पोखरा विमानस्थलको ऋण सम्झौता अझै अन्यौलमा


माघ १६ गते शिलान्यासको तयारी
  • हामीले नेपाल नागरिक उड्डयन प्राधिकरण र पोखरास्थित कार्यालयलाई तयारी हालतमा रहन निर्देशन दिएका छौं । माघ १६ गते नेपालका लागि महत्वपूर्ण दिन भएकाले सोही दिन शिलान्यास गर्ने योजना बनाइएको छ’ ः दिनेशकुमार थपलिया, सचिव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  •  नेपाल सरकारले पोखरा विमानस्थल निर्माण गर्न चिनियाँ निर्माण कम्पनी सीएएमसी इञ्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको ठेक्का सम्झौतालाई अनुमोदन गरेको एक वर्ष नाघिसकेपनि ऋण सम्झौतामा हस्ताक्षर हुन नसक्दा निर्माण कार्यले गति लिन सकेको छैन
  •  ऋणको वार्षिक ब्याजदर दुई प्रतिशत कायम हुनुपर्ने चीन र १ दशमलव ५ प्रतिशत हुनुपर्ने नेपालको प्रस्तावमा कुरा मिल्न नसक्दा ऋण सम्झौता प्रक्रिया लम्बिएको हो
  • पछिल्लो समय नेपाल सरकारले कूल लागतको २५ प्रतिशत बीनाब्याज ऋण सहायताका रूपमा उपलब्ध गराउन र बाँकि ७५ प्रतिशत ऋण सहायता दुई प्रतिशत ब्याजदरमा उपलब्ध गराउन चीन सरकारसँग अनुरोध गरेको छ । यसमा चीन सरकारको निर्णय आउनासाथ ऋण सम्झौतामा हस्ताक्षर हुनेछ

अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं १९, पुस
नेपाल र चीन सरकारबीच पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी आवश्यक ऋण सम्झौताबारे अन्यौल लम्बिएको छ । नेपाल र चिनियाँ पक्षबीच ब्याजदरका विषयमा कुरा मिल्न नसक्दा ऋण सम्झौता प्रक्रिया लम्बिएको हो । नेपाल सरकारले पोखरा विमानस्थल निर्माण गर्न चिनियाँ निर्माण कम्पनी सीएएमसी इञ्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको ठेक्का सम्झौतालाई अनुमोदन गरेको एक वर्ष नाघिसकेपनि ऋण सम्झौतामा हस्ताक्षर हुन नसक्दा निर्माण कार्यले गति लिन सकेको छैन ।
कूल २१ करोड ६० लाख अमेरिकी डलर (करिव २१ अर्ब ६० करोड रुपैयाँ) लागतमा निर्माण हुने यस आयोजनाका लागि नेपाल सरकारले चिनियाँ एक्जिम बैंकबाट ऋण लिँदैछ । सो ऋणको वार्षिक ब्याजदर दुई प्रतिशत कायम हुनुपर्ने चीन र १ दशमलव ५ प्रतिशत हुनुपर्ने नेपालको प्रस्तावमा कुरा मिल्न नसक्दा ऋण सम्झौता प्रक्रिया लम्बिएको हो ।
पछिल्लो समय नेपाल सरकारले कूल लागतको २५ प्रतिशत बीनाब्याज ऋण सहायताका रूपमा उपलब्ध गराउन र बाँकि ७५ प्रतिशत ऋण सहायता दुई प्रतिशत ब्याजदरमा उपलब्ध गराउन चीन सरकारसँग अनुरोध गरेको छ । नेपालको अनुरोधका सम्बन्धमा चीन सरकारबाट जानकारी आउनासाथ ऋण सम्झौतामा हस्ताक्षर हुने अधिकारीहरुले बताएका छन् । ‘नेपाल वायुसेवा निगमका लागि जहाज खरीद गर्दा सोही बैंकसँग डेढ प्रतिशत ब्याजदर कायम भएकाले नेपालले १ दशमलव ५ प्रतिशत वार्षिक ब्याजदरको प्रस्ताव गरेको हो,’ संस्कृति, पर्यटन ताथ नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने, ‘चीन सरकारले नेपालको पछिल्लो प्रस्तावमा सहमति जनाएमा छिट्टै ऋण सम्झौता हुने बुझिएको छ ।’
आइतबार अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उपस्थित अर्थमन्त्री, अर्थसचिव, परराष्ट्र सचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलगायतले चीनसँग निकट भविश्यमा ऋण सम्झौता हुने बताएपनि समय भने उल्लेख गरेनन् । चिनियाँ पक्षबाट ऋण प्राप्त गर्नेसम्बन्धमा वित्तीय सम्झौताका लागि तयारी भइरहेको अर्थमन्त्री विण्णु पौडेलले जानकारी दिए । दुइ पक्षबीच हुने सम्झौताको मस्यौदालाई मन्त्रीपरिषद्ले अनुमोदन गरेसँगै सम्झौता पत्रमा हस्ताक्षर हुने उनले जानकारी दिए । पर्यटन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले निर्माण प्रारम्भ भएपछि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सो विमानस्थलको सरकारका तर्फबाट आगामी माघ तेस्रो सातासम्म शिलान्यास गर्ने तयारी भइरहेको जानकारी दिए । अर्थमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले ऋण सम्झौता छिटो गर्न चिनियाँ पक्षलाई घच्घच्याउने काम भइरहेको भन्दै यसमा अर्थ मन्त्रालयको तर्फबाट कुनै बिलम्ब नगरिएको स्पष्ट पारे । 
बैठकमा सांसदहरुले पोखरा विमानस्थल आयोजना बिरबलको खिचडीजस्तो भएको भन्दै सरकारको आलोचना गरेका थिए । राष्ट्रिय गौरवका आयोजनालाई सरकारको प्राथमिकता दिन नसकेको सांसदहरुले बताएका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ४० वर्षअघि अधिग्रहण गरिएको ३ हजार १ सय ६ रोपनी क्षेत्रफलमा विमानस्थल निर्माण गर्न प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच २२ मे २०१४ मा ठेक्का सम्झौता भएको थियो । विमानस्थल निर्माणका लागि थप ५ सय २१ रोपनी जग्गामध्ये ७० प्रतिशत जग्गा अधिग्रहणको मुआब्जा रकम वितरण भइसकेको छ भने चालु आर्थिक वर्षभित्र जग्गा अधिग्रहण सम्पन्न हुने प्राधिकरणले जानकारी दिएको छ ।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले चीन सरकारलाई छिटो ऋण सम्झौताका लागि दवाव दिन माघ १६ गते शिलान्यास गर्ने तयारी गरिएको बताएका छन् । ‘चीन सरकारका तर्फबाट ऋण सम्झौतासम्बन्धमा डिसेम्बर २०१५ भित्र ठोस निर्णय दिने प्रतिवद्धता आएको थियो’, नयाँ पत्रिकासँग उनले भने, ‘हालसम्म पनि कुनै प्रतिक्रिया आएको छैन ।’
नेपाल सरकारले मिलेसम्म प्रधानमन्त्रीबाटै शिलान्यास गराउने तयारी गर्दा चिनियाँ पक्षलाई पनि दवाव पर्ने र ऋण सम्झौताले गति लिने अपेक्षा मन्त्रालयको छ । ‘हामीले नेपाल नागरिक उड्डयन प्राधिकरण र पोखरास्थित कार्यालयलाई तयारी हालतमा रहन निर्देशन दिएका छौं,’ उनले भने, ‘माघ १६ गते नेपालका लागि महत्वपूर्ण दिन भएकाले पनि सोही दिन शिलान्यास गर्ने योजना बनाइएको हो ।’ 
posted by : http://www.enayapatrika.com

Comments