अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, ५ असार
भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका नखुलेपछि नेपालले यस वर्ष कैलाश मानसरोवर जाने हजारौँ पर्यटक गुमाएको छ । नेपालमा ‘लो सिजन’ मानिने जुन, जुलाई, अगस्ट महिनामा नेपालको बाटो हुँदै करिब ५० हजार हाराहारी पर्यटक तिब्बत जाने गरेको पर्यटन व्यवसायीको भनाइ छ । ‘नेपाल हुँदै कैलाश मानसरोवर पुग्ने पर्यटकको सहज र सस्तो रुट तातोपानी हो,’ वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्सालले भने, ‘नेपालमा पर्यटक नआउँदा यहाँका पर्यटन व्यवसायीलाई मानसरोवरका यात्रुबाट निकै राहत मिल्थ्यो ।’ प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न मन्त्रीको भ्रमणपछि पनि तातोपानी नाका खुलाउन नसक्नु नेपालको कूटनीतिक असफलता रहेको व्यवसायीको गुनासो छ ।
१ लाख पर्यटक गुम्दै छन्
व्यवसायीका अनुसार अप्रिलदेखि अक्टोबरसम्म सात महिनाको अवधिमा तिब्बतमा मुख्य पर्यटकीय सिजन चल्छ । यसवेला भारतीयसँगै तेस्रो मुलुकका पर्यटक पनि नेपाल हुँदै तिब्बत जाने गर्छन् । तर, तातोपानी नाका बन्द भएपछि यस अवधिमा करिब १ लाख पर्यटक नेपालले गुमाउने पर्यटन व्यवसायी लम्सालले जानकारी दिए । ‘यो केबल तिब्बत छिर्न मात्र होइन, स्थलमार्गबाट चिनियाँ पर्यटक नेपाल प्रवेश गर्ने मुख्य नाका पनि हो,’ उनले भने, ‘यसले नेपालका होटेल, ट्राभल र ट्ेरकिङ व्यवसायीसँगै राज्यले पाउने राजस्व पनि गुमेको छ ।’

तातोपानीको विकल्प खोज्दा हिल्सामा पर्यटक अलपत्र
तातोपानी नाका बन्द भएपछि केही ट्राभल व्यवसायीले हुम्ला जिल्लास्थित हिल्सा नाका हुँदै भारतीय यात्रुलाई कैलाश मानसरोवर लैजान थालेका थिए । पर्यटन विभागका महानिर्देशक सुदर्शन ढकालका अनुसार नेपालबाट तातोपानी र रसुवाको केरुङबाहेक अन्य नाका हुँदै चीन प्रवेश गर्न औपचारिक संयन्त्र नै स्थापना गरिएको छैन । काठमाडौंबाट जहाजमा नेपालगन्ज, त्यहाँबाट फेरि जहाजमा हुम्लाको सिमिकोट पुर्याएर हिल्सासम्म हेलिकोप्टरमा लैजाने उक्त रुट हुँदै जाने पर्यटकबाट व्यवसायीले तातोपानीको तुलनामा दोब्बर मूल्यमा प्याकेज बेचेका थिए । ‘आफूले सम्हाल्न नसक्ने गरी प्याकेज बेचेर पर्यटक ल्याउने, तर गन्तव्यमा पुर्याउन नसकी मुलुककै बेइज्जत गर्ने व्यवसायीमाथि कारबाही गर्नुपर्छ,’ लम्सालले भने । हुम्लामा आफ्ना नागरिक अलपत्र परेपछि भारतीय दूतावासले ट्राभल एडभाइजरी जारी गरेको थियो ।
तातोपानी नाका खोल्न समितिमा कुरा उठाउँछौँ सुदर्शन ढकाल, महानिर्देशक, पर्यटन विभाग
आगामी साता नेपाल–तिब्बत संयुक्त पर्यटन समितिको बैठक नेपालमा बस्दै छ । बैठकमा नेपाल र तिब्बतको पर्यटन प्रवद्र्धनका दर्जनौँ विषयमा छलफल हुने कार्यक्रम छ । नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्धको एउटा पाटोका रूपमा रहेको तातोपानी खुला गर्नुपर्छ भन्ने विषयलाई हामीले नेपालका तर्फबाट छलफलमा उठाउनेछौँ । यसबाहेक अरू नाकाबाट पनि पर्यटक आवागमन सहज बनाउनेसम्बन्धमा हाम्रो जोड हुनेछ ।
http://www.enayapatrika.com/2016/06/69880#sthash.yHmVvAJ1.OCbl5ojy.dpuf
Comments
Post a Comment