विमानस्थलमा अन्तर निकाय समन्वयका लागि आचारसंहिता


  • आचारसंहिता निर्माण गरी बडापत्रजस्तै गरी सर्वसाधारणले देख्न सक्ने गरी राख्ने पर्यटन मन्त्रालयको तयारी छ
  • विमानस्थलभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र अर्थमन्त्रालय मातहतमा विभिन्न निकायले काम गर्ने भएपनि विमानस्थल व्यवस्थति हुन नसक्दा त्यसको दोष पर्यटन मन्त्रालयले मात्र लिनुपर्ने बाध्यता हटाउन आचारसंहिता लागु गर्न लागिएको हो
  •  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई अहिले पर्यटन मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यवस्थापन–सञ्चालन गरिरहेको छ भने गृह मन्त्रालय मातहतका सुरक्षाकर्मीले सुरक्षाको जिम्मेवारी लिएका छन् । विमानस्थलस्थित भन्सार कार्यालय अर्थमन्त्रालय मातहतको निकाय हो
अच्युत पुरी ÷ नया पत्रिका
काठमाडौं ९, मंसिर
सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत विभिन्न निकायबीच समन्वयका लागि आचारसंहिता लागु गर्ने भएको छ । विमानस्थलभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र अर्थमन्त्रालय मातहतमा विभिन्न निकायले काम गर्ने भएपनि विमानस्थल व्यवस्थति हुन नसक्दा त्यसको दोष पर्यटन मन्त्रालयले मात्र लिनुपर्ने बाध्यता हटाउन आचारसंहिता लागु गर्न लागिएको बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले विमानस्थलमा आचारसंहिता बनाएर सबै निकायको कामलाई व्यवस्थित गर्न सरोकारवालालाई निर्देशन दिएको यसअघि नै सार्वजनिक गरेका थिए । त्यसैअनुसार सम्बन्धित मन्त्रालयबीच छलफलबाट पारित हुने मापदण्ड विमानस्थलमा लागु हुने विमानस्थलका महाप्रवन्धक देभानन्द उपाध्यायले जानकारी दिए । विमानस्थलमा पछिल्लो समय सबै निकायबीच उचित समन्वयका साथ काम भइरहेको भन्दै उनले आचारसंहिता नै आवश्यक नरहेपनि मन्त्रालयबाट लागु हुने मापदण्ड कार्यान्वयन हुने बताए ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई अहिले पर्यटन मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यवस्थापन–सञ्चालन गरिरहेको छ । विमानस्थलमा गृह मन्त्रालय मातहतका सुरक्षाकर्मीले विमानस्थल सुरक्षाको जिम्मेवारी लिएका छन् । विमानस्थलस्थित भन्सार कार्यालय भने अर्थमन्त्रालय मातहतको निकाय हो । विमानस्थलको सरसफाई, सुरक्षा, सेवा तथा भन्सार प्रक्रियासम्म सर्वसाधारणका विभिन्न गुनासा रहेका छन् । ‘सुरक्षा निकाय या भन्सारबाट हुने गल्तिमा पनि पर्यटन मन्त्रालयलाई अपजस जाने गरेको छ,’ मन्त्री पोखरेलको भनाई छ, ‘सबै निकायले जिम्मेवारी अनुसार भूमिका निवार्ह गर्न निश्चित मापदण्ड आवश्यक छ ।’
आचारसंहिता निर्माण गरी बडापत्रजस्तै गरी सर्वसाधारणले देख्न सक्ने गरी राख्ने पर्यटन मन्त्रालयको तयारी छ । यसबाट सबै निकायको जिम्मेवारीबारे यात्रुलाई थाहा हुने र कमिकमजोरी सुधार गर्न सबै निकायमाथि दवाव पर्ने अपेक्षा गरिएको छ । विमानस्थलमा अपर्याप्त शौचालय, अत्यधिक भिडभाड, चोरी, असुरक्षा, भन्सारमा ठगी तथा ढिलासुस्तीजस्ता समस्या रहेको गुनासो सर्वसाधारणको छ । ट्याक्सीबाट मनपरी भाडा असुली, अव्यस्थित व्यापारिक विज्ञापनका होर्डिङ बोर्ड, हेल्प डेक्स र सरसफाईका कर्मचारीको व्यवहार सम्बन्धमा पनि थुप्रै गुनासा आउने गरेका छन् ।
विमानस्थलको सेवा–सुविधा सम्बन्धमा यसअघि भएका विभिन्न स्थलगत अध्ययनले पनि विमानस्थलमा सोही प्रकारका समस्या रहेको औल्याइरहेका छन् । गतसाता मन्त्री पोखरलले अनौपचारिक भ्रमण गरी विमानस्थलको पछिल्लो अवस्थाबारे जानकारीसमेत दिएका थिए । सो क्रममा शौचालयसहित विमानस्थलस्थित पूर्वाधारको नियमित मर्मतसम्भारमा अझै सुधारको खाँचा रहेको उनले औल्याएका थिए ।
posted by : http://www.enayapatrika.com

Comments