अन्तरराष्ट्रिय विमानस्थलमा महिला कर्मचारीलाई प्राथमिकता


  • हेल्प डेस्कलगायतका डेस्कमा वर्दिवाला प्रहरीलाई हटाएर महिला राख्नुप¥यो
  • विमानस्थलमा खटिने कर्मचारीको व्यवहारले यात्रुलाई निकै ठूलो प्रभाव पार्ने भएकाले विमानस्थलस्थित यात्रुको प्रत्यक्ष सरोकार राख्ने स्थानमा महिला कर्मचारी आवश्यक देख्एिको हो
  • ‘सहयोग कक्षहरूमा ‘हस्पिटालीटी व्यवस्थापन’ अध्ययन गरिरहेका विद्यार्थीलाई ‘इन्टर्न’का रूपमा काममा राख्न सकिन्छ
  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नतीमा भइरहेको ढिलाईमा माटोको अभाव र ठेकेदारको लापरवाही प्रमुख कारण
अच्युत पुरी ÷नयाँ पत्रिका
काठमाडौं ८, भदौ
व्यवस्थापिक संसद, विकास समितिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित विभिन्न निकायमा महिला कर्मचारीलाई प्राथमिकताका साथ राख्न निर्देशन दिएको छ । विमानस्थलमा खटिने कर्मचारीको व्यवहारले यात्रुलाई निकै ठूलो प्रभाव पार्ने भन्दै समितिले विमानस्थलस्थित यात्रुको प्रत्यक्ष सरोकार राख्ने स्थानमा महिला कर्मचारी राख्न निर्देशन दिएको हो ।
विशेषगरी सहयोग कक्षहरूमा महिला कर्मचारी राख्नुपर्ने समितिको भनाई छ । ‘हेल्प डेस्कलगायतका डेस्कमा वर्दिवाला प्रहरीलाई हटाएर महिला राख्नुप¥यो,’ समितिले गत साता गरेको विमानस्थलको स्थलगत अध्ययनपछि सोमवार सभामुख सुवास नेम्वाङलाई बुझाएको प्रतिवेदनमा उल्ल्ेख छ, ‘सहयोग कक्षहरूमा ‘हस्पिटालीटी व्यवस्थापन’ अध्ययन गरिरहेका विद्यार्थीलाई ‘इन्टर्न’का रूपमा काममा राख्न सकिन्छ ।’
भन्सार, अध्यागमन, टर्मीनलजस्ता सरोकारवाला निकायले पनि महिला कर्मचारीलाई प्राथमिकताका साथ राख्न समितिले निर्देशन दिएको छ । कर्मचारीको व्यवहारमा परिवर्तन ल्याउँदै मिठास र मुस्कानसहितको सेवामा जोड दिनुपर्ने समितिको सुझाव छ । अन्तरराष्ट्रिय विमानस्थलको सेवा कमजोर भएको र अन्तरराष्ट्रिय मापदण्डअनु्सार नभएको गुनासो आइरहेका बेला समितिले विमानस्थल व्यवस्थापनका लागि सरोकारालाका नाममा झण्डै ४ दर्जन निर्देशन र सुझाव दिएको छ । 
विमानस्थल भित्रका तल्लो तहका कर्मचारी ‘स्मार्ट’ राख्नुपर्ने, विमानस्थल भित्र खुला धुम्रपानमा रोक लगाई ‘स्मोकिङ जोन’को व्यवस्था, निःशु्ल्क सेवा दिनुपर्ने ट्रलीका लागि कर्मचारीले लिने शुल्क रोक्नु्पर्ने, ट्याक्सी, शौचालय, क्यान्टिनजस्ता अत्यावश्यक सेवालाई व्यापारका रूपमा प्रयोगमा नल्याउन समेत समितिले विमानस्थल व्यवस्थापनलाई आग्रह गरेको छ । विमानस्थलमा इण्टरनेट सुविधा वृद्धि, विमान पर्खिएका यात्रुका लागि पर्याप्त स्थान, सुरक्षाका लागि सीसीटीभीको सङ्ख्या वृद्धि तथा विमानस्थल भित्रका पुराना सङ्केत चिन्हलाई परिवर्तन गरी अत्याधुनिक बनाउनु् पर्ने अनुगमनको निष्कर्ष छ ।
माटोको समस्याले स्तरोन्नतीमा  ढिलाई 
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नतीमा भइरहेको ढिलाईमा माटोको अभाव र ठेकेदारको लापरवाही प्रमुख कारण रहेको समितिको निष्कर्ष छ । विमानस्थल व्यवस्थापनका अनुसार धावनमार्गको उत्तर–पश्चिम क्षेत्रमा २० लाख घनमिटर माटो भरी अन्तरराष्ट्रिय विमान पार्किङ, ‘ट्याक्सीवे’ र ‘एक्जिट ट्याक्सी वे’ बनाउने योजनाअन्तर्गत अझै १६ ला घनमिटर माटो आवश्यक रहेको छ । माटाको आपूर्ति पुशपति क्षेत्र विकास कोषको खानीबाट भइरहेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानपछि माटो ल्याउने काम बन्द  भएको थियो । त्यसपछि आयोजनाको काम प्रभावित भएको समितिद्धारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ । आयोजना कार्यान्वयनको जिम्मेवारी पाएका ठेकेदारले समेत इमानदारीपूर्वक काम नगरेको पाइएको छ ।
अहिले निर्माण व्यवसायीले काठमाडौंसहित, भक्तपुर, काभ्रे, ललितपुरलगायत स्थानबाट माटो ल्याई निर्माण कार्य सञ्चालन गरिरहेको र ती स्थानमा पनि स्थानियबाट अवरोध आइरहेको भन्दै समितिले समस्या समाधानका लागि सहजीकरणको आवश्कयकता औल्याएको छ । विमानस्थल आसपासको क्षेत्रमा स्वीकृत बीना निर्माण भएका अग्ला भवनले वायुयानको उडान सुरक्षामा असर गरेको, विमानस्थलको ग्राउण्ड सेफ्टी सुरक्षित नभएको, नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडिलिङ सेवा आधुनिक र प्रभावकारी नभएको तथा विमानस्थलमा पर्याप्त ‘स्क्यानर’ र ‘एक्सरे मेसिन’ नभएकोजस्ता तथ्यसमेत अनुगमन टोलीले फेला पारेको थियो ।
posted by : http://www.enayapatrika.com

Comments