अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, २७ जेठ ।
सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन कम्पनीमा परिणत गर्दै रणनीतिक साझेदार वा व्यवस्थापन करारबाट सञ्चालन गर्ने योजना बनाएको छ । हरेक वर्ष सरकारले प्रस्तुत गर्ने बजेट भाषणमा नेपाल वायुसेवा निगमलाई कुनै न कुनै रूपमा सम्बोधन गरिएको छ । त्यसमध्ये निगमलाई थप जहाज उपलब्ध गराउने र व्यवस्थापन सुधार गर्न रणनीतिक साझेदार भित्र्याउने नारा समेटिने गरेको छ । सोहीबमोजिम कैयौँ अध्ययन प्रतिवेदन तयार भए पनि अहिलेसम्म ठोस काम भने हुन नसकेको निगमका अधिकारी बताउँछन् ।
२०५८ सालदेखिको चर्चा
निगम कर्मचारीका अनुसार नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउँदै निजीकरणको प्रक्रियामा जाने अवधारणा २०५८ सालदेखि नै चर्चामा ल्याइएको हो । पर्यटन मन्त्रीहरूले लोकप्रियताका लागि निगममा रणनीतिक साझेदार भित्र्याउने कार्यक्रम समावेश गर्ने तर कार्यान्वयनका लागि ठोस योजना नबनाउने प्रवृत्तिले नारामा मात्र सीमित हुने गरेको कर्मचारीको गुनासो छ । ‘निगमलाई प्रतिस्पर्धी बनाउनुपर्छ भन्नेमा दुईमत छैन,’ निगमका कर्पोरेट विभाग प्रमुख तथा प्रवक्ता रामहरि शर्माले भने, ‘तर, त्यसका लागि कुन उपाय अपनाउने भन्नेतर्फ ठोस निर्णय भएको छैन ।’
करिब एक दर्जन अध्ययन
निगम सञ्चालक समितिका सदस्य निमानुरु शेर्पाका अनुसार निगमको सुदृढीकरण र प्रतिस्पर्धी क्षमता अभिवृद्धिका लागि अहिलेसम्म करिब एक दर्जन अध्ययन भइसकेका छन् । तर, ती अध्ययनका प्रतिवेदनमध्ये कतिपय अध्ययन गर्दा–गर्दै हराउने गरेका छन् भने कतिपय थन्किएर बसेका छन् । ‘पछिल्लो समय निगमलाई २ दर्जनभन्दा बढी ठूला विमान कम्पनीसँग कसरी प्रतिस्पर्धी बनाउने भन्ने सम्बन्धमा छलफल हुने गरेका छन्,’ शेर्पाले भने, ‘त्यसका लागि आवश्यक सबै उपाय अपनाउनुपर्छ भन्ने सञ्चालक समितिको निष्कर्ष छ ।’ निगमका अधिकारीहरू निजीकरण गरिए पनि अत्यधिक सरकारी स्वामित्व रहने भएकाले तत्काल त्यसबाट नतिजा नआउने बताउँछन् । ‘निगममा तत्काल ठूलो पैसा या जहाज लगानी गरेर कुनै निजी कम्पनी आउने सम्भावना छैन,’ एक अधिकारीले भने, ‘जबसम्म सरकारको बहुमत सेयर रहन्छ, तबसम्म उसको प्रभाव रहिरहन्छ ।’ गत वर्ष के काम भयो ? सरकारले आर्थिक वर्ष २०७२/७३ मा पनि निगमका लागि राण्नीतिक साझेदार भित्र्याउने घोषणा गरेको थियो । सोहीबमोजिम निगमले आफ्ना आन्तरिक विभागको सुधारका लागि परामर्शदाता नियुक्त गर्न प्रस्ताव मागेको थियो । प्रस्तावमा २१ कम्पनीको प्रस्ताव परेको भए पनि अन्य प्रक्रिया अगाडि बढेको छैन ।
गन्तव्य विस्तार नगरेसम्म आम्दानी बढ्दैन : कंशाकार
निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले निगमको सुदृढीकरणका लागि जहाज थप गर्दै जानुको विकल्प नरहेको उल्लेख गरेका छन् । ‘निजीकरणपछि पनि गन्तव्य विस्तार नगरेसम्म निगमको आम्दानी बढ्दैन,’ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘त्यसका लागि जतिसक्दो छिटो जहाज थप गर्दै जानुपर्छ ।’ व्यवस्थापन सुधारको काम भने लगातार चलिरहने प्रक्रिया भएकाले निगम यसको अपवाद हुन नसक्ने उनको भनाइ छ ।
http://www.enayapatrika.com/2016/06/68205#sthash.n9XIUxG9.dpuf
Comments
Post a Comment