अन्तरराष्ट्रिय एयरलाइन्सका लागि मंसिरभर इन्धन छैन


२५ प्रतिशत कम क्षमतामा उडेको दुई महिना नाध्यो
  • नेपाल आयल निगमबाट अर्को व्यवस्था नभएसम्म तत्कालका लागि डिसेम्बर १५ सम्म इन्धन उपलब्ध गराउन नसक्ने पत्र प्राप्त भएको अन्तरराष्ट्रिय वायुसेवा सञ्चालक समितिले जानकारी दिएको छ
  • नेपाल आयल निगमका लागि निजी कम्पनीले हवाईमार्गबाट हवाई इन्धन आपूर्ति गर्ने सम्झौता भएपनि अझै कार्यान्वयन हुन सकेको छैन
  • अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुले काठमाडौंमा इन्धन नपाउने अवस्थामा अतिरिक्त इन्धन बोक्दा सीट क्षमताभन्दा २५ प्रतिशतसम्म कम यात्रु राख्नुपर्ने बाध्यता रहेको कम्पनीहरुको भनाई छ
  •  नेपाल आयल निगमले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई गत असोज १२ गतेबाट इन्धन उपलब्ध गराउन छाडेको थियो
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं १२, मंसिर
नेपालमा उडान गर्ने अन्तरराष्ट्रिय वायुसेवा कम्पनीका लागि मंसिर मसान्त (डिसेम्बर १५) सम्म नेपालमा इन्धन उपलब्ध नहुने भएको छ । नेपाल आयल निगमबाट अर्को व्यवस्था नभएसम्म तत्कालका लागि डिसेम्बर १५ सम्म इन्धन उपलब्ध गराउन नसक्ने पत्र प्राप्त भएको अन्तरराष्ट्रिय वायुसेवा सञ्चालक समितिले जानकारी दिएको छ । यससँगै कम्पनीहरुले डिसेम्बर अन्तिमसम्म इन्धन नपाउने अनुमानसहित आफ्नो तयारी गरिरहेको समितिका अध्यक्ष श्रेष्ठले बताए । ‘अहिलेसम्म कहिलेबाट इन्धन पाइन्छ भन्ने जानकारी आएको छैन,’ उनले भने, ‘यही अवस्थामा अझै पनि भारतमा प्राविधिक अवतरण गरी नेपाल उडानलाई निरन्तरता दिनुको विकल्प छैन ।’
नेपाल आयल निगमका लागि निजी कम्पनीले हवाईमार्गबाट हवाई इन्धन आपूर्ति गर्ने सम्झौता भएपनि अझै कार्यान्वयन हुन सकेको छैन । पर्याप्त इन्धन आपूर्ति हुन थालेपछि भने अन्तरराष्ट्रिय वायुसेवाका लागि पनि नेपालमै इन्धन बिक्रि गर्ने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपोको तयारी छ । अहिले नेपाल वायुसेवा निगमले कलकत्ताबाट एयरलिप्mट गरी ल्याएको सिमित हवाई इन्धनलाई नेपाल आयल निगमले आन्तरिक वायुसेवा कम्पनीका लागि कोटा प्रणालीका आधारमा बितरण गर्दै आएको छ ।    
अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुले काठमाडौंमा इन्धन नपाउने अवस्थामा अतिरिक्त इन्धन बोक्दा २५ प्रतिशतसम्म यात्रु कम बोक्नु पर्ने बाध्यता रहेको बताइएको छ । ‘सम्बन्धित गन्तब्यबाट काठमाडौं आएपछि पुनः कलकत्ता, लखनउ, दिल्ली या अन्य शहरसम्म पुग्ने इन्धन अतिरिक्त बोक्नुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यस अवस्थामा पूर्ण क्षमतामा यात्रु बोक्न मिल्दैन ।’ नेपालमा चाडबाड र मूख्य पर्यटकीय मौसम रहेका कारण पनि सेप्टेम्बरदेखि डिसेम्बरसम्म अधिकांश अन्तरराष्ट्रिय एयरलाइन्सले फुल अक्कुपेन्सीसहित नेपालमा उडान गर्दै आएका छन् ।
नेपाल आयल निगमले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई गत असोज १२ गतेबाट इन्धन उपलब्ध गराउन छाडेको थियो । त्यसपछिको दुई महिनायता ठूलो आर्थिक भार बेहोरेर भएपनि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडानलाई भने निरन्तरता दिइरहेको समितिको भनाई छ ।
यसबीचमा दुई ओटा चिनियाँ कम्पनीले भने नेपाल उडान कतौती गरेका छन् । चाइना साउर्दन र चाइना इस्टर्नले नेपाल उडान कटौती गरेको बताइएको छ । चीनका दुई कम्पनीबाहेक अन्य कम्पनीका उडान भने नियमित रहेको श्रेष्ठले जानकारी दिए । कम्पनीहरुले नेपालमा असहज परिस्थति हुँदाहुँदै पनि सेवा जारी राखेर नेपाललाई सहयोग गरिरहेको उनको भनाई छ । ‘यस अवस्थामा कम्पनीलाई पुगेको अतिरिक्त आर्थिक भारका बारेमा हरेक कम्पनीको मूख्यालयले लेखाजोखा गरिरहेको होला,’ उनले भने, ‘जुन अवस्थामा उडानले निरन्तरता पाएको छ, त्यसले नेपाललाई ठूलो सहयोग पुगेको छ ।’ 
posted by : http://www.enayapatrika.com

Comments