पर्यटनमा ‘लो सिजन सिन्ड्रोम’

हिमाल आरोहणको सिजन सकिएसँगै नेपालमा आउने पर्यटकको संख्या घटेको छ
अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, ४ असार
वसन्त ऋतुमा हुने पर्वतारोहण पूरा गरी विदेशी पर्यटक आ–आफ्नो मुलुक फिर्ता भएसँगै नेपालको पर्यटन व्यवसायमा ‘लो–सिजन’को प्रभाव देखिन थालेको छ । पर्यटन व्यवसायीले कम पर्यटक भित्रने जुन, जुलाई र अगस्ट गरी तीनवटा महिनालाई अफसिजन मान्ने गरेका छन् । तर, यस मौसममा पनि पर्यटक आगमन शून्यमा नझरी कम मात्र हुने भएकाले सरकारी निकायले भने ‘लो–सिजन’ नामकरण गरेका छन् ।
पर्यटन मन्त्रालयको तथ्यांकअनुसार सन् २०१५ को ‘जुन’ महिनामा १८ हजार पर्यटक नेपाल भित्रिएका छन् । ‘यो तुलनात्मक रूपमा कम पर्यटक आगमन कम हुने मौसम हो,’ नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत (पिआर तथा पब्लिसिटी डिपार्टमेन्ट) सुदन सुवेदीले भने, ‘अफसिजन भनेपछि आगमन नै ठप्प हुनु हो, नेपालमा कुनै पनि महिनामा पर्यटक आगमन शून्यमा झर्दैन ।’ मन्त्रालयको तथ्यांकअनुसार नेपालमा जनवरी–फेब्रुअरी, अप्रिल–मे तथा सेप्टेम्बर–अक्टोबरमा बढी संख्यामा पर्यटक भित्रन्छन् ।
पर्यटनमा ‘लो सिजन सिन्ड्रोम’
पर्यटकीय गन्तव्यको उडान कटौती हुन्छ
वायुसेवा कम्पनीका अनुसार लो सिजनमा आन्तरिक वायुसेवाले मुख्य पर्यटकीय गन्तव्यको उडान कटौती गर्छन् । यस मौसममा लुक्ला, माउन्टेन फ्लाइटजस्ता क्षेत्रको उडान सामान्य अवस्थाको तुलनामा ५० प्रतिशतसम्म घट्ने गरेको छ । ‘जुन, जुलाईमा पर्यटक कम हुने भएकाले पर्यटकीय गन्तव्यका उडान कटौती हुन्छन्,’ वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले भने, ‘तर, वर्षायाममा बाटोघाटोको समस्याका कारण नेपाली यात्रुकै कारण नियमित उडानमा भने फरक पर्दैन । पर्यटक बढेपछि विभिन्न गन्तब्यमा कम्पनीहरूले अतिरिक्त उडान गर्दै आएका छन् ।
होटेल अकुपेन्सी आधा घट्छ
होटेल संघ नेपाल (हान)का अनुसार यतिवेला होटेल अकुपेन्सी दर ३० देखि ३५ प्रतिशतसम्म रहन्छ । पर्यटकीय मौसममा नेपाली होटेलका कोठा ९५ प्रतिशतसम्म भरिने गरेका छन् । ‘पर्यटक घटेपछि त्यसको प्रत्यक्ष प्रभाव होटेलमा देखिन्छ,’ हानका कार्यकारी प्रमुख प्रवेश अर्यालले भने, ‘तर, यो नियमित प्रक्रिया भएकाले होटेलहरूले पूर्वतयारी गरेका हुन्छन् ।’
पर्यटक बढाउने उपाय माइस टुरिजम
नेपाल पर्यटन बोर्डले कुनै पनि मौसममा हुने अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनात्मक गतिविधिलाई निरन्तरता जारी राखेको बताएको छ । वरिष्ठ अधिकृत सुवेदीका अनुसार यस मौसममा वर्षायाम र प्रकृति मन पराउने पर्यटक नेपाल आउँछन् । त्यसबाहेक बोर्डले वर्षायाम नेपालमा माइस टुरिजम (सभा–सम्मेलन)का लागि उपयुक्त हुने सन्देशसहित प्रचार–प्रसार गर्दै आएको उनले जानकारी दिए । यसबाहेक होटेल व्यवसायीहरूले भारत र चीनका पर्यटक लक्षित गर्दै विभिन्न गतिविधि गर्दै आएका छन् ।
पर्यटक चाहेर पनि आउन सकेका छैनन् 
 भरत बस्नेत
वरिष्ठ पर्यटन व्यवसायी
हामीकहाँ पदयात्रा र पर्वतारोहणबाट व्यवस्थित पर्यटनको सुरुवात भएको हो । यी गतिविधि उपयुक्त मौसममा मात्र सम्भव हुन्छन् । अहिले भने सबै मौसममा पर्यटक आउने अवस्था बन्दै गएको छ । नेपालमा सबै मौसममा पर्यटक आउन चाहन्छन् । तर, हामीले नै त्यस प्रकारको वातावरण बनाउन सकेका छैनौँ । वर्षायाममा भारत र चीनबाट बढी पर्यटक ल्याउन सकिन्छ । त्यसअगाडि केही पक्षमा गम्भीर हुनु जरुरी छ । भारत र चीनका नागरिक निकै विलासी भइसकेका छन् । उनीहरू सफासुग्घर वातावरणमा रमाउन चाहन्छन् । हाम्रा सहरबजार फोहोर छन्, बाटाघाटा बिग्रिएका छन्, पानी परेपछि गाउँघरमा जान सक्ने अवस्था रहँदैन । यस अवस्थाको प्रवृत्तिमा सुधार गर्नु अत्यावश्यक छ ।
वर्षायाममा नयाा प्याकेज आउँदैनन्
वर्षायाममा प्रतिकूल मौसमले हवाई यातायात प्रभावित हुने गरेको छ । सडक यातायात पुगे पनि बाटो सहज नभएका गन्तव्यमा पर्यटन व्यवसायीले प्याकेजहरू ल्याउँदैनन् ।  त्यसकारण पनि तुलनात्मक रूपमा कम पर्यटक भित्रने गरेको हो ।
‘लो–सिजन’मा पर्यटक बढाउन भएका प्रयास
  • पोखराका व्यवसायीको भारतमा ‘चलिए पोखरा’ अभियान
  • भारतमै ‘गर्मी मे बेहाल, चलिए नेपाल’ अभियान
  • पर्यटकीय संघसंस्थाका चीन र भारतलक्षित प्रवद्र्धनात्मक अभियान
  • अन्तर्राष्ट्रिय कार्यक्रममा माइस टुरिजमलाई प्राथमिकता

http://www.enayapatrika.com/2016/06/69705#sthash.ovgkJVEX.c9QzynPJ.dpuf

Comments