‘माइस टूरिजम्’ प्रवर्द्धनका लागि प्रज्ञाभवन प्रयोग गर्ने प्रस्ताव

April 3, 2015
  चैत १९, काठमाडौं । नेपाल पर्यटन बोर्डले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनलाई स्तरोन्नति गर्दै ‘मिटिङ, इनिसिएटीभ, कन्फ्रेन्सिङ, एक्जिबिसन्स (माइस)’ टूरिजम प्रवर्द्धनका लागि प्रयोगमा ल्याउन प्रस्ताव गरेको छ । अन्तरराष्ट्रिय सभासम्मेलन र प्रदर्शनीका लागि यसअघि प्रयोग गरिँदै आएको नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रलाई संविधानसभाले प्रयोग गर्न थालेसँगै नेपालमा अन्तरराष्ट्रिय स्तरको सभाहल उपलब्ध छैन । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहलाई समेत सरकारले व्यापार प्रदर्शनीलगायत प्रयोजनमा प्रयोग गर्न रोक लगाएपछि बोर्डले माइस टूरिजम प्रवद्र्धनका लागि प्रज्ञाभवनलाई प्रयोगमा ल्याउने प्रस्ताव गरेको हो ।

बोर्डले प्रज्ञा प्रतिष्ठानसमक्ष स्तरोन्नति गर्दै माइस पर्यटनका लागि प्रयोगमा ल्याउन चाहेको प्रस्ताव गरेको छ । त्यसका लागि प्रतिष्ठानसमेत सकारात्मक पाइएको बोर्ड सदस्य तथा होटल सङ्घ नेपाल (हान)का कोषाध्यक्ष घनेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । ‘अहिले माइस टूरिजमका लागि अन्तररराष्ट्रिय समुदायलाई देखाउने भवन हामीसँग छैन,’ श्रेष्ठले भने, ‘त्यसका लागि प्रतिष्ठानको भवन उपयुक्त देखिएको हो ।’

बोर्डले भवनको स्तरोन्नतिका लागि १० देखि १५ करोड रुपैयाँसम्म लगानी गर्न सकिने आशय व्यक्त गरेको छ । स्तरोन्नतिका लागि लाग्ने कुल रकम भने इञ्जिनीयरिङ अध्ययनपछि मात्र स्पष्ट हुनेछ । ‘स्तरोन्नति भएपछिको भवनबाट आम्दानी हुन थालेसँगै त्यसको केही प्रतिशत बोर्डलाई प्राप्त हुने गरी लगानीको प्रस्ताव गरेका छौं,’ बोर्डका सदस्य श्रेष्ठले भने । बोर्डले प्रतिष्ठान भवनको विद्यमान संरचना र डिजाइन यथावत् राखी स्तरोन्नति गर्ने प्रस्ताव गरेको हो । सो क्रममा साउण्ड सिष्टम, सीट तथा मर्मत गर्नुपर्ने अन्य इण्टेरियरलाई परिवर्तन गर्नुपर्ने हुन्छ ।

अधिकांश ठूला तारे होटलबाट नजीक र राजधानीको केन्द्रमा पर्ने तथा एकसाथ १ हजार सयभन्दा बढी मानिस अटाउन सक्ने क्षमताको सो भवनलाई बोर्डले पर्यटन प्रवद्र्धनका लागि उपयोगमा ल्याउने पहल थालेको हो । सोही क्रममा निजीक्षेत्रका पर्यटन तथा होटल व्यवसायीको राय बुझ्न हालै एक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

कार्यक्रममार्पmत निजी व्यवसायीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको सदस्य श्रेष्ठले जानकारी दिए । ‘कतिपय ठूला होटलबाट हिँडेरै यहाँसम्म पुगिन्छ,’ श्रेष्ठले भने, ‘केही रकम लगानी गर्ने हो भने यस भवनबाट ठूलो आम्दानी गर्न सकिन्छ ।’ स्तरोन्नति भएसँगै भवनको प्रवद्र्धन गर्ने जिम्मासमेत आफूले लिने बोर्डको प्रस्ताव छ । नेपाल पर्यटन बोर्ड मुलुकका मुख्यमुख्य शहरमा माइस पर्यटन प्रवर्द्धनका लागि लगानी गर्नुपर्ने निष्कर्षमा पुगेसँगै प्रज्ञाभवनको स्तरोन्नति गर्ने प्रस्ताव आएको हो । प्रज्ञाभवन अहिले पुस्तक प्रदर्शनी, गाईजात्रे प्रहसन तथा नाटक प्रदर्शनीलगायतमा प्रयोग हुँदै आएको छ ।

Comments