अब नेपालमै क्यासिनो भिलेज

अच्युत पुरी/नयाँ पत्रिका 
काठमाडौं,२३ जेठ
सरकारले अब नेपालमा क्यासिनो भिलेजको अवधारणा कार्यान्वयनमा ल्याउने भएको छ । पर्यटन विभागले क्यासिनो भिलेजको अवधारणासहित करिब डेढ दर्जन प्रावधान समेटेर ‘क्यासिनो नियमावली ०७०’ माथि संशोधन प्रक्रिया अगाडि बढाएको छ । अहिलेसम्म नेपालमा पाँचतारे होटेल परिसरभित्र मात्र क्यासिनो सञ्चालनमा छन् । ‘विश्वका धेरै मुलुकमा क्यासिनो भिलेजको अवधारणा कार्यान्वयनमा रहेको छ,’ विभागका निर्देशक दुर्गादत्त ढकालले भने, ‘अब यसको अभ्यास नेपालमै हुनेछ ।’ विभागले सरोकारवालासँगको छलफलपछि संशोधनको ड्राफ्ट तयार पारेको छ । ड्राफ्ट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पुगेर पारित भएपछि कार्यान्वयनमा आउनेछ । 
अब नेपालमै क्यासिनो भिलेज
संसदीय समितिको निर्देशन 
व्यवस्थापिका संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले क्यासिनोका लागि बेग्लै स्थान निर्धारण गरी सञ्चालनको अनुमति दिन मन्त्रालयलाई निर्देशन दिएको थियो । सोही निर्देशन कार्यान्वयन गर्दै क्यासिनो भिलेजसहितको प्रावधान नियमावलीमा समेट्न लागिएको विभागको भनाइ छ । तत्कालका लागि पाँचतारे होटेल परिसरभित्र सञ्चालित क्यासिनो त्यहीँबाट सञ्चालन हुने र नयाँ खुल्ने क्यासिनोको हकमा भने नियमावलीको प्रावधान लागू हुनेछ । समितिले करिब १ वर्ष अगाडि एक उपसमिति नै बनाएर नेपालमा क्यासिनो सञ्चालन सम्बन्धमा अध्ययन गरेको थियो । 
के हो क्यासिनो भिलेज 
एक बेग्लै स्थान निर्धारण गरेर क्यासिनो सञ्चालन गर्ने अवधारणा नै क्यासिनो भिलेज हो । विभिन्न स्थानमा छरिएर रहेका क्यासिनोलाई एकै स्थानमा सञ्चालन गर्ने र त्यसमा निश्चित स्थान छुट्याउनु नै क्यासिनो भिलजको अवधारणा हो । विश्वका विकसित मुलुकमा क्यासिनो भिलेज मापदण्डअनुसार सञ्चालनमा छन् । संयुक्त राज्य अमेरिकाको लस भेगास, भारतको गोवा, मकाउजस्ता क्षेत्रहरू क्यासिनो भिलेजकै कारण विश्वमा चर्चित छन् । यस अवधारणाअनुसार सञ्चालित क्यासिनाको नियमन, नियन्त्रण र व्यवस्थापन सहज हुने विभागको भनाइ छ । 
यी हुन् मुख्य संशोधन 
सरकारले क्यासिनोमा नेपालीलाई प्रवेश निषेध, इजाजतपत्रको अवधि एक वर्ष, निर्धारित अवधिभित्र रोयल्टी बुझाउनुपर्नेलगायत प्रावधान समेटेर नियमावली संशोधन गर्दै छ । 
अन्तर्राष्ट्रिय सीमाबाट दुई किलोमिटर दूरी 
क्यासिनो नियमावली २०७० अनुसार क्यासिनो रहेको स्थल अन्तर्राष्ट्रिय सिमानाबाट पाँच किलोमिटरभन्दा टाढाको दूरीमा हुनुपर्छ । संशोधनले उक्त दूरी दुई किलोमिटरमा झार्दै छ । खासगरी मिनी क्यासिनो सञ्चालकहरूको सुझाबका आधारमा विभागले दूरी घटाउन लागेको हो । 
एक इजाजतपत्रबाट एक मात्र क्यासिनो 
यसअघि एउटा इजाजतपत्रबाट पाँचवटासम्म मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने) सञ्चालन गर्न सकिने प्रावधान थियो । सरकारले आर्थिक विधेयकमार्फत एउटा इजाजतपत्रबाट एक स्थानमा मात्र त्यस्तो खेल सञ्चालन गर्न पाउने प्रावधान ल्याएको छ । 
मिनी क्यासिनोको रोयल्टी ७५ लाख 
क्यासिनो नियमावलीअनुसार क्यासिनो सञ्चालन गरेबापत ३ करोड रुपैयाँ र मिनी क्यासिनोले २ करोड रुपैयाँ तिर्नुपर्ने प्रावधान थियो । तर, मिनी क्यासिनोको हकमा भने एक इजाजतबाट पाँचवटासम्म क्यासिनो सञ्चालन गर्न पाइने प्रावधान थियो । आर्थिक विधेयकमार्फत सरकारले क्यासिनोको रोयल्टी कायम राख्दै मिनी क्यासिनाको रोयल्टी भने ७५ लाख रुपैयाँ कायम गरेको छ । 
http://www.enayapatrika.com/2016/06/67606#sthash.Zd1Pk0I9.dpuf

Comments