
April 3, 2015
सामान्यतया तपाईं चाइनिज, जापानिज, थाईजस्ता विशेष परिकारमात्र पाइने
रेष्टुराँमा पुग्नु भयो भने विशुद्ध सोही स्वादलाई स्वीकार गर्नुको विकल्प
रहँदैन । मसलायुक्त नेपाली तथा इण्डियन परिकारमा बानी परेका नेपाली
ग्राहकलाई यी खानामा पाइने फरक स्वाद मन नपर्न सक्छ । नयाँ बानेश्वरस्थित
‘बेइजिङ गार्डेन चाइनिज रेष्टुराँ एण्ड बार’मा तपाईं विभिन्न चाइनिज
परिकारलाई नेपाली स्वादमा प्राप्त गर्न सक्नुहुन्छ । रेष्टुराँले नेपालीबीच
बढी रुचाइएका केही परिकारलाई ‘बोइल्ड,’ ‘स्टीम’ र ‘तावा’ आइटमका रूपमा
तयार पार्छ । बढी चिल्लो, पीरो तथा मसलादार खाना खान नमिल्ने तथा मन
नपराउने ग्राहकबीच यी विशेष परिकार लोकप्रिय देखिन्छन् । स्वास्थ्यप्रति
सचेत ग्राहकले ‘भेजिटेबल’, ‘चिकन’, ‘मटन’, ‘प्राउन’, ‘डक’लगायतलाई बोइल्ड
गरी प्राप्त गर्न सक्छन् । ‘ननभेज परिकार’का पारखीले तावा तथा भेज र ननभेज
दुवै परिकार मन पराउने ‘स्टिम’ खाजामा रमाउन सक्छन् ।
फाइन डाइनिङ विशेष
१० वर्षअघिदेखि चाइनिज परिकारहरू प्रस्तुत गर्दै आएको यो रेष्टुराँ ‘फाइन डाइनिङ’का लागि लोकप्रिय छ । सुन्तला र कालो रङयुक्त ‘कर्पोरेट कलर’ले सजाइएको रेष्टुराँमा हल्ला प्रकाशका साथ सुमधुर सङ्गीत बजिरहेको हुन्छ । जहाँ तपाईंले २ सयभन्दा बढी परिकारको मेनु प्राप्त गर्नुहुन्छ । रेष्टुराँले भेज तथा ननभेट दुवैका लागि बराबर कोर्ष प्रस्तुत गरेको छ । शाकाहारी तथा मांसाहारी दुवैका लागि ‘हट एण्ड सावर सुप’ तथा ‘बेइजिङ स्पेशल सुप’ले प्रारम्भमै तपाईंको ध्यान आकर्षित गरिदिन्छ । यहाँ ‘स्टार्टर्स’ र ‘मेन कोर्ष’मा मटन, चिकन, फिस, प्राउन र पोर्कका विभिन्न परिकार उपलब्ध छन् । यहाँ पुग्ने शाकाहारी ग्राहकले सबैभन्दा बढी रुचाएको ‘स्टार्टर्स’अन्तर्गतको एक परिकार ‘फ्राइड कन्र्स बीजी स्पेशल’ हो । हरियो मकैलाई ‘फ्राइ’ गरेर तयार पारिने यो परिकार बेइजिङ गार्डेनका नियमित ग्राहकको प्रथम रोजाइ रहेको सञ्चालक विष्णुबहादुर कार्की बताउँछन् ।
यस रेष्टुराँले प्रारम्भमा चिनियाँ सेफबाट परिकार तयार पार्दथ्यो । त्यसपछि क्रमशः चिनियाँ सेफसँग सहयोगीका रूपमा कार्यरत नेपालीले सिक्दै गएपछि तयार भएका अनुभवी नेपाली सेफबाट अहिले ती कोर्षहरू तयार पारिन्छन् । दिउँसो १२ बजेदेखि साँझ १० बजेसम्म खुला रहने यस रेष्टुराँले एकपटकमा १ सय जनासम्मलाई सेवा दिन सक्छ ।
आयातित पेयको बाहुल्य
रेष्टुराँको बारमा स्वदेशी र विदेशी विभिन्न ब्राण्डका पेय पदार्थ राखिएका छन् । विशेषगरी विदेशी ब्राण्डका महँगा वाइनको बाहुल्य यहाँ देखिन्छ । ‘≈वाइट’, ‘रेड’, ‘रोज’, ‘स्पार्कलिङ’, ‘स्याम्पेन’लगायत फ्रेञ्च वाइन यहाँ उपलब्ध छन् । यहाँ ग्राहकको अर्डरअनुसार विभिन्न प्रकारका कक्टेल तथा मक्टेल उपलब्ध हुन्छन् ।
यस रेष्टुराँमा दुईओटा ‘फेमिली रुम’ छन् । यी दुई कोठाको बीचमा राखिएको फेल्डिङ ढोका निकाल्दा यसलाई एउटा कोठामा पनि परिणत गर्न सकिन्छ । जहाँ एक पटकमा ३० जनाभन्दा बढी जमघट हुन सक्छन् । स–साना बैठक तथा जन्मोत्सव, ‘म्यारिज एनिवर्सरी’जस्ता शुभकार्यमा यस हललाई प्रयोग गरिएको छ । १० जनाभन्दा बढीको समूहमा आउनेहरूका लागि रेष्टुराँमा निश्चित छूटको समेत व्यवस्था छ । निःशुल्क ‘वाइफाई’ तथा वातानुकूलित कोठाभित्र बसेर परिकारमा रमाउँदासमेत ग्राहकले हलको अतिरिक्त शुल्क तिर्नुपर्दैन । रारा कम्प्लेक्सको छैटौं तलामा अवस्थित यस रेष्टुराँबाट सन्ध्याकालीन राजधानीसँगै माइतीघर–तीनकुने सडकखण्ड, संविधानसभा भवनको रमणीय दृश्यसँगै अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्दाको क्षण पनि देख्न सकिन्छ ।
कमलपोखरीमा शाखा, पोखरामा
विस्तारको योजना
कमलपोखरी आसपासमा पुग्ने चाइनिज परिकारका पारखीले सोही स्थानमै बेइजिङ गार्डेनको सेवा प्राप्त गर्छन् । २ वर्षअगाडि स्थापना भएको यस रेष्टुराँको शाखामा उस्तै ‘इण्टेरियर डिजाइन’सहित समान गुणस्तरको सेवा दिइरहेको सञ्चालक कार्की बताउँछन् । उनका अनुसार पोखरामा पनि सेवा बिस्तारको योजना बन्दै छ । पछिल्लो समय चिनियाँ पर्यटकको आगमन बढेसँगै देशभर चाइनिज परिकार विशेष रेष्टुराँ विस्तार भइरहेका छन् । केही लोकप्रिय परिकार
- हट एण्ड सावर सुप (भेज–ननभेज)
- बेइजिङ स्पेशल सुप (मिक्स)
- पनिर चिल्ली
- फ्राइड कन्र्स बीजी स्पेशल
- चिकन ड्रागन स्प्रिङ रोल
- चिकन हाक्का
- फिस–बोनलेस मङ्गोलियन
- भेज मापोतोफु
- मटन हुनान
- फ्राइड राइस (मिक्स)
शब्द : अच्युत पुरी
तस्वीर : सुनिल सी बज्राचार्य
Comments
Post a Comment