दुई पाङ्ग्रे अब अत्यावश्यक सवारी

अच्युत पुरी \ नयाँ पत्रिका
काठमाडौं वनस्थली, ढुङ्गेधारामा किराना पसल सञ्चालन गर्दै आएका युवा व्यवसायी लक्ष्मण खनाल यातायातका लागि मोटरसाइकल प्रयोग गर्छन् । बिहानभर अध्ययनमा गएर बचेको समयमा व्यवसाय थालेका खनाललाई समय व्यवस्थापन र ग्राहकको मन जित्न मोटरसाइकल सहयोगी सावित बनेको छ । ‘अर्डर आएको स्थानमा तत्काल सामान पु¥याउनमात्र होइन’, उनले भने, ‘ग्राहकलाई खाली हात नपठाउने मेरो लक्ष्यमा मोटरसाइकलको ठूलो भूमिका छ ।’ सडक बिस्तार अभियानका क्रममा राजधानीको सडक लथालिङ्ग अवस्थामा छ । अत्यधिक ट्राफिक चाँप र सडकमा हुने भिडभाडका सार्वजनिक सवारी प्रयोग गर्दा लाग्ने समय बचतका लागि पनि दुई पाङ्ग्रे सवारी प्रयोगकर्ताको पहिलो रोजाईमा पर्ने गरेको छ ।

शिक्षण पेशाका रूपमा बिहान ७ बजेदेखि साँझ १० बजेसम्म विभिन्न काममा व्यस्त रहने चावहिल निवासी भूमिश्वर पौडेलको दैनिकी मोटरसाइकल बीना एक पाइला पनि अगाडी बढ्दैन । सार्वजनिक यातायात चढ्नु र हिँडेर गन्तब्यमा पुग्न बराबर जस्तै लाग्ने समयमा मोटरसाइकलको प्रयोगपछि एकसाथ धेरै संस्थामा आवद्ध भएर काम गर्न सम्भव भएको उनको अनुभव छ । रातको समयमा अबेरसम्म बस्नुपर्ने कामकाजीहरूका लागि राजधानीमा रात्री यातायातको व्यवस्था छैन । सबै संस्थामा यातायातको सुविधा नहुने भएकाले दुई पाङ्ग्रे सवारी अनिवार्य साधनका रूपमा विकसित हुँदै गएको हो ।
न्यूरोडस्थित एक बैङ्कको शाखा कार्यालयमा कार्यरत दिपा गिरीका लागि स्कूटरको प्रयोगले दैनिकी निकै सहज बनेको छ । आप्mनै सवारी साधनको प्रयोगपछि सार्वजनिक यातायातमा चढ्दा महिलाले भोग्नु पर्ने सास्ती, दूव्र्यवहार र तथा असुरक्षित महसुश हट्दै गएको उनको अनुभव छ । बिहान कलेज, त्यसपछि घरमा फर्किएर खाना पकाएर कार्यालय जानुपर्ने कामकाजी युवतिका लागि स्कूटरले निकै सहयोग गरेको उनले बताइन् । ‘स्कूटर देखेपछि गति बढाएर असावधानीवशः कुदाउने मोटरसाइकल र सवारी चालकसँग भने निकै सतर्क हुनुपर्छ,’ उनले भनीन् ।
बढी गर्मी तथा जाडोसमेत नहुने नेपालको मौसम तथा साघुँरा गल्ली बढि भएको सडक सञ्जालका लागि मोटरसाइकल उपयुक्त सवारी साधन मानिन्छ । यातायात व्यवस्था विभागका अनुसार नेपालमा बिक्रि हुने सवारी साधनमध्ये मोटरसाइकलको सङ्ख्या अत्यधिक छ । २०७२ साल बैशाखसम्म कूल १५ लाख ३८ हजार ५ सय ४६ ओटा मोटरसाइकल दर्ता भएका छन् । आर्थिक वर्ष २०७१÷७२ मा मात्र १ लाख ६७ हजार ३ सय ४० ओटा मोटरसाइल दर्ता भएको विभागको तत्याङ्कमा उल्लेख छ । साँघुरा सडक तथा सार्वजनिक यातायात व्यवस्थापन व्यवस्थित नभएका कारण नेपालमा दुई पाङ्ग्रे सवारी आवश्यकता बनिसकेको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठको भनाइ छ । ‘आज व्यक्तिहरूका आवश्यकता निकै बढेका छन्’, उनले भने, ‘सार्वजनिक यातायातमा अरुको भर परेर जानु साटो व्यक्तिगत सवारी अत्यावश्यक जस्तै बनिसकेको छ ।’
दुई पाङ्ग्रे सवारीप्रति यूवादेखि पाको उमेरसम्म उत्तिकै आकर्षण देख्न पाइने हिरो ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङकी सञ्चार संयोजक शीतल दाहालले बताइन् । ‘हिरो कम्पनीका मोडलहरू अलि पाका उमेरका र भद्र–भलाद्मी वर्गमा लोकप्रिय छन्,’ उनले भनिन्, ‘एक्स्ट्रीम मोडलका बाइक भित्रिएपछि युवापुस्तामा हिरोको आकर्षण बढीरहेको छ ।’
सस्तो मूल्य–सजिलो प्रक्रिया
नेपालीको आम्दानीमा वृद्धि हुँदै गएपछि पछिल्लो समय दुई पाङ्गे्र सवारी प्रयोगकर्ताको सङ्ख्या उल्लेख बढेको तथ्याङ्कहरूले देखाएको छन् । नेपालमा १ लाख २५ हजार रुपैयाँभन्दा माथिको मूल्यमा ‘ब्राण्ड न्यू’ दुई पाङ्ग्रे सवारी खरीद गर्न सकिन्छ । अधिकतम ४० लाख रुपैयाँसम्म पर्ने दुई पाङ्ग्रे सवारी नेपालमा उपलब्ध छन् । नेपालमा टिभिएस, बजाज, होण्डा, हिरो, यामाहाजस्ता ब्राण्डका दुई पाङ्ग्रे सवारीको बिक्रि वितरण हुन्छ ।
दुई पाङ्ग्रे सवारी खरीदका लागि सहज र सुलभ फाइनान्सको सुविधा उपलब्ध छ । एक साथ बढीमा ६० हजार रुपैयाँसम्म जुटाउन सक्ने ग्राहकले फाइनान्सको सुविधामा मोटरसाइकल खरीद गर्न सक्छन् । पछिल्लो समय विभिन्न व्यवसायिक सङ्घ–संस्थाले आफ्ना कर्मचारीका लागि फाइनान्सको सुविधा उपलब्ध गराउने प्रचलन बढेको छ । कर्मचारीको मासिक पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी संस्थाले नै फाइनान्सवापतको रकम तिरिदिने सुविधाका कारण पनि मोटरसाइकल खरीद गर्दा सहज हुने गरेको छ ।
रेमिट्यान्सको प्रभाव दुई पाङ्ग्रेमा
वैदेशिक रोजगारीका कारण नेपालीको क्रयःक्षमतामा वृद्धि भएसँगै पछिल्लो समय जिल्ला सदरमुकाम तथा ग्रामिण क्षेत्रमा पनि दुई पाङ्ग्रे सवारीको माग बढ्दो छ । नेपालका विभिन्न व्यवसायिक घरानाले मोटरसाइलको आधिकारिक बिक्रेताका रूपमा आफ्नो सञ्जाल देशभर बिस्तार गरिसकेका छन् । सजिलै पार्टपूर्जा उपलब्ध हुने, बिक्रिपछिको सेवामा कम झण्झटजस्ता विशेषताका कारण दुई पाङ्ग्रे सवारी साधनले नेपालमा राम्रो बजार पाइरहेको छ । ग्रामिण भेगसम्म पुगेको सडक सञ्जाल र ग्रामिण भेगका नेपालीको पनि आयस्रोत बढेपछि दुई पाङ्ग्रेको माग अत्यधिक हुने गरेको बिक्रेताहरू बताउँछन् । लामो समयसम्म ट्राफिक जाममा फस्दा पनि वैकल्पिक मार्ग समाउन सकिने तथा इन्धन किफायती हुने भएकाले मध्यम र उच्चवर्गका नेपालीबीच मोटरसाइकलको आकर्षण देखिएको हो ।

Comments