका अनुसार टर्मिनल भवन र प्रशासकीय भवनको पनि जमिनसतहभन्दा तलको काम सम्पन्न भइसकेको छ । माटो बिच्छ्याइएको धावनमार्गमा वर्षाअघि नै गिट्टीबालुवाको एक तह बिच्छ्याउने लक्ष्य राखिएको छ । जसले गर्दा  वर्षाको समयमा पनि निर्माणको काम रोकिँदैन । भवन निर्माणलाई भने वर्षाले असर नगर्ने शर्माको भनाइ छ । विमानस्थलको शिलान्यास तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ २०७१ मा गरेका थिए । आयोजना प्रमुख र नेपाल सरकारबीचको सम्झौताअनुसार आर्थिक वर्ष २०७२/७३ को अन्त्यसम्म २५ प्रतिशत काम सम्पन्न गर्नुपर्छ । यस अवधिमा काम भने २० प्रतिशत हाराहारी भएको आयोजना प्रमुख ओम शर्माले जानकारी दिए । भूकम्प र नाकाबन्दीको अवधिमा करीव ६ महिना प्रभावित भएपनि बेलैमा काम गर्ने प्रतिवद्धता अनुसार ठेकेदार कम्पनी लागिपरेको उनको भनाइ छ । 
बजेटमा ७ अर्ब 
सरकारले विमानस्थलका लागि आर्थिक वर्ष २०७३/७४ मा ७ अर्ब २२ करोड रुपैयाँ छुट्याएको छ । आयोजना समयमै पूरा गर्ने प्रतिबद्धता पनि सरकारको छ । २०३३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतम बुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन पहिलो चरणमा चीनको नर्थवेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँमा ठेक्का पाएको छ । ठेक्का सम्झौताअनुसार सन् २०१७ डिसेम्बर ३१ सम्म विमानस्थल निर्माण गरिसक्ने लक्ष्य छ । यस विमानस्थलका लागि एसियाली विकास बैंक (एडिबी)ले ऋण सहयोग गरेको हो । 
के भन्छ सरकार ?
सबै आयोजनामा जिविसको सहयोग छ  युवराज सुवेदी, स्थानीय विकास अधिकारी, 
रुपन्देही रुपन्देहीका तीनवटा ठूला योजना (६ लेन सडक, लुम्बिनी विकास र गौतम बुद्ध विमानस्थल)ले वैशाखसम्म तिनाउ नदीबाट गिट्टी, ढुंगा, बालुवा प्रयोग गरिरहेका थिए । त्यसका लागि जिल्ला विकास समिति रुपन्देहीको सहयोगमा नियमित आपूर्ति भइरहेको थियो । तर, ठूला आयोजनालाई एकैपटक ठूलो परिमाणमा सामग्री उपलब्ध गराउन नसक्ने समस्या आएपछि घोडाहा खोलाको अध्ययन थालिएको थियो । त्यस क्रममा तीनवटै आयोजनाले क्षेत्र नापजाँच पनि गरेका थिए । तर, त्यो खोलामा स्थानीय बासिन्दाबाट अवरोध भयो । यस खोलाबाट ढुंगा, बालुवा निकाल्नेसम्बन्धी प्रस्ताव अहिले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समितिमा पुगेको छ । समितिको निर्णय नआएका कारण तत्काल घोडाहा खोलाबाट ढुुंगा गिट्टी निकाल्न नमिलेको हो । हामीले जिल्लाका सबै आयोजनालाई सहयोग गरेका छौँ । तर, ठूला आयोजनालाई एकै स्थानमा ठूलो परिणामको सामग्री उपलब्ध गराउन समस्या पर्नु स्वाभाविक हो ।
के भन्छन् विज्ञ ?
निर्माण थाल्नुअघि नै चासो लिनुपर्छ  यज्ञप्रसाद गौतम, पूर्वपर्यटनसचिव 
विमानस्थल निर्माणमा बालुवा तथा गिट्टी विशेष प्रकारको हुनुपर्छ । सामान्यतया सडक या घर बनाउँदा प्रयोग हुने भन्दा विशिष्ट गुणस्तरको सामग्री यसमा प्रयोग गनुर््पर्छ । त्यसकारण जहाँ पायो त्यहीँको सामग्री विमानस्थलमा प्रयोग गर्न मिल्दैन । सोहीकारण यस्ता ठूलो आयोजनाको डिजाइन गर्ने वेला नै विमानस्थल बनाउन चाहिने कच्चा पदार्थ कहाँबाट ल्याउने, कति परिणाममा ल्याउने, त्यस क्रममा के–के समस्या छन्, त्यसको पहिचान गर्दै समाधानका उपाय निकाल्नतर्फ लाग्नुपर्छ । हाम्रोमा आयोजना निर्माणको काम थाल्नुभन्दा अगाडि यस्ता पक्षमा संवेदनशील नहुने र पछि समस्या देखिएपछि पछुताउने प्रचलन छ । खासगरी अन्तरनिकाय समन्वयको अभाव यस्ता आयोजनाले भोगिरहेका छन् । पूर्वतयारी नगरेर एकपल्ट त गल्ति भइसक्यो, त्यो गल्तिलाई सरोकारवाला निकायहरू बसेर सल्टाउने हो भने ठूलो आयोजनालाई समयमै सम्पन्न गर्न सहयोग पुग्छ । 
 http://www.enayapatrika.com/2016/06/68317#sthash.alGOTHY0.AePAjNz8.dpuf

Comments