टायर : ‘बजारीकरणका लागि उपयुक्त अवसर’

नयाँ पत्रिका
काठमाडौंमा जारी नाडा अटो शोमा झण्डै आधा दर्जन कम्पनीले आफ्ना उत्पादन प्रस्तुत गरेका छन् । प्रदर्शनीमा ‘सीयट’, ‘म्याक्सीस’,  ‘पीरेली’, ‘अपोलो’, ‘मिसलीन’जस्ता अन्तरराष्ट्रिय ब्राण्ड राखिएका छन् । यी ब्राण्डका टायरहरू फोर्ड, फियाट, होण्डा, हुण्डा्रई, महिन्द्रा, मित्सुविसी, निसान, स्कोडा, टाटा, टोयोटाजस्ता नेपालमा बढी बिक्रि हुने कम्पनीका सवारी साधनमा प्रयोग गर्न सकिने बिक्रेताहरूले जानकारी दिए । यस्ता प्रदर्शनीले उपभोक्ताबीच कम्पनीको ब्राण्डलाई चिनाउन महत्वपूर्ण योगदान गरेको म्याक्सिस ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता भगवती इण्टरनेशधनलका निर्देशक रिसभ खेतानले जानकारी दिए । ‘हामीले मेलालाई बिक्रिभन्दा बढी बजारीकरणका लागि उपयुक्त अवसरका रूपमा हेरेका छौं ’ उनले भने, ‘उपभोक्तासँग नजिक हुन योभन्दा उपयुक्त मौका सम्भव छैन ।’

कम्पनीहरूले मेलालाई छूट र अफरभन्दा आफ्ना उत्पादनको प्रचारका लागि उपयोगमा ल्याउन चाहेको पिरेली टायरको नेपालका लागि अधिकृत आयातकर्ता प्रणाम इण्टरनेशनलका बजार प्रवन्धक आकाश बिक्रम थापाले बताए । विविध ब्राण्डलाई एउटै थलोमा राखिएका कारण अवलोकनकर्ताले नाडा अटो शोलाई ब्राण्ड छनोटको अवसरका रूपमा पनि लिने गरेको उनको अनुभव छ ।
नाडा अटो शो’मार्फत कम्पनीहरूले आगामी दिनमा आफ्ना ब्राण्डको व्यापार बढाउन सहयोग पुग्ने अपेक्षा गरेको ‘मिसलीन’ ब्राण्डका टायरको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिका अफिसर सेल्स (टायर) प्रचण्ड थापाले बताए । ‘शोमार्फत उपभोक्तामा एक प्रकारको माहौल सिर्जना गरेको छ,’ उनले भने, ‘सोधखोज गर्ने र चासो राख्नेहरूको बढी भिडभाड देखिएको छ । सिप्रदीले मेलामा टायरको बास्केटबल बनाएर प्रतियोगितासमेत सञ्चालन गरेको छ । यस प्रकारका गतिविधिले उपभोक्तालाई आकर्षित गर्ने गरेको उनको अनुभव छ ।
गुणस्तरीय उत्पादनको माग
पछिल्लो समय ग्राहकले गुणस्तरीय उत्पादनप्रति बढी चासो राख्ने गरेको बिक्रेताहरू बताउँछन् । ‘बजारमा धेरै प्रकारका उत्पादन उपलब्ध छन्,’ एपोलो टायरका बिक्रेता अविशेक कुमार श्रीवास्तभवले भने, ‘नाडा शो गुणस्तरीय उत्पादनको छनोटको एक गन्तब्यसमेत हो ।’ शोहरूमा किनबेचभन्दा बढी उपभोक्तालाई जानकारी दिने उद्देश्य राखिएको उनको भनाई छ ।
अन÷अफ दुबै बाटोका लागि ‘मिसलिन’
मिसलिन ब्राण्डका टायर अन÷अफ दुबै रोड एप्लिकेशनका लागि उपयुक्त रहेको मिसलिनको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले बताएको छ । उत्कृष्ट माइलेज (कम इन्धन खपत) प्रदान गर्ने मिसलिनका टायरलाई चिसो बनाइराख्न ‘अण्डर ट्रेड कम्पाउण्ड प्रोफाइल’ प्रयोग गरिएको कम्पनीको भनाइ छ । उच्च रिट्रेडेबिलिटीयुक्त यस्ता टायरहरू ‘उत्कृष्ट क्राउन प्रतिरोधक’ रहेको बताइएको छ ।
ब्राण्ड चिनाउँदै ‘म्याक्सिस ’
म्याक्सिस ब्राण्डका टायरहरू नेपाली बजारका लागि नयाँ रहेको कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता भवगती इण्टरनेशनले जानकारी दिएको छ । ताइवानमा निर्मित यी टायरहरूका लागि कम्पनीले अहिले १० प्रतिशत छूटको योजनासमेत ल्याएको छ । विभिन्न शर्तसहित म्याक्सिसका टायरहरूमा शतप्रतिशत ग्यारेण्टीसमेत उपलब्ध छ ।
इन्धन किफायति ‘सीयट’
एसटीसी अटो प्रालिले नेपालमा सीयट ब्राण्डका टायरहरू उपलब्ध गराउँछ । उच्च भारवहन क्षमतामा ट्रकदेखि हलुका सवारी साधनका लागि सीयटका टायर उपयोगी रहेको कम्पनीले बताएको छ । सीयटका टायर इन्धन किफायति रहेको तथा अन–अफ दुबै रोडमा चलाउने सवारी साधनमा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।
टायरको लामो आयुका लागि ‘अपोलो’
अपोलो ब्राण्डका टायरहरू टिकाउ टायर ब्राण्डमध्येमा पर्ने अपोलोको नेपालका लागि आधिकारिक बिक्रेता अपोलो टायर्स लिमिटेडको भनाइ छ । विश्व अटोबजारमा उपलब्ध पछिल्ला प्रविधि प्रयोग गरि निर्माण भएका एपोलोका टायरहरूमा तिब्र गतिमा रहेका बेला पनि राम्रो ‘ग्रीप’ रहने भएकाले सवारी चिप्लनबाट जोगाउँछ ।
वातावरणमैत्री ‘पिरेली’
सडक र अन्य संरचनामा पनि कम इन्धन किफायति (बढी माइल चल्ने) पिरेलीका टायरहरू वातावरणमैत्री रहेको पिरेलीको अधिकृत आयातकर्ता प्रणाम इण्टरनेशनले जानकारी दिएकोे छ । लामो दूरीसम्म चल्ने पिरेलीका टायरहरू विकसित किसिमका समग्रीको मिश्रणबाट बनाइएका कारण समान ढङ्गले खिइन्छन् । यस प्रकारको प्रविधि प्रयोग गरिएका टायर जडान भएका सवारी साधनले कम कार्वन फ्याँक्ने कम्पनीको भनाइ छ । पिरेलका टायरको ग्रिप क्षमता पनि राम्रो रहेको प्रणाम इण्टरनेशनले उल्लेख गरेको छ ।

Comments