- ‘यात्रु, कर्मचारी र सामान ओसार्ने गाडीमा इन्धन भएन’
- टर्मीनल भवनदेखि वायुयानसम्म यात्रु, कार्गो र कर्मचारी पु¥याउने सवारी साधनका लागि पेट्रोलियम पदार्थको अभाव भएपछि आन्तरिक उडानहरू प्रभावित हुने भएको छ
- हवाई सेवालाई अत्यावश्यक सेवाका रूपमा लिइन्छ । वायुयान सञ्चालनका लागि आवश्यक ‘ग्राउण्ड पावर इक्वुपमेण्ट’, यात्रु ओसारपसार, मालसामान ढुवानी र चालक तथा कर्मचारीको ओसारपसारका लागि वायुसेवा कम्पनीका दजनौं सवारी–साधन तथा ट्याक्टरहरू चल्ने गर्छन्
- निगम र गृहमन्त्रालयमा आयोन तथा सम्बन्धित कम्पनीले तेल उपलब्ध गराउन आग्रह गर्दै पत्र लेखेका थिए । तर, दुबै निकायले इन्धन उपलब्ध गराउन नसकिने जानकारी कम्पनीहरूलाई गराएका छन्
अच्युत पुरी ÷ नयाँ पत्रिका
केही दिनका लागि हवाई इन्धनको जोहो गरेको नेपाल आयल निगमले सवारी साधनका लागि पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसकेपछि आन्तरिक उडान प्रभावित हुने भएको छ । टर्मीनल भवनदेखि वायुयानसम्म यात्रु, कार्गो र कर्मचारी पु¥याउने सवारी साधनका लागि पेट्रोलियम पदार्थको अभाव भएपछि आन्तरिक उडानहरू प्रभावित हुने वायुसेवा सञ्चालक सङ्घ (आयोन)ले जानकारी दिएको छ ।
अर्कोतर्फ वायुयान चालक तथा कर्मचारीलाई विमानस्थलसम्म पु¥याउने गाडीमा पनि इन्धन अभाव भएपछि आन्तरिक वायुसेवाको नियमित उडान प्रभावित हुने सङ्घका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिएका छन् । ‘हालको असहज परिस्थितिमा पनि आयल निगमबाट आन्तरिक वायुसेवालाई हवाई इन्धनको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त भएअनुसार उडान सञ्चालन भइरहेको छ,’ उनले भने, ‘तर, डिजल र पेट्रोलको अभावले आन्तरिक उडान प्रभावित हुने सम्भावना छ ।’
हवाई सेवालाई अत्यावश्यक सेवाका रूपमा लिइन्छ । वायुयान सञ्चालनका लागि आवश्यक ‘ग्राउण्ड पावर इक्वुपमेण्ट’, यात्रु ओसारपसार, मालसामान ढुवानी र चालक तथा कर्मचारीको ओसारपसारका लागि वायुसेवा कम्पनीका दजनौं सवारी–साधन तथा ट्याक्टरहरू चल्ने गर्छन् ।
नियमित बन्दका कारण अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडानको चाँप बढेको छ । त्यसको व्यवस्थापनका लागि पनि बिहानदेखि साँझसम्म सवारी साधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको आयोनले बताएको छ । ‘अहिलेसम्म जसोतसो व्यवस्थापन भइरहेको छ,’ आयोनका कार्यकारी निर्देशक विमलेश बर्माले भने, ‘तेल नपाउने हो भने केही दिनबाटै उडानहरू प्रभावित हुन थाल्नेछन् ।’ निगम र गृहमन्त्रालयमा आयोन तथा सम्बन्धित कम्पनीले तेल उपलब्ध गराउन आग्रह गर्दै पत्र लेखेका थिए । तर, दुबै निकायले इन्धन उपलब्ध गराउन नसकिने जानकारी कम्पनीहरूलाई गराएका छन् ।
अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सेवासहित १६ कम्पनीले आन्तरिक उडान सेवा सञ्चालन गरिरहेका छन् । त्यसमध्ये सबै कम्पनीका गाडीहरू विमानस्थल भित्र र बाहिर अत्यावश्यक सेवाका लागि खटिन्छन् । विमानस्थल कार्यालयका अनुसार ठूला कम्पनीका एक दर्जनसम्म र साना कम्पनीका समेत केही गाडीहरू यहाँ सञ्चालनमा छन् । यी गाडीहरूले हरेक उडान र अवतरणका बेला ओहोरदोहोर गर्नुपर्ने हुन्छ ।
posted by : http://www.enayapatrika.com
Comments
Post a Comment