क्षमताभन्दा आधा समयमात्र उड्छन नेवानिका जहाज

उपलब्ध जहाजको पूर्ण क्षमतामा सञ्चालनपछि नयाँ जहाज ः अध्यक्ष
  •  नेपाल ल्याउनासाथ दैनिक ४ घण्टा उडान गर्ने ‘एयरबस ३२०’ जहाजलाई अहिले दैनिक ७ घण्टासम्म उडाउने गरिएको छ, यी जहाजलाई दैनिक १४घण्टासम्म उडान सकिन्छ
  • निगम सञ्चालक समितिले अन्तरराष्ट्रिय उडानका लागि चार र आन्तरिक उडानका लागि चार गरी आठ वटा नयाँ जहाज खरीद गर्न प्रक्रिया अगाडी बढाउने निर्णय गरेको भएपनि निगमको पहिलो प्राथमिकता जहाज खरीद भने होइन
  • निगम व्यवस्थापनलाई सक्षम र बलियो बनाउँदै थप जहाज खरीद प्रक्रिया कार्यान्वयन गरिने
  • निगमले निकट भविश्यमा चीनको ग्वाङझाउ, भारतको कलकत्ता र यूएईको दमाममा उडान बिस्तारको योजना बनाएको छ
अहिले दैनिक ७ घण्टा उड्ने एयरबसका जहाज दैनिक १४ घण्टासम्म उडाएर व्यापार गर्नुपर्ने आवश्यकता छ, त्यसका लागि आवश्यक जनशक्ति, पाइलट र खर्चको व्यवस्थापनका लागि मन्त्रालय तयार छ’ ः  
दिनेशकुमार थपलिया
सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय 


अच्युत पुरी ÷ नयाँ पत्रिका
नेपाल वायुसेवा निगमका ब्राण्ड न्यू जहाज ‘एयरबस ३२०’ क्षमताभन्दा दैनिक आधा समयमात्र उड्ने गरेका छन् । नेपाल ल्याउनासाथ दैनिक ४ घण्टा उडान गर्ने यी जहाजलाई अहिले दैनिक ७ घण्टासम्म उडाउने गरिएको छ । एयरबस जहाजलाई विद्यमान समयको दोब्बर उडाएर सेवामा लगाउन सकिने नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । ‘अहिले दैनिक ७ घण्टा उड्ने एयरबसका जहाज दैनिक १४ घण्टासम्म उडाएर व्यापार गर्नुपर्ने आवश्यकता छ’, नयाँ पत्रिकासँग उनले भने, ‘यी जहाज त्यसका लागि सक्षम छन् ।’ मन्त्रालयको ध्यान उपलब्ध जहाजको पूर्ण क्षमतामा सञ्चालन गर्नेतर्फ रहेको र त्यसका लागि गन्तब्य बिस्तारलाई प्राथमिकता दिइने उनको भनाई छ ।
निगम सञ्चालक समितिले अन्तरराष्ट्रिय उडानका लागि चार र आन्तरिक उडानका लागि चार गरी आठ वटा नयाँ जहाज खरीद गर्न प्रक्रिया अगाडी बढाउने निर्णय गरिसकेको छ । तर, मन्त्रालयका सचिव तथा अध्यक्ष थपलियाका अनुसार जहाज खरीद अहिले निगमको पहिलो प्राथमिकतामा भने छैन । ‘पहिलो प्राथमिकता जहाज खरीद होइन,’ उनले भने, ‘भएका जहाजको पूर्ण क्षमतामा सञ्चालन गर्ने र हाम्रो क्षमताको विश्लेषण गर्दै थप हुने जहाज ल्याउनासाथ पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने मोडलका साथ निगम अगाडी बढ्दैछ ।’ निगमसँग उपलब्ध एयरबसलाई दैनिक १४ घण्टा उडाउन आवश्यक जनशक्ति, पाइलट र खर्चको व्यवस्थापनका लागि मन्त्रालय तयार रहेको पनि उनले जानकारी दिए ।
नेपालबाट टाढाका गन्तब्यमा सिधा उडान गर्न सक्ने वाइडबडी जहाज उपलब्ध नभएका कारण नेपाल आगमन महंगो हुने गरेको बताइन्छ । पहिले निगम व्यवस्थापनलाई सक्षम र बलियो बनाउँदै थप जहाज खरीद प्रक्रिया कार्यान्वयन गरिने सचिव थपलियाले बताए । ‘अन्ततः हामीलाई ठूला जहाज आवश्यक छ,’ उनले भने, ‘जहाज आइसकेपछि थन्क्याएर राख्नु नपरोस भन्ने उद्देश्य हो ।’ जहाज खरीदका लागि स्रोतको जोहो भने नेपाल सरकारबाटै हुने विश्वास निगमको छ ।
तीन नयाँ गन्तब्य थपिने
निगमले निकट भविश्यमा चीनको ग्वाङझाउ, भारतको कलकत्ता र यूएईको दमाममा उडान बिस्तारको योजना बनाएको छ । ‘उपलब्ध जहाजलाई पूर्ण क्षमतामा प्रयोग गर्ने हो भने नयाँ जहाज खरीदका लागि स्रोतको चिन्ता गर्नु पर्दैन,’ सचिव थपलियाले भने, ‘त्यसका लागि पनि गन्तब्य बिस्तार गर्नुको विकल्प छैन ।’ उनका अनुसार भारतको दिल्ली र बैंलौरमा थप उडान गर्ने सम्बन्धमा पनि अध्ययन भइरहेको छ । निगमले अहिले भारतको नयाँ दिल्लीमा दैनिक उडान गरिरहेको छ भने बैंलौर र बम्बई (मुम्बई)मा साताको तीन÷तीन उडान गरिरहेको छ । निगमले अहिले एयरबससँगै बोइङ कम्पनीका दुई जहाजमार्फत अन्तरराष्ट्रिय उडान गरिरहेको छ । भारतबाहेक कतारको दोहा, मलेसियाको क्वालालाम्पुर र हङकङ निगमका अन्तरराष्ट्रिय गन्तब्य हुन् ।
posted by : http://www.enayapatrika.com

Comments