ठूला होटल ठमेल वरपर केन्द्रित

March 30, 2015
ठमेल’को बजारीकरण प्रमुख कारण
चैत १५, काठमाडौं । पर्यटन क्षेत्रमा नयाँ नयाँ प्रडक्ट विकास गर्दै पर्यटकलाई नेपालका विभिन्न स्थानमा पुर्‍याउने चर्चा चलिरहेका बेला ठूलो लगानीका चेन होटल भने मुख्य पर्यटकीय क्षेत्र ठमेल वरपरमै केन्द्रित हुने देखिएको छ । पछिल्लो समय निर्माणको घोषणा भई काम प्रारम्भ भइसकेका अधिकांश होटल सोही क्षेत्रको वरपर बन्दै छन् । निर्माणको योजना बनाएका लगानीकर्ताले समेत ठमेल वरपरलाई आधार मान्दै होटलमा लगानी गर्ने तयारीमा छन् । कुपण्डोलस्थित समिट होटलका लगानीकर्ताले कान्तिपथमा ४ अर्ब रुपैयाँ लगानी गर्दै कान्तिपथमा बुटिक होटल निर्माणको योजना हालै सार्वजनिक गरेका छन् । ठमेल र त्यस वरवपरको क्षेत्रमा अहिले तीनओटा ठूला होटल परियोजना निर्माण प्रक्रियामा छन् ।

विश्वमा नेपाललाई चिनाउने मुख्य आधारमध्ये ठमेल प्रमुख रहेको भन्दै त्यस क्षेत्रको महत्त्वका कारण लगानीकर्ता ठमेल र वरपर केन्द्रित भएको व्यवसायीहरू बताउँछन् । ‘लगानीकर्तालाई यस क्षेत्रको महत्त्व थाहा छ,’ ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया भन्छन्, ‘लगानी सुरक्षित हुने स्थानमै व्यवसायीहरू लगानी गर्न चाहन्छन् ।’ ठमेलमा छायाँदेवी प्रालिले ‘अलफ्ट काठमाडौं ठमेल’ र एभरेष्ट हस्पिटालिटी प्रालिले ‘होटल फेरफिल्ड मारियट’ निर्माण गरिरहेका छन् । ठमेलको प्रवेशद्वार मानिने कान्तिपथमा एमआईटी ग्रूप होल्डिङ्सले शेराटन काठमाडौं होटल निर्माण गरिरहेको छ । १५ अर्ब रुपैयाँभन्दा बढी लगानीमा बन्ने यी होटल सन् २०१८ सम्म सञ्चालनमा आइसक्ने बताइएको छ । त्यसमध्ये सबैभन्दा बढी शेराटनमा ८ अर्ब रुपैयाँ लगानी हुँदै छ ।
अन्तरराष्ट्रिय चेन होटलले ठमेल र त्यस वरपरको क्षेत्रलाई बढी रुचाएको पाइएको छ । ‘ठूला अन्तरराष्ट्रिय चेन होटलका आफ्नै ग्राहक हुन्छन्,’ होटल सङ्घ नेपाल (हान)का प्रथम उपाध्यक्ष अमरनाथ शाक्य भन्छन्, ‘त्यसकारण यी होटल नजीकनजीक हुँदा पनि व्यापारमा असर नपुग्न सक्छ ।’ एउटै क्षेत्रमा ठूला होटल केन्द्रित हुँदा साना र आफै ‘मार्केटिङ’ गर्न नसक्ने होटल भने विस्थापित हुन सक्ने व्यवसायीहरूको चिन्ता छ । राज्यले होटलको स्तरअनुसार मूल्यको मापदण्ड नतोक्ने हो भने ठूला परियोजना सञ्चालनमा आएपछि साना होटल विस्थापित हुनसक्ने खतरा रहेको उनीहरू बताउँछन् ।

सरकारले सन् २०२० सम्म २० लाख पर्यटक ल्याउने प्रतिबद्धता व्यक्त गर्दै पर्यटन भिजन–२०२० को अवधारणा ल्याएसँगै होटल व्यवसायमा लगानी आउने क्रम ह्वात्तै बढेको छ । ठूला होटल निर्माण सम्पन्न हुने समयसम्म राज्यको लक्ष्यअनुसार पर्यटक नआउने हो भने साना होटल बन्द गर्नुको विकल्प नरहने शाक्यले बताए ।
ठमेल र वरपर अहिले सयौंको सङ्ख्यामा पर्यटक स्तरका होटल तथा लज सञ्चालनमा छन् । सो क्षेत्रमा आसपासमा अहिले पनि आधा दर्जन पाँचतारे तथा दर्जनभन्दा बढी पाँचतारेभन्दा कम स्तरका होटलले सेवा दिइरहेका छन् ।

Comments