सम्भाब्यता अध्ययन गर्दै प्राधिकरण
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका विमानस्थलहरुलाई सौर्य ऊर्जामार्फत सञ्चालन गर्न सकिने सम्भाबनाबारे कार्यदल गठन गरेर अध्ययन थालेको हो
- कार्यदलका संयोजक तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक बीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार आइतबारसम्म देशभरका आन्तरिक विमानस्थलबाट प्रारम्भिक प्रतिवेदन प्राप्त हुँदैछ । विमानस्थल कार्यलयहरुले दिने प्रारम्भिक प्रतिवेदनका आधारमा मन्त्रालयलाई फाइनल रिपोर्ट बुझाउने तयारी छ
- ‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाहेक देशका अन्य विमानस्थलहरुमा सोलारबाट पनि ऊर्जा आपूर्ति गर्न सकिने देखिएको छ । कार्यदलले दिने प्रतिवेदनका आधारमा थप प्रक्रिया अगाडी बढ्छ’ दीनेशकुमार थपलिया, सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
अच्युत पुरी ÷ नयाँ पत्रिका
काठमाडौं २, माघ
सरकारले देशभरका आन्तरिक विमानस्थलहरुमा ऊर्जा आपूर्ति सौर्य ऊर्जाबाट गर्न सकिने सम्भावनाबारे अध्ययन थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका विमानस्थलहरुलाई सौर्य ऊर्जामार्फत सञ्चालन गर्न सकिने सम्भाबनाबारे कार्यदल गठन गरेर अध्ययन थालेको मन्त्रालयका सचिव दीनेशकुमार थपलियाले जानकारी दिए । ‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाहेक देशका अन्य विमानस्थलहरुमा सोलारबाट पनि ऊर्जा आपूर्ति गर्न सकिने देखिएको छ,’ उनले भने, ‘कार्यदलले दिने प्रतिवेदनका आधारमा थप प्रक्रिया अगाडी बढ्छ ।’
कार्यदलका संयोजक तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक बीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार आइतबारसम्म देशभरका आन्तरिक विमानस्थलबाट प्रारम्भिक प्रतिवेदन प्राप्त हुँदैछ । विमानस्थल कार्यलयहरुले दिने प्रारम्भिक प्रतिवेदनका आधारमा मन्त्रालयलाई फाइनल रिपोर्ट बुझाइने उनले जानकारी दिए । श्रेष्ठका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाहेक देशका अन्य विमानस्थलमा सौर्य ऊर्जाबाट विद्युत आपूर्ति गर्न सक्ने सम्भावना देखिएको छ । ‘प्राधिकरणका लागि सोलार जडान गरी विद्युत आपूर्ति गर्ने प्रविधि नौलो होइन,’ हामीले कतिपय स्टेशनमा ३० वर्ष अगाडीदेखि नै सोलारमार्फत ऊर्जा लिइरहेका छौं ।’
काठमाडौं, नेपालगञ्ज, बिराटनगरजस्ता ठूला विमानस्थलबाहेक अन्य दूर्गम र साना विमानस्थलमा अहिले पनि सौर्य ऊर्जाबाटै विद्युत आपूर्ति हुने गरेको श्रेष्ठले जानकारी दिए । अहिले विद्युत आपूर्ति भइरहेको स्थानमा सोलारले विस्थापित गर्न सके प्रारम्भमा बढी खर्च लागेपनि दीर्घकालिन रूपमा सस्तो पर्ने उनको भनाई छ । ‘सामान्यतया सोलार प्यानलको आयू २०÷२५ वर्षको हुन्छ’, उनले भने, ‘राम्रो ब्याट्रि प्रयोग गर्ने हो भने सोलार प्रविधि सस्तो हुन्छ ।’ इटहरी, दाङलगायतका स्टेशनमा यस अघि नै सोलारको प्रयोग भइसकेको निर्देशक श्रेष्ठले जानकारी दिए ।
मन्त्रालयले तत्काल गर्न सकिने कामहरुको विवरणलाई समेटेर दुई वर्षे कार्ययोजना बनाएको छ । कार्ययोजनाअनुसार देशभरका विमानस्थल र प्रमुख धार्मिक सम्पदामा सौर्य ऊर्जाबाट विद्युत आपूर्तिको व्यवस्था मिलाउने उल्लेख भएबमोजिम कार्यान्वयन प्रक्रिया शुरु भएको सचिव थपलियाले जानकारी दिए । ‘सोलार जडान प्रक्रिया अगाडी बढाउनुका मूख्य दुई उद्देश्य छन्’, सचिव थपलियाले भने, ‘ऊर्जा आपूर्तिको यो प्रविधि दीर्घकालिन रुपमा सस्तो पर्नेछ भने वर्तमान सरकारको एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा कार्यान्वयनमा योगदान पुग्नेछ ।’ कार्यदलले गत आइतबारबाट काम थालेको र देशभरका आन्तरिक विमानस्थलबाट प्राप्त प्रतिवेदनलाई समेटेर अन्तिम प्रतिवेदन मन्त्रालयमा बुझाइने कार्यदल संयोजक श्रेष्ठले जानकारी दिए ।
posted by : http://www.enayapatrika.com/2016/01/47954
Comments
Post a Comment