चैत १८ देखि सिचुआनको काठमाडौं उडान

फागुन २६, काठमाडौं । चीन–नेपाल सीधा उडान गर्ने चौथो अन्तरराष्ट्रिय विमान सेवा कम्पनीका रूपमा सिचुआन एयरलाइन्सले चैत १८ गते (अप्रिल १ तारीख)देखि काठमाडौं उडान शुरू गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान अनुमति प्राप्त गरिसकेको सो एयरलाइन्सले मङ्गलवार पहिलो उडानको मिति तय गरेको हो ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार उक्त एयरलाइन्सले चीनको सिचुआन प्रान्तको राजधानी छेङ्दुलाई नेपालको राजधानी काठमाडौंसँग सीधा उडानमार्पmत जोड्नेछ । सिचुआनले दैनिक एक उडानमार्पmत दुई पर्यटकीय क्षेत्रलाई जोड्न लागेको बताइएको छ । कम्पनीका अनुसार बिहान साढे ७ बजे छेङ्दुबाट काठमाडौंका लागि उड्ने सो एयरलाइन्सको जहाजले चीनको ल्हासा तथा स्वशासित क्षेत्र तिब्बत हुँदै बिहान १०ः१० मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्ने बताइएको छ ।

सिचुआनले ‘एयरबस ए ३१९’ जहाजमार्पmत नेपालमा दैनिक उडान गर्नेछ । उडानका क्रममा सो एयरलाइन्समा यात्रारत यात्रुले विश्वको सर्वोच्च शिखर सगरमाथालाई समेत अवलोकन गर्नसक्ने बताएको छ । उक्त एयरलाइन्सले नेपालमा सोसाइटी ट्राभल सर्भिस प्रालिलाई जनरल सेल्स एजेण्ट (जीएसए)को जिम्मेवारी दिएको छ । सिचुआनले एयरबस कम्पनीका ‘ए३१९’, ‘ए३२०’, ‘ए३३०’लगायत मोडलमार्पmत विश्वका विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ । एयरलाइन्ससँग अहिले ९३ ओटा जहाज छन् ।

चीनबाट नेपाल आउने यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै पछिल्लो समय चिनियाँ कम्पनीहरू काठमाडौं उडानका लागि आकर्षित भइरहेका छन् । सिचुआनको सेवा प्रारम्भ भएसँगै चीनबाट नेपाल आउने चिनियाँ वायुसेवा कम्पनीको सङ्ख्या ४ पुग्नेछ । अहिले एयर चाइना, चाइना इस्टर्न र चाइना साउदर्नले नेपालमा नियमित उडान गरिरहेका छन् । चिनियाँ र नेपाली कम्पनीको संयुक्त लगानीमा स्थापित हिमालयन एयरलाइन्ससमेतले काठमाडौं–ल्हासा रूटमा उडान गर्ने तयारी गरिरहेको छ । सरकारले चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि गर्दै सबै मौसममा विदेशी पर्यटकको आगमन नियमित गराउने उद्देश्यसहित चिनियाँ वायुसेवा कम्पनीहरूले उडान पाएको बताउँदै आएको छ ।

गतवर्ष नेपाल र चीन सरकारबीच भएको द्विपक्षीय हवाई सेवा सम्झौतापछि दुई देशबीचको नियमित यात्रु उडान सङ्ख्यामा अत्यधिक वृद्धि भएको थियो । सम्झौताअनुसार यस वर्ष दुई मुलुकका वायुसेवा कम्पनीहरूले प्रतिहप्ता ६३ ओटा उडान गर्न सक्छन् । आगामी वर्ष (सन् २०१६) प्रतिहप्ता उडान क्षमता ७० पुग्दै छ ।

Comments