अच्युत पुरी/नयाँ पत्रिका
काठमाडौं, १ असार
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अकस्मात् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन भ्रमण गरेका छन् । दिउसो २ बजेर १७ मिनेट जाँदा विमानस्थलमा प्रवेश गरेका प्रधानमन्त्रीले करिब एक घन्टा विमानस्थललाई सर्वसाधारण यात्रुसरह अवलोकन गरेका थिए । त्यस क्रममा उनले विमानस्थलभित्र भौतिक संरचना, सेवा–सुविधा, उपकरण र सुरक्षास्थितिबारे कर्मचारीसँग जिज्ञासा राखेका थिए ।
उच्चस्तरीय अवलोकन भ्रमण
विमानस्थल व्यवस्थापनका अनुसार विमानस्थलको आकस्मिक भ्रमणका लागि पुग्ने ओली सबैभन्दा उच्च पाहुना हुन् । यसअघि मन्त्रीस्तरीय भ्रमण मात्र हुने गरेका थिए । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘प्रधानमन्त्रीसँग सीधा कुरा’ नामक कार्यक्रममा विमानस्थलको सेवा–सुविधाका सम्बन्धमा धेरै गुनासा आएपछि प्रधानमन्त्री विमानस्थलसँग सरोकारवाला कुनै पनि निकायलाई जानकारी नै नदिई विमानस्थल पुगेका थिए ।
ढाकछोप गर्ने मौका नै पाएनन् कर्मचारीले
विमानस्थलमा यसअघि धेरै भ्रमण पूर्वनिर्धारित हुने गरेका थिए । त्यस क्रममा व्यवस्थापनले विशेष सतर्कतासहित एक दिनका लागि मात्र भए पनि सुधार गरेको हुन्थ्यो । मंगलबार भने व्यवस्थापनलाई उक्त मौका मिलेन । ‘हामी सदाझैँ आफ्नो धुनमा काममा थियौँ,’ विमानस्थलका एक कर्मचारीले भने, ‘कतै गल्ती भएको भए पनि सुधारको मौकै थिएन ।’ विमानस्थलका महाप्रबन्धक बिदामा छन् । गेटबाट प्रधानमन्त्रीको गाडी छिरेपछि व्यवस्थापनमा रहेका अधिकारीसमक्ष सूचना पुगेको थिए । प्रधानमन्त्रीका साथमा अर्थमन्त्री विष्णु पौडेल पनि थिए । कर्मचारीमार्फत जानकारी पाएपछि पर्यटनमन्त्री आनन्द पोखरेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम विमानस्थल पुगेका थिए । पर्यटनमन्त्रीले पनि विमानस्थल पुगेपछि मात्र आफू विमानस्थल आएको जानकारी मन्त्रालयमा गराएका थिए।
सुधारमा ध्यान दिन निर्देशन
विमानस्थल स्रोतका अनुसार अवलोकन भ्रमणपछि प्रधानमन्त्री भिआइपी रुममा गएर आराम गरेका थिए । सोही क्रममा उनले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरी छिटो–छरितो सेवा दिन निर्देशन दिएका थिए । अवलोकनका क्रममा व्यवस्थापन नमिलेको, शौचालय फोहोर देखिएको भन्दै यी पक्षमा सुधार गर्नुपर्ने निर्देशन प्रधानमन्त्रीको थियो । प्रधानमन्त्रीको भ्रमणपछि व्यवस्थापनलाई अझ जिम्मेवारीपूर्वक काम गर्न पाठ सिकाएको विमानस्थलका प्रवक्ता भोला गुरागार्इँले बताए । यस प्रकारका भ्रमणले गल्ती र कमीकमजोरी सुधार गर्ने मौका मिल्छ,’ उनले भने, ‘अहिले धेरै पक्षमा सुधारका काम जारी छन् ।’
http://www.enayapatrika.com/2016/06/69084#sthash.4de1yISG.dpuf
Comments
Post a Comment