नेपाली वायुसेवामाथिको इयु प्रतिवन्ध दुई वर्ष पुग्यो

६ महिनाभित्र हट्छ ः मन्त्री पोखरेल
  • यूरोपेली यूनियन र अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का विभिन्न टोलीको अनुगमनपछि प्राप्त सुझाव ६ महिनाभित्र पुरा गर्न सरोकारवालालाई निर्देशन दिएको जानकारी दिएको पर्यटन मन्त्रीले बताए
  • युनियनले नेपालमा उडान गरिरहेका सम्पूर्ण वायुसेवा कम्पनीलाई २०७० मंसिर २० गते  इयु अन्तर्गतका मुलुकमा उडान गर्न निषेध गर्ने गरी प्रतिवन्ध लगाएको थियो
  • इयुले अन्तरराष्ट्रिय वायुसेवामा अन्तरराष्ट्रिय मापदण्ड लागु भएको बताउँदै मापदण्ड पुरा नगर्ने विश्वका सबै मुलुकका वायुसेवालाई प्रतिवन्धमा राख्दै आएको छ । 
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं १९, मंसिर
सरकारले यूरोपेली यूनियनले नेपाली वायुसेवामाथि लगाएको प्रतिवन्ध ६ महिनाभित्र हट्ने दावि गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले यूरोपेली यूनियन र अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का विभिन्न टोलीको अनुगमनपछि प्राप्त सुझाव ६ महिनाभित्र पुरा गर्न सरोकारवालालाई निर्देशन दिएको जानकारी दिएका छन् । ‘इयू र आइकाओका अनुगमन टोलीले नेपालको हवाई सुरक्षाका विविध विषयमा दिएका निर्देशन कार्यान्वयनका लागि निर्देशन दिएको छु,’ नयाँ पत्रिकासँगको कुराकानीका क्रममा उनले भने, ‘६ महिनाभित्र प्रतिवन्ध हट्ने विश्वास छ ।’
युनियनले नेपालमा उडान गरिरहेका सम्पूर्ण वायुसेवा कम्पनीलाई २०७० मंसिर २० गते  इयु अन्तर्गतका मुलुकमा उडान गर्न निषेध गर्ने गरी प्रतिवन्ध लगाएको थियो । युनियनले आफ्ना नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गरेको छ । इयुले नेपालको हवाई पूर्वाधार तथा उडानयोग्य प्रमाणपत्र (टाइप सर्टिफिकेट) प्रदान गर्ने प्रक्रियालगायतमा सुधारका लागि दिएका सुझाव अबिलम्ब कार्यान्वयन गर्ने प्रक्रियामा रहेको मन्त्री पोखरेलले जानकारी दिए । ‘व्यवसायिक रूपमा हामीले गर्नुपर्ने सुधार प्रक्रियागत रूपमा भइरहेका छन्’, उनले भने, ‘त्यसभित्र अन्य स्वार्थ जोडिएका हुन सक्ने आशंका पनि छ ।’
नेपालको इतिहासमा पहिलो पटक हवाई सेवामाथि प्रतिवन्ध लगाइएको थियो । त्यसबीचमा इयुबाट भएका पुनरावलोकनमा पनि नेपाल प्रतिवन्धबाट उम्कन सकेको छैन । इयुले अन्तरराष्ट्रिय वायुसेवामा अन्तरराष्ट्रिय मापदण्ड लागु भएको बताउँदै मापदण्ड पुरा नगर्ने विश्वका सबै मुलुकका वायुसेवालाई प्रतिवन्धमा राख्दै आएको छ ।

Comments