मनसुनका कारण आन्तरिक उडान प्रभावित

मनसुन सुरु भएपछि मौसम प्रतिकूलहुँदा आन्तरिक उडान अत्यधिक प्रभावित, उडान संख्यामा कटौती 
अच्युत पुरी/नयाँ पत्रिका 
काठमाडौं, १३ असार  
मनसुन सुरु भएसँगै मुलुकका विभिन्न स्थानमा हुने आन्तरिक उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मनसुनसँगै काठमाडौंबाट पहाडी तथा हिमाली क्षेत्रमा रहेका विमानस्थलमा हुने उडान कटौती दर अत्यधिक हुने गर्छ । नियमित तालिकामा राखिएका धेरै उडान रद्द हुन्छन् भने निर्धारित समयभन्दा ढिला उड्ने सम्भावना पनि अत्यधिक हुने गरेको छ । पानी पर्न थालेपछि कच्ची विमानस्थलहरू असारदेखि भदौसम्म बन्द हुने गरेका छन् । 
मनसुनका कारण आन्तरिक उडान प्रभावित
दैनिक ९० उडान ६५ मा झर्‍यो 
कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक औसत ६० देखि ६५ वटासम्म आन्तरिक उडान हुने गरेका छन् । सामान्य अवस्थामा औसत दैनिक ९० उडान र सोही संख्यामा अवतरण हुने गरेको छ । ‘विमानस्थल सञ्चालनको इतिहासमा सबैभन्दा धेरै उडान रद्द, कटौती र डिलेको समस्या मनसुनमै हुने गर्छ,’ विमानस्थलका प्रवक्ता भोला गुरागाईंले भने, ‘यसमा मौसम नै मुख्य कारण हो । 
कसरी असर गर्छ मनसुनले ? 
प्राविधिकका अनुसार मनसुनको समयमा पाइलटले कुनै जोखिम उठाउने आँट गर्दैनन् । छिनछिनमा परिवर्तन हुने मौसमले जहाज उडिसकेपछि पार्न सक्ने समस्याको आँकलनपछि मात्र जहाज उडाइन्छ । मनसुनमा सबैभन्दा जोखिम ‘इनरुट’ मौसम खराबीको अवस्था हो । उड्ने विमानस्थल र पुग्ने विमानस्थलको मौसम राम्रो हुँदाहुँदै पनि हवाई रुटको मौसममा आउने आकस्मिक खराबीले उडानमा समस्या सिर्जना गर्छ । पहाडी इलाकाका विमानस्थलमा कुहिरोका कारण कम भिजिबिलिटी, कच्ची विमानस्थलमा धावनमार्ग बिग्रने समस्याले पनि आन्तरिक उडान प्रभावित हुने गरेको सौर्य एयरलाइन्सका अपरेटिङ म्यानेजर घनश्याम आचार्यले जानकारी दिए । 
अधिकांश माउन्टेन फ्लाइट रद्द 
वायुसेवा प्रदायक कम्पनीहरूका अनुसार मनसुनमा सबैभन्दा बढी माउन्टेन फ्लाइट रद्द हुन्छन् । एकातर्फ कम पर्यटक हुने र मौसमले पनि साथ नदिएपछि मनसुन अवधिभर माउन्टेन फ्लाइट न्यून हुने गरेको सिम्रिक एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाको भनाइ छ । ‘काठमाडौंबाट पोखरा, लुक्लाजस्ता गन्तव्यमा निर्धारित धेरै उडान रद्द हुन्छन्,’ थापाले भने, ‘यसलाई कम्पनीहरूले असामान्य अवस्था मानेर सोहीअनुसार व्यवस्थापन गर्छन् ।’ 
अन्तर्राष्ट्रिय उडान सामान्य 
मनसुनले आन्तरिक उडानलाई असर गरे पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य छ । विमानस्थल कार्यालयका अनुसार अहिले दैनिक औसत ३५ उडान र सोही संख्यामा अवतरण भइरहेको छ । अकस्मात् बदली हुने मौसमले कुनै समय ढिला उड्ने, आएको जहाज डाइभर्ट गर्नु परे पनि समग्रमा अन्तर्राष्ट्रिय उडानका जहाजलाई असर नगरेको विमानस्थलका प्रवक्ता गुरागाईंले जानकारी दिए । विमानस्थलमा कति भिजिबिलिटी हुँदा उडान–अवतरण गर्ने भन्ने सम्बन्धमा अन्तर्राष्ट्रिय कम्पनीले आफ्नै मापदण्ड बनाएका हुन्छन् । त्रिभुवन विमानस्थलमा उक्त मापदण्डअनुसारको भिजिबिलीटी पुगेन भने विमान नेपालको नजिकका अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट हुन्छन् । 
लुक्लामा रोकिए दुई सय पर्यटक 
सोलुखुम्बु/ लगातार १२ दिनदेखि लागेको बाक्लो हुस्सु तथा वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध हुादा त्यहाा २ सयभन्दा बढी पर्यटक रोकिएका छन् । सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाडौं फर्कन लागेका ती पर्यटक विमानस्थलमा विमान आउने आशा गर्दा गर्दै रोकिएका हुन् । लुक्लाका पर्यटन व्यवसायी आङनुर्बु शेर्पाका अनुसार कतिपय पर्यटक आफ्नो देश फर्कने हवाईजहाजको टिकट बुकिङ गरिसकेका कारण समस्या भएको बताउाछन् । कतिपयलाई खर्चको समेत अभाव भएको छ । यही असार १ गतेदेखि बाक्लो हुस्सु लागेका कारण विमानस्थल अवरुद्ध भइरहेकाले कतिपय पर्यटक भने लुक्लाबाट तीन दिनको पैदल यात्रा गरी सल्लेरीबाट बसमार्फत काठमाडौं फर्कन हिाडेका पथ प्रदर्शक रोजन मगरले बताए । बाक्लो हुस्सुका कारण सदरमुकामस्थित फाप्लु विमानस्थल पनि असार १ गतेदेखि अवरुद्ध भएको छ । 
 http://www.enayapatrika.com/2016/06/71184#sthash.xOsYJgfv.9j39i4iP.dpuf

Comments