पर्यटन प्रवर्द्धनमा होटल व्यवसायी सक्रिय

February 23, 2015
फागुन १०, काठमाडौं । होटल व्यवसायीहरूले पर्यटन प्रवद्र्धनका लागि अन्तर च्याप्टर समन्वय गर्ने भएका छन् । पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायीको छातासङ्गठन होटल सङ्घ नेपाल (हान)अन्तर्गतका कुल १२ ओटा च्याप्टरको समन्वयमा विभिन्न अभियान सञ्चालन गर्ने तयारी भइरहेको हानका कार्यकारी निर्देशक प्रवेश अर्यालले जानकारी दिए । पश्चिमाञ्चल होटल सङ्घ, पोखराले सन् २००२ बाट ‘जाऊँ है पोखरा’ नामक नाराका साथ चलाएको पर्यटन प्रवद्र्धन अभियानलाई अन्य च्याप्टरले सहयोग गर्दा सफल भएको देखिएपछि व्यवसायीहरू अन्तर च्याप्टर समन्वयको निष्कर्षमा पुगेका हुन् । अर्यालका अनुसार हालै विराटनगरमा सम्पन्न होटल व्यवसायीहरूको क्षेत्रीय सम्मलेनका अवसरमा अन्तर च्याप्टर समन्वय गर्ने सहमति भएको छ ।

नेपालमा भारतीय तथा चिनियाँ पर्यटकको सङ्ख्या बढाउन सके तारे होटलको व्यापार बढ्ने सम्भावना देखेका व्यवसायीहरू क्षेत्रीयस्तरमा पर्यटन प्रवद्र्धन गर्नुपर्ने पक्षमा छन् । ‘विशेषगरी नेपालसँग सिमाना जोडिएका भारतीय शहरमा नेपाली व्यवसायीले प्याकेज उपलब्ध गराउने हो भने ठूलो सङ्ख्यामा पर्यटक भिœयाउन सकिने निष्कर्षमा होटल व्यवसायी पुगेका छन्,’ अर्यालले भने । देशका विभिन्न स्थानमा थुप्रै ‘पर्यटकीय प्रडक्ट’ रहे पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै व्यवसायीहरूले एकअर्काको च्याप्टरमा पर्ने प्रडक्टको प्रचारमा सघाउने सहमतिसमेत गरेका छन् ।

भारतीय सिमानानजिक रहेका पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सम्पदालाई राष्ट्रिय–अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सके पर्याप्त पर्यटक भित्र्याउन सकिने व्यवसायीहरूले बताएका थिए । ‘जाऊँ है पोखरा’ अभियान प्रारम्भ भएपछिको झण्डै डेढ दशकमा पोखरा भ्रमणमा जाने आन्तरिक पर्यटकको सङ्ख्यामा अत्यधिक वृद्धि भई होटल व्यवसायको विकासमा उल्लेखनीय योगदान पुगेको अन्य च्याप्टरको निष्कर्ष छ ।

यसैबीच, हानले अन्तर च्याप्टर समन्वय गर्न होटल कर्मचारीको दक्षता अभिवृद्धिका लागि विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपालमा अदक्ष–अर्धदक्ष कर्मचारीलाई होटलले काम सिकाएर दक्ष बनाउने र काम सिकेपछि विदेशिने प्रवृत्ति बढेपछि दक्ष कर्मचारीको आवश्यकता महसूस गरिएको हानले बताएको छ । नेपालमा होटल म्यानेजमेण्ट कोर्ष सञ्चालन गर्ने कलेजहरूमार्फत सदस्य होटलका कर्मचारीलाई तालीम प्रदान गर्ने योजना बनाइरहेको कार्यकारी निर्देशक अर्यालले जानकारी दिए ।

क्षेत्रीय विमानस्थलको माग
होटल व्यवसायीहरूले विराटनगरस्थित विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्न माग गरेका छन् । विशेषगरी पूर्वीपहाडी जिल्लामा नियमित उडान गर्ने गरी विमानस्थललाई विस्तार गर्न सके पर्यटक आगमन बढ्ने उनीहरूको भनाइ छ । विराटनगरमा पछिल्लो समय पाँचतारेस्तरका होटलसमेत स्थापना हुन थालेपछि गुणस्तरीय पर्यटक बढ्ने सम्भावना देखेका होटल व्यवसायीले क्षेत्रीय विमानस्थल हुनुपर्ने माग गरेका हुन् । हानका अनुसार व्यवसायीहरूले विराटनगरस्थित जोगबनी नाकालाई समेत पर्यटक आगमनका लागि खुला गर्नुपर्ने माग राखेका छन् ।

Comments