१ महीनाभित्र झण्डै एक दर्जन होटलमा कर्मचारी थप

April 20, 2015
वैशाख ६, काठमाडौं । दक्ष कर्मचारीको अभाव भोगिरहेको नेपाली हस्पिटालिटी उद्योगले पछिल्लो समय रोजगारीका विभिन्न अवसर सृजना गरिदिएको छ । मार्च र अप्रिल महीनामा मात्र केही पाँचतारे होटलसहित झण्डै एक दर्जन ठूला होटल र रेष्टुराँले कर्मचारी थप गरेका छन् । केही होटलमा भने अझै पनि ‘करियर’को अवसर कायम छ । यसबीचमा होटल हायात, अन्नपूर्ण होटल, होटल द्वारिका, द लिफ्ट हस्पिटालिटीजस्ता ठूला होटल र रिसोर्टले कर्मचारी थप गरेका छन् । पाँचतारे होटल हायातले मार्च र अप्रिल महीनामा विभिन्न पदमा कर्मचारी थपेको छ । होटलका अनुसार यसबीचमा मानव संसाधन निर्देशक र प्रबन्धक, इञ्जिनीयरिङ निर्देशक, सेल्स एक्जुकेटिभ, जुनियर सेफ, ‘रूम सर्भिस अर्डर टेकर, मसाज थेरापिष्टजस्ता पदमा नयाँ कर्मचारी थपिएको हो ।

यस्तै स्थापनाको ५०औं वार्षिकोत्सव मनाउने तयारीमा रहेको पाँचतारे होटल अन्नपूर्णले पनि यसै महीना झण्डै आधा दर्जन पदमा कर्मचारी थपेको छ । होटलले अप्रिल महीनाको पहिलो सातासम्म आइपुग्ने गरी सेल्स म्यानेजर (लेजर), सेल्स म्यानेजर (कर्पोरेट), असिष्टेण्ट एफ एण्ड बी म्यानेजर, मल्टिपल आउटलेट म्यानेजर, मानव संसाधन प्रबन्धकजस्ता पदमा आवेदन मागेको थियो । द्वारिकाज रिसोर्ट धुलिखेलले सोमवारसम्म आवेदन दिनसकिने गरी ‘आईटी अफिसर’ पदमा कर्मचारी माग गरेको छ ।
नेपालमा रिसोर्ट स्थापनाको तयारी गरिरहेको अन्तरराष्ट्रिय चेन रिसोर्ट ‘द लिफ हस्पिटालिटी’ले पनि यसै महीना ‘रिसोर्ट म्यानेजर’ र ‘सिनियर सेल्स एडमिन’ पदमा कर्मचारी भर्ना गरेको छ । थाइल्याण्डको सो कम्पनीले नगरकोटबाट सेवा दिने योजना बनाइरहेको छ । यसै महीना धापासीस्थित नेचर रिभिजिटेड प्रालिले पनि म्यानेजर, एफ एण्ड बी एक्जुकेटिभलगायत १० ओटा पदमा झण्डै २० कर्मचारीका लागि आवेदन मागेको थियो । विभिन्न तारे होटलका लागि कर्मचारी उपलब्ध गराउँदै आएको ‘स्टार होटल भ्याकेन्सी’ले पनि मार्च र अप्रिल महीनामा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । ती पदमा अप्रिल महीनाभर आवेदन दिन सकिने बताइएको छ ।

नेपालमा काम सिक्ने र राम्रो अवसरको खोजीमा विदेश जाने क्रम बढेपछि होटल उद्योगमा दक्ष कर्मचारीको अभाव समस्याका रूपमा बढ्दै गएको व्यवसायीहरूले बताउँदै आएका छन् । नेपालको तुलनामा राम्रो सेवासुविधा पाउनासाथ कर्मचारी विदेश पलायन हुने समस्या विकराल बन्दै गएको उनीहरूको भनाइ छ । ‘नेपालमा काम गरुञ्जेल युनियन गठन गर्ने, अतिरिक्त सेवासुविधाका लागि लड्ने र राम्रो अवसर पाउनासाथ चटक्क छाडेर जाने प्रवृत्तिले होटल व्यवसाय बढी आक्रान्त छ,’ एक व्यवसायीले बताए ।

Comments