देशभरका १८ वटा विमानस्थल गौचरनमा परिणत

  • व्यवसायिक अध्ययनबीना निर्माण गरिनु
  • राजनीतिक दवावमा आयोजना छनोट
  • वायुसेवा कम्पनीसँग जहाज अभाव
  • बाटो पुगेको स्थानमा यात्रुको अभाव
अच्युत पुरी ÷ नयाँ पत्रिका
नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वर्षअघि करिव १४ करोड रुपैयाँ खर्च गरेर कालोपत्रे सम्पन्न गरेको मनाङस्थित मनाङ विमानस्थलमा अहिलेसम्म व्यवसायिक उडान हुन सकेको छैन । सडक यातायातको सहज पहुँच बिस्तार भइसकेको मनाङमा कुनै पनि कम्पनीले उडान सञ्चालनका लागि इच्छा देखाएका छैनन् । कुनै समय साताको १० वटासम्म उडान हुने ओखलढुंगास्थित रुम्जाटार विमानस्थलमा अहिले हप्तामा मुस्किलले तीन वटामात्र उडान हुने गरेका छन् ।
हालसम्म सञ्चालनमा रहेको विमानस्थलको सूचिमा रहेका यी दुई विमानस्थलको पछिल्लो स्थिति हेर्दा यहाँ लामो समय व्यवसायिक उडानको सम्भावना देखिदैन । यस्तै समस्या भोग्दाभोग्दै मुलुकभर १८ वटा विमानस्थल बन्द भइसकेका छन् । देशभर निर्माणाधिन ६ वटासहित ५६ वटा विमानस्थल रहेका छन् । त्यसमध्ये ३२ वटा विमानस्थल संचालनमा रहेको भएपनि व्यवसायिक दृष्टिकोणबाट धेरै विमानस्थलको अवस्था संतोषजनक नरहेको प्राधिकरणका निर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।  
प्राधिकरणका अनुसार नेपालमा निर्माण सम्पन्न भइसकेका र निर्माणाधिन विमानस्थलमध्ये ५० प्रतिशत आयोजना राजनीतिक दलका नेताले आफ्नो क्षेत्रमा विमानस्थल पार्ने नियतस्वरुप अगाडी बढेका हुन् । विमानस्थल निर्माणपछि सो स्थानमा नियमित उडान तथा व्यवसायिक सफलताको सम्भावनाबारे अध्ययन नगर्दा धेरै विमानस्थल बेकामे भएर बस्नुपरेको निर्देशक क्षेत्रीको भनाई छ । ‘सडक यातायातको सञ्जालले नछुँदा जिल्लाको जुन स्थानमा विमानस्थल भएपनि सेवाग्राही धाएर पुग्नु पर्ने बाध्यता थियो’, उनले भने, ‘बाटोघाटोले क्षेत्रिय शहरहरुलाई जोडेपछि साताको एउटा उडान हुने जहाज कुरेर को बस्ने ?’
सडक यातायात पुगेपनि पर्याप्त यात्रु पाउने गन्तब्यका विमानस्थलमा वायुसेवा कम्पनीबीच तिब्र प्रतिस्पर्धा छ । भरतपुर, पोखरा, सिमरा, भैरहवा, विराटनगर, लुक्कालगायत विमानस्थलमा उडानका लागि नेपाल वायुसेवा निगमसहित निजी कम्पनीले प्रतिस्पर्धा गरिरहेका छन् । विमान कम्पनीसँग पर्याप्त जहाज नहुने र भएका जहाज बढी यात्रु पाउने स्थानमा खटिएपछि दूर्गम क्षेत्रका अधिकाश विमानस्थल बेकामे बनेको प्राधिकरणको भनाई छ ।
ठूलो आर्थिक भार बेहोरेर बनाइएका विमानस्थल गौचरनमा परिणत भएकोप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले पनि तिब्र असन्तुष्टी व्यक्त गरेका छन् । ‘जनताले विमानस्थल हेर्नमात्र चाहेका होइनन्, गाइवस्तु चराउने गौचरन पनि चाहेका होइनन्’, उनले भने, ‘प्राधिकरणमार्फत बन्ने आयोजनाबाट जनताले प्रत्यक्ष लाभ पाउनुप¥यो ।’
यसैबीच, प्राधिकरणले नव निर्माण र स्तरोन्नती गर्नुपर्ने विमालस्थलको सम्भाव्यता अध्ययनपछिमात्र प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । कुनै पनि दवाव र हचुवाका भरमा आयोजना अगाडी नबढोस भन्नेमा प्राधिकरणको वर्तमान नेतृत्व सचेत रहेको निर्देशक क्षेत्रीले बताए ।  
कूल विमानस्थल ५६ ओटा (निर्माणाधिनसहित)
नियमित हवाई सेवा सञ्चालन भइरहेका ः ३२ वटा
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआई, बाजुरा, भरतपुर, भोजपुर, विराटनगर, चन्द्रगढी, चौरजहारी, धनगढी, डोल्पा, गौतमबुद्ध (भैरहवा), जनकपुर, जोमसोम, जुम्ला, काँगेलडाँडा, खानीडाँडा, लामिडाँडा, मनाङ, मसिनेचौर, नेपालगञ्ज, फाप्लु, पोखरा, रामेछाप, रारा, रुम्जाटार, सल्ले, सिमरा, सिमकोट, सुर्खेत, ताप्लेजुङ, तेञ्जिङ हिलारी (लुक्ला) थुमखर्क, तुम्लिङटार 
बन्द भएका विमानस्थल ः १८ वटा
बाग्लुङ, बैतडी, बझाङ, दाङ, दार्चुला, ढोरपाटन, डोटी, जिरी, कमलबजार, लाङटाङ, महेन्द्रनगर, मैघौली, पालुङटार, राजविराज, रोल्पा, साँफेबगर, स्याङबोचे, टिकापुर 
६ वटा निर्माणाधिन विमानस्थल
कालिकोट, ओखलढुङ्गाको खिजि चण्डेश्वरी, लम्जुङ्गको शीतलेश्वर, गुल्मीको सिमिचौर र इलामको सुकिलुम्ब
posted by : http://www.enayapatrika.com

Comments