हवाई सुरक्षा सचेतनाबारे अन्तरराष्ट्रिय कार्यशाला फेब्रुअरीमा

  • वायुसेवा सञ्चालक संघ (आयोन) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले आगामी फेबु्रअरी पहिलो साता ‘एभिएसन सेफ्टी अर्वानेशन’का विषयमा नेपालमा अन्तरराष्ट्रिय कार्यशाला सञ्चालनको तयारी गरिरहेका छन्
  • वायुसेवा सञ्चालक, नियामक निकाय तथा प्राविधिकहरुलाई अन्तरराष्ट्रिय विज्ञ–विशेषज्ञमार्फत प्रशिक्षित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो
  • कार्यक्रमले अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ), यूरोपेली यूनियनजस्ता निकायले नेपाली वायुसेवाका विविध विषयमा उठाएका प्रश्न समाधान गर्न योगदान पु¥याउने विश्वास आयोजकको छ
  • विश्व खाद्य कार्यक्रमको एभिएशन यूनिटले अन्तरराष्ट्रिय हवाई सुरक्षाका विज्ञहरु नेपाल ल्याउन सहयोग गर्नेछ 
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं २९, पुस
नेपालको हवाई सुरक्षाका सम्बन्धमा आगामी महिना सचेतना अभियान कार्यक्रम सञ्चालन हुने भएको छ । वायुसेवा सञ्चालक संघ (आयोन) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले आगामी फेबु्रअरी पहिलो साता ‘एभिएसन सेफ्टी अर्वानेशन’का विषयमा नेपालमा अन्तरराष्ट्रिय कार्यशाला सञ्चालनको तयारी गरिरहेका छन् ।
कार्यक्रममा हवाई सुरक्षाका जरुरी विषयमा अन्तरराष्ट्रिय विज्ञ र प्रशिक्षक–प्राध्यापकले नेपालका सरोकारवालासँग अनुभव साटासाट गर्ने कार्यक्रम रहेको संघका कार्यकारी प्रमुख कमलेश कुमार बर्माले जानकारी दिए । ‘कार्यक्रममा नेपाली वायुसेवा क्षेत्रका सरोकारवाला सहभागी हुनेछन्’, बर्माले भने, ‘वायुसेवा सञ्चालक, नियामक निकाय तथा प्राविधिकहरुलाई अन्तरराष्ट्रिय विज्ञ–विशेषज्ञमार्फत प्रशिक्षित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।’
हवाई सुरक्षा, लाइसेन्सिङ, वायुसेवा सञ्चालन अनुमति (एओसी)लगायत विषयमा प्रश्न उठाउँदै यूरोपेली यूनियनले नेपाली वायुसेवालाई विगत दुइ वर्षदेखि कालोसूचिमा राखेको छ । यस्ता कार्यक्रमले अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ), यूरोपेली यूनियनजस्ता निकायले नेपाली वायुसेवाका विषयमा उठाएका प्रश्न समाधान गर्न योगदान पु¥याउने विश्वास संघको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०१६ भित्र यूरोपेली यूनियनको कालोसूचिबाट हट्ने गरी काम भइरहेको यसअघि नै सार्वजनिक गरिसकेका छन् ।
निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले विश्व खाद्य कार्यक्रमको सहयोगमा सन् २०१३ देखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ । पछिल्लो समय सन् २०१४ मा आयोजना भएको एभिएसन सेफ्टी अवार्नेशसम्बन्धी कार्यशाला सन् २०१५ मा भने भूकम्पका कारण रोकिएको थियो । ‘गतवर्ष भूकम्पका कारण कार्यक्रमलाई निरन्तरता दिन सकिएको थिएन,’ उनले भने, ‘त्यसलाई नयाँ वर्षको प्रारम्भमै आयोजना गर्न लागिएको हो ।’
विश्व खाद्य कार्यक्रमको एभिएशन यूनिटले अन्तरराष्ट्रिय हवाई सुरक्षाका विज्ञहरु नेपाल ल्याउन सहयोग गर्नेछ । कार्यक्रमका दौरान विज्ञहरुले नेपाली पाइलट, इन्जिनियर तथा अपरेशन डिपार्टमेण्टका प्राविधिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको संघको भनाई छ । ‘यस क्षेत्रका सरोकारवालालाई एकै स्थानमा राखेर विविध विषयमा छलफल हुन्छ,’ बर्माले भने, ‘यसबाट विश्वमा प्रचलनमा रहेका सुरक्षा संयन्त्रहरुलाई नेपालको सन्दर्भमा लागु गराउन सरोकारवालालाई सहयोग पु¥याउनेछ ।’ 
posted by : http://www.enayapatrika.com

Comments