अन्तर्राष्ट्रिय विमानस्थल विस्तार कछुवा गतिमा


मार्च २०१६ सम्म पूरा गर्नुपर्ने कामको प्रगति निकै सुस्त, कम्पनीसँगको ठेक्का निरन्तरता दिने या नदिने भन्नेमा सरकार अलमलमा

अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, ९ असार

स्पेनिस निर्माण कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले प्रतिबद्धताअनुसार नतिजा दिन नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना प्रभावित बनेको छ । निर्माण कम्पनी सान्जोसेले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सम्झौताअनुसार मार्च २०१६ सम्म शतप्रतिशत पूरा गर्नुपर्ने कामको प्रगति निकै सुस्त देखिएपछि सरकार यतिवेला कम्पनीसँगको ठेक्कालाई निरन्तरता दिने या नदिने भन्नेबारे अलमलमा छ ।
लक्ष्य १०० प्रतिशत, प्रगति १६ प्रतिशत 
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आयोजनाको पहिलो चरणको काम मार्च २०१६ सम्म पूरा गर्ने गरी सान्जोसेले ठेक्का पाएको थियो । तर, सो अवधिमा केवल १६ प्रतिशत मात्र काम सम्पन्न भएको प्रतिवेदन आयोजना कार्यालयसँग छ । निर्माण कम्पनीको कार्यशैलीबाट आयोजना, नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका अधिकारी सन्तुष्ट छैनन् ।

म्याद थप र क्षतिपूर्तिको बार्गेनिङ गर्दै कम्पनी
निर्माण कम्पनीले पटकपटकको बन्द–हडताल, भूकम्प र नाकाबन्दीलाई कारण देखाउँदै निर्माण समयमै पूरा गर्न नसकिएको दाबी गर्दै आएको छ । स्रोतका अनुसार कम्पनीले प्राधिकरणका अधिकारीहरूसँगको छलफलमा कुल लागतको ५० प्रतिशतसम्म क्षतिपूर्ति पाउनुपर्ने माग गर्न थालेको छ । ‘कम्पनीका मान्छेहरू बार्गेनिङ गरिरहेका छन्,’ प्राधिकरणका एक अधिकारीले भने, ‘तर, उसलाई परेको वास्तविक मर्काभन्दा बढी क्षतिपूर्ति र समय उपलब्ध गराउन सक्ने अवस्था छैन ।’

ठेक्का अवधि लम्ब्याउने मनसायमा प्राधिकरण 
विमानस्थल विस्तार आयोजनाको पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा काम प्रभावित हुने भन्दै प्राधिकरण सान्सोजेसँगको ठेक्का अवधि लम्ब्याउने मनसायमा पुगेको छ । पछिल्लो केही दिनयता कम्पनीले अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको काम थालेपछि प्राधिकरणका अधिकारीहरू पुरानै कम्पनीबाट आयोजना अगाडि बढाउने मनसायमा पुगेका हुन् । ‘पुरानो ठेक्का तोडिने सम्भावना छैन,’ प्राधिकरणका एक अधिकारीले भने, ‘कम्पनीलाई परेको वास्तविक मर्का सम्बोधन गर्न भने सरकार तयार छ ।’

विस्तारअन्तर्गत के–के काम हुादै छ ? 
कम्पनीले डिसेम्बर २०१२ मा तीन वर्षभित्र सक्ने गरी त्रिभुवन विमानस्थलको कोटेश्वरतर्फ ३ सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ एप्रोन निर्माण र अन्तर्राष्ट्रिय उडानका यात्रुको ब्यागेज ओसार्ने (कन्भेयर बेल्ट) निर्माण, अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणलगायत जिम्मा पाएको थियो । विमानस्थल विस्तार आयोजनामा करिब २० लाख घनमिटर माटो बाहिरबाट ल्याउनुपर्ने आवश्यकता छ । त्यसमध्ये हालसम्म ४ लाख घनमिटर मात्र माटो आइसकेको छ । विमानस्थल विस्तारका क्रममा पशुपति विकास कोषको जग्गाबाट माटो ल्याइएको भए पनि विवाद उत्पन्न भएपछि काम प्रभावित भएको थियो ।

मार्च २०१३ बाट काम थालेको सान्जोसेले मार्च २०१६ भित्र जिम्मेवारी पूरा गर्ने गरी प्राधिकरणसँग सम्झौता गरेको थियो । सान्जोसे र प्राधिकरणबीच संरचना निर्माणका लागि ६ करोड १० लाख अमेरिकी डलरको सम्झौता भएको थियो । एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा विमानस्थल विस्तारको काम प्रारम्भ भएको हो । अन्तर्राष्ट्रिय विमानस्थल विस्तारमा एडिबीले ८ करोड डलर लगानी गरिरहेको छ । त्यसमध्ये ७ करोड डलर ऋण र १ करोड डलर अनुदान हो ।
आयोजनाको काम नसक्दा के प्रभाव पर्छ ? 
वेलावेला प्रधानमन्त्री, मन्त्री र सांसदहरुको टोलीबाट स्थलगत अध्ययन हुँदा पनि विमानस्थल व्यवस्थापनमा प्रगति हुन नसकेको गुनासो नागरिकको छ । तर, विमानस्थलका अधिकारी भने साँघुरो संरचनाका कारण विमानस्थलमा बढ्दो चापलाई व्यवस्थापन गर्न हम्मेहम्मे हुने गरेको गुनासो गर्छन् । ‘आजभन्दा ३५ वर्षअगाडिको संरचनाले आजको भीड थेग्नुपरिरहेको छ,’ विमानस्थलका एक अधिकारीले भने, ‘आयोजनाको काम समयमै पूरा भएको भए धेरै सहज हुने थियो ।’

गहन छलफल भइरहेको छ 
आनन्दप्रसाद पोखरेल, पर्यटनमन्त्री 
निर्माण कम्पनीले उपलब्ध गराएको प्रतिवेदनका सम्बन्धमा प्राधिकरणले गहन अध्ययन गरिरहेको छ । भूकम्प, नाकाबन्दी या बन्द–हडतालकै कारण के–कति क्षति भएको छ, त्यसमा लचिलो हुन सकिन्छ, मुख्य कुरा हाम्रो आयोजनाको काम तीव्र गतिमा हुनुपर्‍यो । प्राधिकरणले निर्माण कम्पनीले दाबी गरेको क्षतिपूर्ति र थप समयको औचित्य पुष्टि भएपछि मात्र थप निर्णय हुनेछ ।

Comments