त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नती ठप्प

  1.    सामान्य अवस्थामा पनि सुस्त गतिले अगाडी बढेको स्तरोन्नती आयोजनालाई इन्धन अभावले थप प्रभावित बनाएको हो
  2.  आयोजनाले निर्धारण गरेका सबै काम शूरु भएपनि गति भने लिन भने नसकेको आयोजनाका एक उच्च अधिकारीले बताए
  3.    विमानस्थलको आन्तरिक स्रोतबाट हुने विकास निर्माणका काम पनि अहिले ठप्प रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले जानकारी दिए
  4.    आर्थिक वर्ष २०७२÷७३ का लागि निर्धारित कामका पनि टेण्डर आह्वान गर्न नसकिएको विमानस्थल कार्यालयको भनाइ छ
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं १५, कात्तिक
‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नती आयोजना’को काम रोकिएको छ । सामान्य अवस्थामा पनि सुस्त गतिले अगाडी बढेको स्तरोन्नती आयोजनालाई इन्धन अभावले थप प्रभावित बनाएको हो । एसियाली विकास बैङ्कको झण्डै ९ अर्ब रुपैयाँ ऋण तथा अनुदान सहयोगमा विमानस्थलमा स्तरोन्तीको काम भइरहेको छ । स्तरोन्नतीअन्तर्गत धावनमार्ग बिस्तार, प्यारालल ट्याक्सी वे निर्माण, पार्किङ बिस्तारजस्ता कामहरू भइरहेका छन् ।
सन् २०१३ मा पहिलो चरणको काम सक्नु पर्ने आयोजनाअन्तर्गत निर्धारित लक्ष्य पुरा नभएपछि समय थपेर २०१६ सम्म पु¥याइएको छ । आयोजनाले निर्धारण गरेका सबै काम शूरु भएपनि गति भने लिन भने नसकेको आयोजनाका एक उच्च अधिकारीले बताए । विमानस्थल स्तरोन्नतीले ३ सय मिटर धावनमार्ग बिस्तार, ८ ओटा पार्किङ जोन निर्माण, अन्तरराष्ट्रिय प्रस्थान र आगमन कक्ष बिस्तार गर्ने लक्ष्य राखेको छ ।
स्तरोन्नतीका लागि विमानस्थलमा २० लाख घनमिटर माटो बाहिरबाट ल्याउनुपर्ने आवश्यकता छ । त्यसमध्ये हालसम्म ४ लाख घनमिटरमात्र आइसकेको बताइएको छ । भारतको अघोषित नाकाबन्दी अगाडी निर्माण कार्यले केही गति लिएको भएपनि अहिले भने ठप्प रहेको ती अधिकारीले जानकारी दिए ।
उता, विमानस्थलको आन्तरिक स्रोतबाट हुने विकास निर्माणका काम पनि अहिले ठप्प रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले जानकारी दिए । ‘विमानस्थलबाट प्रदान गर्ने सेवामा कुनै पनि प्रभाव पर्न दिएका छैनौं,’ उनले भने, ‘तर, भौतिक संरचना निर्माणको काम भने ठप्प छ ।’ विमानस्थल स्तरोन्नती आयोजनाका लागि सिमेण्टलगायत निर्माण सामग्री र ठूला सवारी–साधन सञ्चालनका लागि इन्धन अभाव रहेको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७२÷७३ का लागि निर्धारित कामका पनि टेण्डर आह्वान गर्न नसकिएको महानिर्देशक उपाध्यायले जानकारी दिए । सोहीकारण विमानस्थलभित्र आन्तरिक टर्मीनल भवनको औपचारिक सञ्चालन, शौचालय निर्माण, सौन्दर्यकरणलगायत थुप्रै कामहरू रोकिएका छन् । ‘उपलब्ध स्रोत–साधनलाई अधिकतम उपयोग गरेर विमानस्थल सञ्चालन गरिरहेका छौं,’ उपाध्यायले भने, ‘निर्माण कार्य रोकिनु त राष्ट्रिय समस्या नै हो ।’ इन्धन अभावको समस्या सुल्झने बित्तिकै निर्माण गतिविधिले गति लिने अपेक्षा गरिएको उनले बताए । विमानस्थललाई अन्तरराष्ट्रिय स्तरको मापदण्डअनुसार विकास गर्ने प्रयासमा विमानस्थल कार्यालयले विविध गतिविधि सञ्चालन गरिरहेको छ । 
posted by :  http://www.enayapatrika.com

Comments