सार्वजनिक ओहदाका व्यक्तिको हवाई यात्रा नेवानिमार्फत

 नीतिगत व्यवस्थाबाट अनिवार्य गर्न निर्देशन 

  • अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सार्वजनिक पदमा बसेका पदाधिकारी तथा सरकारी कर्मचारीले सम्भव भएसम्म अनिवार्य रूपमा नेपाल वायुसेवा निगमका जहाजमार्फत यात्रा गर्न र यस प्रावधानलाई नीतिगत व्यवस्थामार्फत अनिवार्य गर्नसमेत समितिले सरोकारवालाका नाममा निर्देशन दिएको छ
  • पछिल्लो समय राष्ट्रियताको मुद्दा चरम अवस्थामा रहेको परिस्थितीमा अन्तरराष्ट्रिय उडानलाई केन्द्रित गरी उक्त निर्देशन आएको हो
  • यसबाट निगमको आर्थिक सुदृढिकरणमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ
  • निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उपलब्ध गराएको १० वर्षे व्यापारिक कार्ययोजनामा सार्वजनिक ओहदाका व्यक्ति र कर्मचारीका लागि अनिवार्य रूपमा निगममार्फत यात्रा गर्ने व्यवस्थाको माग गरिएको छ
अच्युत पुरी ÷ नयाँ पत्रिका
नेपाल वायुसेवा निगम (नेवानि)को सुदृढिकरणका लागि नयाँ उपाय अपनाइने भएको छ । व्यवस्थापिका संसदअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सार्वजनिक पदमा बसेका पदाधिकारी तथा सरकारी कर्मचारीले सम्भव भएसम्म अनिवार्य रूपमा नेपाल वायुसेवा निगमका जहाजमार्फत यात्रा गर्न निर्देशन दिएको छ । यस प्रावधानलाई नीतिगत व्यवस्थामार्फत अनिवार्य गर्नसमेत समितिले सरोकारवालाका नाममा निर्देशन दिएको छ । समितिको निर्देशनअनुसार नीतिगत व्यवस्था हुन सके सरकारी कर्मचारी र सार्वजनिक ओहदाका पदाधिकारीले अनिवार्य रूपमा निगमका जहाज चढ्नुपर्ने छ । यसबाट निगमको आर्थिक सुदृढिकरणमा ठूलो टेवा पुग्ने समितिको विश्वास छ ।
निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उपलब्ध गराएको १० वर्षे व्यापारिक कार्ययोजनामा सार्वजनिक ओहदाका व्यक्ति र कर्मचारीका लागि अनिवार्य रूपमा निगममार्फत यात्रा गर्ने व्यवस्थाको माग गरिएको छ । ‘यस विषयलाई हामीले १० वर्षे व्यवसायिक कार्ययोजनामार्फत माग गरेका थियौं,’ निगमका प्रवक्ता रामहरी शर्माले भने, ‘अनिवार्य गर्न सकियो भने राष्ट्रिय ध्वजाबाहक कम्पनीको सृदृढिकरणमा सहयोग पुग्नेछ ।’ पर्यटन मन्त्रालयमा पुगेको सो प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत भएमा सार्वजनिक पदका व्यक्ति र कर्मचारीले राष्ट्रिय–अन्तरराष्ट्रिय यात्राका क्रममा अनिवार्य नेवानिका जहाज चढ्नुपर्नेछ ।
पछिल्लो समय राष्ट्रियताको मुद्दा चरम अवस्थामा रहेको परिस्थितीमा अन्तरराष्ट्रिय उडानलाई केन्द्रित गरी उक्त निर्देशन आएको बताइएको छ । ‘निगमका जहाज पुग्ने गन्तब्यमा सरकारी कर्मचारीले कम्तिमा आफ्नै जहाज चढ्नुपर्छ भन्ने अवधारणा आएको छ,’ समितिका उपसचिव झलक शर्मा सापकोटाले भने, ‘सम्भव नभएका गन्तब्यमा अनिवार्य छैन ।’ पछिल्लो समय निगमले जहाज थप गर्दै अन्तरराष्ट्रिय गन्तब्य बिस्तारलाई प्राथमिकतामा राखेको छ ।
अन्तरराष्ट्रिय उडानमा निगमले अहिले भारतका तीन शहर (नयाँदिल्ली, मुम्बई र बैङ्कक)सहित कतारको दोहा, मलेसियाको क्वालालाम्पुर, हङकङ र थाइल्याण्डको बैङ्ककमा उडान गर्दै आएको छ । निकट भविश्यमा चीनको ग्वाङझाउ र दुवईमा उडान बिस्तारको योजनामा निगम छ । निगमले यूरोप, अमेरिकाका लामो गन्तब्यमा काठमाडौंबाट सिधा उडानका लागि वाइडबडी (ठूला) जहाज खरीद गर्ने योजना बनाएको छ ।  निगमले अहिले एयरबस कम्पनीका दुई वटा न्यारोबडी र बोइङ कम्पनीका दुई जहाज अन्तरराष्ट्रिय उडानमा प्रयोग गरिरहेको छ ।  
तीन वर्षे कार्ययोजना बनाउँदै निगम
नेपाल वायुसेवा निगमले यसअघि तयार पारेको १० वर्षे व्यापारिक कार्ययोजनामा आधारित भई तीन वर्षे योजना निर्माणको तयारी गरेको छ । तीन वर्षभित्र दुई वटा वाइडबडी (ठूला) जहाज भित्राउने लक्ष्यसहित योजना बनिरहेको निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिएका छन् । ‘हामी फास्ट्रयाकमार्फत योजना कार्यान्वयनमा जानुपर्ने आवश्यकता छ,’ उनले भने, ‘त्यसका लागि तीन वर्षे योजना बनाएर अगाडी बढ्छौं ।’ सो अवधिभित्र थप दुई वटा न्यारोबडी जहाजसमेत भित्राउने निगमको योजना छ । निगमले यसअघि ५० अर्ब लगानीसहित १० वर्षमा दुई दर्जन जहाज पु¥याउने लक्ष्यसहित १० वर्षे व्यापारिक कार्ययोजना बनाएर मन्त्रालयमा बुझाएको थियो । 
posted by : http://www.enayapatrika.com

Comments